२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मधेसमा राखी (रक्षाबन्धन) को चहलपहल



अ+ अ-

धनुषा । तराई–मधेसमा यतिबेला राखी (रक्षाबन्धन) पर्वको चहलपहल सुरु भएको छ । साउन शुक्लपक्ष सुरु भएसँगै तराई–मधेसका गाउँ, नगरबस्तीमा दिदीबहिनी र दाजुभाइबीच प्रेम दर्शाउने गीतको धुन गुञ्जिरहेका छन् ।

दिदीबहिनीले भोलि बिहीबार राखी पर्व धुमधामका साथ मनाउने तयारी गरेका छन् । भाइबहिनीको पवित्र एवं अटुट बन्धनको प्रतीकका रुपमा रक्षाबन्धन पर्वलाई मानिन्छ । अहिले धनुषासहित तराई–मधेसका नगर, गाउँ र बस्तीका पसल रङ्गीविरङ्गी राखीले भरिभराउ भएका छन् ।

राखीसँगै विभिन्न प्रकारका मिठाइ तथा फलफूलले बजारको रौनकता बढाएको छ । मानिसको भिडभाडले बजारमा अरुबेला भन्दा बढी चहलपहल देखिएको छ । हरेक वर्ष जस्तै यस वर्ष पनि बजारमा राखी किन्ने र बेच्नेको उपस्थिति बढेको देखिन्छ ।

ग्राहकको रोजाइँ अनुसार राखी उपलब्ध गराउन व्यस्त रहेको राखी पसल सञ्चालक सुरेश साहले बताउनुभयो । उहाँले २० वर्षदेखि चाडपर्व लक्षित अस्थायी पसल गर्दै आउनुभएको छ । उहाँले प्रति राखी रू ५० देखि रू दुई सयसम्म पर्ने बताउनुभयो । “बच्चालाई लोभ्याउने खालका विभिन्न कार्टुन वा खेलौना जडित राखी पनि बजारमा पाइन्छन् । यसको मूल्य अरुभन्दा केही कम हुन्छ”, उहाँले भन्नुभयो ।

दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसीसम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यस पर्वलाई यस क्षेत्रको महान् सांस्कृतिक पर्व मानिने मिथिला लोकसंस्कृतिका ज्ञाता बताउँछन् । विवाह भएर गएका चेलीले आफ्ना दाजुभाइलाई राखी बन्धनमा राखी बाध्न निम्तो दिने गर्दछन् भने अविवाहित चेलीले पर्वको अवसरमा दाजुभाइलाई मन पर्ने परिकार बनाएर खुवाउने प्रचलन रहेको छ ।

स्थानीय मञ्जु यादवले राखी पर्वको तयारी १५ दिन अघिदेखि गरेको सुनाउनुभयो । अहिले बजारमा पाइने रङ्गीविरङ्गी राखीले घरमा राखी बनाउने झन्झट हटेको उहाँको भनाइ थियो ।

सत्य युगमा तीनै लोक (स्वर्ग, मत्यु र पाताल) को अधिपति दानवराज बलिलाई उनका बहिनी गङ्गा र यमुनाले युद्धमा जानुअघि विजयको कामना गर्दै हातमा रक्षाबन्धन बाँधिदिएकाले युद्धमा बलिको जीत भएको सम्झनामा प्रत्येक वर्ष साउन शुक्लपूर्णिमाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै राखी बाँधीदिने परम्परा छ ।

यस पर्वमा ब्राह्मण पुरोहितले शास्त्रोक्त विधिबाट अभिमन्त्रित गरिएको डोरा यजमानलाई बाँधिदिने परम्परा भए पनि मिथिलामा भने मुख्य आकर्षण दिदीबहिनीकै हातबाट राखी बाँधिनु रहेको छ । मधेसी समुदायले मनाउने यस रक्षाबन्धन पर्व पछिल्ला दिनमा पहाडी समुदायमा पनि मनाउन थालिएको छ ।

रक्षाबन्धन पर्वलाई मध्येनजर गरी जिल्ला प्रशासनले ठाउँ–ठाउँमा चेकजाँचमा कडाइ गर्नुका साथै प्रहरीले निगरानीसमेत बढाएको छ । रासस