७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ढुङ्गेधारामा पानी आउँछ पिउन मिल्दैन



फाईल फोटो
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका–६ को सौगल टोलमा ऐतिहासिक ढुङ्गेधारा छ । मल्लकालीन समयको ऐतिहासिक धारा कहिले निर्माण भएको र कसले निर्माण गरेको जानकारी छैन । अझै अध्ययनको विषय छ ।

सौगल टोलको ढुङ्गेधारामा पानी आइरहेको भए पनि धारासँगै लेखिएको छ, “पानी फोहर भएको कारणले नखाई दिनुहोला ।” ऐतिहासिक ढुङ्गेधाराबाट झरेको पानी दूषित भएकाले प्रयोगविहीन भएको छ । निजी धारामा पानी हप्तामा दुई दिन आउँछ । स्थानीयवासीले ट्याङ्करको पानी प्रयोग गरिरहेका छन् ।

विसं २०१५ मा राजा महेन्द्रले धारालाई पुन:निर्माण गरेपछि ढुङ्गेधारा प्रयोगमा आएको इतिहास छ । ढुङ्गेधाराको पानी पिएर हुर्केको अनुभव सुनाउनुहुन्छ सौगल टोल सुधार समितिका सल्लाहकार ८० वर्षीय बत्सगोपाल वैद्य । उहाँले भन्नुहुन्छ, “पहिले हामी ढुङ्गेधाराकै पानी प्रयोग गथ्र्यौं । अहिलेको जस्तो ट्याङ्करको पानी प्रयोग हुँदैनथ्यो । ढुङ्गेधाराको पानी पिउन र कपडा धुनका लागि टोलवासीलाई प्रशस्त पुग्थ्यो ।”

पानीको मुहानबाट नै पानी नझर्नु र बस्ती विस्तारका क्रममा राजकुलो मासिनुले पहिलेको जस्तो पानी धारामा झर्दैन । फागुनदेखि वैशाखसम्म त ढुङ्गेधारामा पानी आउन नै बन्द हुन्छ । करिब तीन महिना जति ढुङ्गेधारा सुक्खा अवस्थाामा हुन्छ । आजभन्दा केही वर्षअघि धारामा वर्षभरि निरन्तर पानी झरे पनि आजभोलि बर्खायाम सुरु भएपछि मात्र पानी झर्ने गरेको स्थानीयवासी बत्सगोपाल वैद्य बताउनुहुन्छ ।

पाटन दरबार क्षेत्रको आसपासको टोलमा धेरै राणाकालीन ढुङ्गेधाराहरु छन् ती ऐतिहासिक धाराहरुमा अहिले पानी झर्दैन । सौगलको मल्लकालीन ढुङ्गेधारामा पुन:निर्माणपछि पानी झरे पनि पानी प्रयोगविहीन छ । तीव्र रुपमा बस्ती विस्तार गर्ने क्रममा राजकुलोमा ढलको पानी मिसिएको हुनसक्ने स्थानीयवासी रवीन्द्रनारायण मानन्धर बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “ढुङ्गेधारामा मुहानबाट राजकुलो हुँदै पानी आउने हो । राजकुलोलाई व्यवस्थित गर्न नसक्दा ढल विस्तार गर्ने क्रममा ढलको पानी कुलोमा मिसिएकाले पानी दूषित आएको छ । त्यसकारणले दूषित पानी पिएर कुनै पनि व्यक्ति बिरामी नपरोस् भनेर सूचना टाँसेका छौँ ।”

मल्लकालीन समयको ऐतिहासिक ढुङ्गेधारामा पानी झर्दा सौगल टोलको शोभा बढाएको छ भने पर्यटकहरुका लागि पनि ढुङ्गेधारा हेर्न पुग्नुपर्ने गन्तव्य बनेको छ । पाटन दरबार क्षेत्रमा सुन्धारालगायत धेरै धाराहरु छन् तर ती धाराको पानी पिउन मिल्दैन । ढुङ्गेधाराको पानी पिउनयोग्य बनाउनका लागि सरकारले पहल गर्नुपर्ने स्थानीयवासीको आग्रह छ । रासस