काठमाडौं। चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफी यतिबेला सर्वत्र आलोचनाको विषय बनेको छ ।
नवौं संविधान दिवसको अवसरमा मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।
हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । साथै, उक्त घट्नामा संलग्न अन्य १० जनालाई संलग्नताको प्रकृति हेरर तीन वर्षदेखि १० वर्षसम्म कैद सजाय तोकिएको थियो ।
रिगलमाथि २०७२ साल असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा दिउँसो ३ बजेतिर चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो । मृत्तक चेतनकी श्रीमती भारती मानन्धरले आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माईतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी छिन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले आफूजस्तै आम पीडितको न्यायका लागि आममाफीका विरुद्ध रिले अनशन बस्न लागेको बताईन् ।
ठूला भनिने नेताहरुले नै गुण्डा पालेका कारण पीडकले उन्मुक्ति पाएर पीडित झनै पीडित बन्नुपर्ने आवस्था आएको उनको गुनासो छ । रिगलको पक्षबाट पहिला पनि उक्त घट्नालाई दबाउनका लागि धेरै फोन आएको, पैसाको प्रलोभन देखाएको र धाकधम्की दिएको उनको भनाई छ । चेतनको न्यायको लागि आफू कुनै धाक, धम्की र प्रलोभनमा नपरी निरन्तर लडिरहने उनको भनाई छ ।
घट्ना घटेको आठ वर्ष भइसक्दा पनि अझैं उक्त घटनाबाट बाहिर निस्कन नसकेको अवस्थामा आममाफीले झनै पीडा दिएको उनले बताईन् । उक्त घटनादेखि डिप्रेसनको औषधी खाँदै आएकोमा आममाफीले झनै पीडा दिएको उनको भनाई छ ।
‘घटना भएको आज आठ वर्ष भयो । तर, आजसम्म म त्यसको पीडाबाट बाहिर निस्कन सकिरहेको छैन । डिप्रेसनको औषधी अझैपनि चलिरहेको छ ।’ उनले भनिन्,‘मनदेखि नै म उहाँलाई निकाल्न सक्दिनँ भने म त्यो घटना कसरी विर्सन सक्छु ?’
चेतनको हत्यारा कारागारमा छ भन्दा पनि आफूलाई विगतमा केही राहत महसुश भएको उनको भनाई छ । राष्ट्रपतिले आममाफी दिएर पुनारो घट्नाको पीडा फेरी दोहार्याइदिएको उनको आरोप छ ।
‘जो मान्छेले मेरो जीवन तहसनहस बनायो, त्यो मान्छे कारागारभित्र छ भन्ने थियो । तर, अहिले राष्ट्रपतिले यो पीडा दोहार्याइदिनुभयो । जुन म पहिला पीडामा थिएँ, फेरी दोहोर्याइदिनुभयो । पहिलाको दृश्य मेरो आँखामा झलझली भइरहेको छ,’– उनले भनिन् ।
हत्यारा छ्ुट्नुले देशमा कानुन नभएको महसुश भइरहेको उनले बताईन् । केही समय वातावरण शान्त बनाएर पीडकलाई राज्यले फूलमालासहित स्वागत गरेर निकालेको भन्दै उनले आपत्ति जनाईन् । आफूले लामो कानुनी लडाईँबाट रिगललाई कारगार पुर्याएको बताउँदै उनले पीडित परिवारको सहमतिविना राष्ट्रपतिलाई आममाफी दिने अधिकार हुन नहुने बताईन् । उनले राष्ट्रपतिलाई ‘आममाफी भनेको के हो ? तपाईँलाई त्यो अधिकार कसले दियो ?’ भन्दै प्रश्न समेत गरिन् ।
‘राष्ट्रपतिलाई म सोध्न चाहन्छु– आममाफी भनेको के हो ? जसरीे त्यत्रो महिना संघर्ष गरेर हामीले उसलाई कारागार पुर्याएको हो, त्यसैगरी आममाफी दिने वा नदिने हामीलाई अधिकार हुनुपर्ने हो । आममाफीको जवाफ मलाई चाहियो,’– उनले भनिन् ।
हत्यारालाई आममाफी हुने हो भने राज्यले आफूलाई पनि हतियार दिनुपर्ने उनको माग छ । आममाफी मिल्ने हो भने आफूपनि मार्नका लागि तयार रहेको उनको भनाई छ । ‘त्यसो हुन्छ भने हामी पीडित छौं, हामीलाई पनि हतियार देउ । हामी पनि मारेर बस्छौं, आममाफी मिल्छ भने,’– उनले भनिन् ।
मनलाग्दी आममाफी दिने सरकारलाई जनताले सबक सिकाउन आवश्यक रहेको उनले बताईन् । उनले आममाफीका विषयमा राष्ट्रपतिलाई प्रश्नैप्रश्न गरिन् । यो घटना तपाईँको छोरी चेलीलाई परेको भए न्याय माग्नका लागि यसरी नै मिडियामा आएर रुने गराउनुहुन्थ्यो भनेर उनले राष्ट्रपतिमाथि प्रश्न गरिन् ।
‘यदि मेरो ठाउँमा उहाँ (राष्ट्रपति) को छोरी चेलिबेटी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो ?’ प्रश्न गर्दै उनले भनिन्,‘मिडियामा आएर रोएर, कराएर अधिकारको लागि लड्नुपर्ने मेरोजस्तै गराउनुहुन्थ्यो होला त ? यस्तै दिन देखाउनुहुन्थ्यो होला त आफ्ना छोरी चेलीलाई ? जस्तो आज मलाई यो दिन देखाउनुभयो । न्यायका लागि गुहार मान्छे बनाउनुहुन्थ्यो होला त ?’
हत्या अभियोगमा जन्मकैदको सजाय पाएको रिगलको आममाफीको घट्नाले आफूले फेरी मरेको महसुश गरेको उनको भनाई छ । रिगलको विरुद्धमा कसैले पनि बोल्ने आँट नगरेको भन्दै उनले आपत्ति जनाईन् ।
‘आममाफीको खबर मैले सुनें, म मरिसकेको महसुश गरेको छु । सरकारले उसलाई आममाफी दियो भने मैले कहाँ गएर गुहार माग्ने ?’ प्रश्न गर्दै उनले भनिन्,‘हत्यारा हो, भोलि उसले हामीलाई पनि मार्छ भन्ने डर र त्रासका कारण कोही पनि बोल्ने आँट गरेनन् । मैले कसैको पनि साथ सहयोग पाएको छैन ।’
एउटा हत्यारालाई आममाफी दिँदा पीडक परिवारको सहमती नलिनु दु:खद भएको उनको भनाई छ । जिन्दगी तहसनहस भएकाहरुलाई बेवास्ता गर्दै घुम्ने कुर्सीमा बसेर आममाफीको पत्रमा सही गर्ने अधिकार राष्ट्रपतिलाई नरहेको उनको भनाई छ ।
आममाफी दिने वा नदिने भन्ने अधिकार आफू र आफ्नो परिवारमा निहित हुनुपर्ने उनको भनाई छ । राष्ट्रपतिले एकपटक मरिसकेको मान्छेलाई आममाफीको नाममा फेरी मारेको उनको टिप्पणी छ ।