
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) विवाद चर्किँदै गएपछि आपसमा सोधिएको स्पष्टीकरणको जवाफ कसैले नदिने भएका छन् । सरकारमा सहभागी हुने विषयमा विवाद चर्किँदै गएपछि स्पष्टीकरण सोध्ने, निर्णय अवज्ञा गर्ने दुवै समूहले गरेका छन् ।
जसपा अध्यक्ष महन्थ ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवसँग ‘पार्टी निर्णय र हितविपरीत कार्य किन गरेको रु भन्ने खेलमा लागेका छन् । अर्काको नेतृत्वमा सरकार बनाउने र जोगाउने पछाडि लागेर आफ्नै दल विभाजन गर्ने खेल गरिएको छ ।’ जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको सरकारमा सहभागी हुनुपर्ने अडानमा छन् ।
पार्टीले उठाउँदै आएको मधेसका केही माग पूरा भएको र केही पूरा गर्नेक्रममा रहेकाले ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने पक्षमा उनीहरू छन् । पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘प्रधानमन्त्री बनाउन हस्ताक्षर किन गरेको ? ‘प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा हस्ताक्षर किन गरेको ? लगायत आरोप ठाकुर समूहले लगाउँदै यादवसँग स्पष्टीकरण सोधेको छ ।
तर, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष यादव समूहले र देउवा नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अडान राखेका छन् । ओली असंवैधानिक र अलोकतान्त्रिक तरिकाले प्रतिनिधिसभा विघटन गर्ने, मधेसको माग सम्बोधन नगर्ने, निरंकुश भएकाले सहकार्य नहुने निष्कर्ष यादव समूहको छ ।
सो समूहले पार्टी निर्णय र नीतिविपरीत ओलीको ‘असंवैधानिक’ कदमलाई साथ दिएको तथा राष्ट्रपति कार्यालय, निर्वाचन आयोग र संसद् सचिवालयलाई पत्र पठाएको आरोप लगाउँदै ठाकुरसँग स्पष्टीकरण सोधेको छ ।
यसबीच दुवै समूहले पार्टी र संसदीय दलको ‘फर्जी’ बैठक गरेका छन् । एकअर्कोमाथि विभिन्न आरोप लगाउँदै स्पष्टीकरण सोध्ने र कारबाही प्रक्रिया अघि बढाउने आन्तरिक तयारीमा छन् । यो समाचार राजधानी दैनिकमा छ ।