१२ मंसिर २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

थालीमा तरकारी कि मासु ? ‘पाप’ र ‘धर्म’ को बहसहरु !



अ+ अ-

काठमाडौं । सयुक्त राष्ट्र एवं खाद्य कृषि संगठनले’ तरकारी र फलफूलको महत्व बढाउन र भोजनमा बढी समावेश होस भनेर जागृती फैलाउन सन् २०२१ लाई “फलफूल र तरकारीको वर्ष” भनेर उद्घोष गरेको छ । यसले मानव स्वास्थ्यमा तरकारी र फलफूलको महत्वलाई बढाएर, यस्ता वस्तुको प्रयोग दैनिक जीवनमा गरिने छ भन्ने आशा छ । 

१४ वर्ष अघि म इरानको “वाम” भन्ने शहरमा जनस्वास्थ्य विज्ञ भएर काम गर्दै थिएँ, भूकम्प गएको क्षेत्रमा । एकदिन ‘वाम’ शहरबाट केही टाढा एक सानो शहरमा खाना खान गयौँ । सानो चमेना गृहमा मैले त्यहाँका मालिकलाई भने “म शाकाहारी हुँ मासु नहोलेको परिकार दिनु है ।” ‘हुन्छ’ भनेर ती व्यक्तिले नान, रोटी र सुप ल्याए । म दंग परे ।

मुखमा सुप हाल्ने वित्तीकै मलाई थाहा भयो कि ‘यसमा त मासु छ’ “मैले त मासु खान्न भनेको, किन मासु हालेको ?” भनेर सोध्दा चमेना गृहका व्यक्तिले भने “होइन, यो त मासुको रस मात्रै हो, मासु त मैले झिकिसकेँ नि । यहाँ मासु नखाने मानिसहरू आउँछन् त्यसैगरी हामी सुप पकाउँछौं ।” उनको कुरा सुनेर मलाई हाँस उठ्यो । मैले कालो चियासँग नान र केही फलफूल खाएँ ।

इरानमा ३ महिना बसुन्जेल मैले होटेलमा जाँदा तरकारी, दाल कहिले खाइन । फलफूल, दही र भात, मात्र खाए । इरानमा बस्दा मलाई अनुभव भयो कि “मासुको टुक्रा नखाने मानिसहरू” त्यहाँ शाकाहारी हुँदा रहेछन् । अफगानिस्तान र पाकिस्तानमा बस्दा त मान्छेहरूले “मासु नखाए पनि मान्छे बाँच्न सक्छ र ?” भन्ने प्रश्न गर्थें । ठाउँ र समय अनुसार मासु खाने कि नखाने भन्ने बहस हुन्छ । 

“खाना-भोजन मान्छेको संस्कृती, भौगोलिक अवस्थासँग गाँसिएको हुन्छ । ‘जहाँ जे पाइन्छ त्यसलाई प्रयोग गर्ने हो, त्यसैबाट स्वास्थ्य बन्ने हो । अरूलाई होच्याउनुको तुक छैन’ भन्ने मेरो विचार छ । 

तर अहिले मलाई ‘मासु’ खाने कि ‘नखाने’ भन्ने प्रश्न गर्दा ‘मन लागे खाने’ भन्न मन लाग्छ । मासु खाए पापीहरू भन्ने, मनमा चसक्क बिझ्ने गरी “नर्क जान्छौं” भन्ने तर्क सुन्दा हास्यपद लाग्छ । तिब्बतको अनकंटार कुनामा जहाँ मासु मुख्य, भोजन हो, त्यहाँ गएर ‘तरकारी खाउ, मासु नखाउ’ भन्न सकिन्छ होला ?
 
कृषि युग शुरु हुनु भन्दा अघि हाम्रा पूर्खाहरू मासु नै खान्थें, उनीहरू ‘पापि’ भनेर भन्न त सकिन्न होला । कुनै धर्मले मासु नखाउ भन्छ, फेरी कतिजनाको त धार्मिक संस्कारमा पनि मासु र अण्डा नभइ हुँदैन । कति जनाको श्राद्धमा ‘मासु’ उच्चाण नै गरिन्न। कति जनाको श्राद्ध संस्कारमा झन बंगुर, खसीको मासु नै हुनपर्छ । 

अमेरिकाको ‘अलस्का’ मा बस्नेहरू, पश्चिम बंगाल र बंगला देशका मानिसलाई “माछा नखाउ पाप लाग्छ” भन्दा कति हास्यपद सुनिएला ? “माछी झोल” नभइकन कुनै बंगालीले आफ्नो भान्छाको कल्पना गर्न सक्छ र ? कतिपय ठाउँमा त चिप्लेकिरा, फट्याङग्रा, सर्पो, आदि खान्छन् हजारौ वर्षदेखि । ती समुदायका मानिसहरू मरेपछि नर्कमा परेर, दुःख परेर, पृथ्वीमा कसैलाई आफ्नो अनुभव सुनाएको छ र ? हो, मासु खाँदा अनेक चिल्लो हालेर मज्जासँग आधा किलो चामलको भात दशवटा रोटी खानेहरूको यदि तौल बढेर समस्या भयो भने, मुटुको समस्या भयो भने त आफै मासु कम गर्छन् । ‘पाप’ र धर्म को बहस गर्नै पर्दैन ।