८ बैशाख २०८२, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

एसइई उत्तीर्ण विद्यार्थी सम्मानित



अ+ अ-

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्तीर्ण राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत कर्मचारीका सन्ततिलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाद्वारा आज आयोजित ‘एसइई सम्मान कार्यक्रम’मा २०७८ र २०७९ सालमा एसइई उत्तीर्ण १० जनालाई सम्मान गरिएको हो ।

कार्यक्रममा एलिना श्रेष्ठ, अङ्कित तिमिल्सिना, आदित्येन्द्र झा, आयुष पोडे, दृश्य बस्नेत, दिप्सोना गिरी, जिज्ञासा न्यौपाने, मनिषाकुमारी साह, समीक्षा दङ्गाल र उद्धव शर्मा सम्मानित हुनुभएको छ ।

सो अवसरमा राससका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सन्ततिको व्यक्तित्व विकासमा अभिभावकको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । “विद्यार्थीको स्वेच्छा स्वतन्त्र रहनुपर्छ, जसको मार्गदर्शन अभिभावकले गर्नुपर्छ । आफ्ना सन्ततिको व्यक्तित्व विकासमा अभिभावकले उपयुक्त वातावरण सिर्जना गर्नुपर्छ,” अध्यक्ष झाले बताउनुभयो ।

पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले विद्यार्थीको सफलतालाई सम्मान गर्नु प्रशंसनीय कार्य भएको बताउँदै उनीहरूलाई देशभित्रै आफ्नो भविष्य खोज्ने अवसर दिनुपर्छ भन्नुभयो ।

पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले अध्ययनमा जुन विषय लिए पनि असल बन्ने प्रयास गरेमा विद्यार्थीको भविष्य त्यसैमा उज्ज्वल हुने विश्वास व्यक्त गर्नुभयो ।

राससका प्रधानसम्पादक एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका पूर्वअध्यक्ष एकराज पाठकले विद्यार्थीले आफ्नो इच्छाअनुरूप अध्ययनको विषय छनोट गर्दा सहजरूपमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

विद्यार्थीको सफलताको पछाडि लुकेको बाबाआमाको योगदान विधार्थीले मनन् गर्नुपर्नेमा जोड दिँदै उहाँले इन्टरनेटको पहुँचले अध्यननमा ल्याएको सहजतालाई विद्यार्थीले उच्चतम सदुपयोग गर्नुपर्नेमा जोड गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाईंले विद्यार्थीले आफ्नो इच्छा, उद्देश्यअनुरुप आफ्नो अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

सोही कार्यक्रममा अन्तर्राष्ट्रिय शाखा प्रमुख शरच्दचन्द्र भण्डारीलाई रु १० हजार नगदसहित रासस पत्रकारिता पुरस्कार–२०७७ प्रदान गरिएको थियो ।

शाखाको अधिवेशन २०७७ सालमा निर्वाचन सम्पन्न गराउनुभएका निर्वाचन कमिटीका संयोजक तथा नायब महाप्रबन्धक राजु शाक्य, प्रधानसम्पादक एकराज पाठक, निर्वाचन समितिका सदस्य दीपेन्द्र अधिकारी र कमलाकुमारी पौडेललाई सम्मान गरिएको थियो ।

शाखाले एक दशक अघिदेखि हरेक वर्ष सम्मान गर्दै आएकोमा अघिल्लो वर्ष कोरोनालगायत विभिन्न कारणले सो कार्यक्रम गर्न सकिएको थिएन । रासस