२२ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पाँच वर्षमा पनि सकिएन करिडोरको काम, छैटौँ पटक म्याद थपिँदै



अ+ अ-

सोलुखुम्बु । निर्माणाधीन सोलु करिडोर १३२ केभी प्रसारण लाइन आयोजनाले छैटौं पटक म्याद थपका लागि फाइल अगाडि बढाएको छ । सन् २०१६ सेप्टेम्बर २५ मा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरेको आयोजनाले पुनः छैटौँपटक म्याद थपका लागि फाइल अघि बढाएको हो ।

सन् २०२१ मेमा काम सक्ने शर्तमा पाचौँपटक म्याद थप गरेको आयोजनाले पुनः तीन महिनाका लागि समय थप गर्न लागेको आयोजना प्रमुख जनार्दन गौतमले बताउनुभयो । उहाँका अनुसार जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि  स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । आयोजना प्रमुख गौतमका अनुसार अन्य १० वटा टावरको फाउण्डेशन निर्माण गर्ने क्षेत्रमा भने स्थानीयवासीले अवरोध गरेका छन् । उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढाउन नसकिएको प्रमुख गौतमको भनाइ छ । उनीहरुले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन नदिएको बताइएको छ ।
 
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ । प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ । 

स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । आयोजनाले स्थानीयवासीको चित्त बुझाउन नसक्दा सोलुखुम्बुमा उत्पादन भएको सयौँ किलोवाट विद्युत् खेर गएको छ । एक वर्षअघि नै निर्माण सम्पन्न भएको माथिल्लो सोलुखोला जलविद्युत् आयोजना २३।५ मेगावाटले अहिले पाँच मेगावाट मात्रै उत्पादन गरिरहेको आयोजनाले बताएको छ । यसलाई तिङ्लामा रहेको ३३ केभी सबस्टेशनबाट ओखलढुङ्गाको रुम्जाटारमा रहेको नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमा जोडिएको छ ।

यो १३२ केभी प्रसारण लाइनको विकल्पका रूपमा प्रयोग गरिएको हो । यससँगै जिल्लालाई विद्युत्को केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ । सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लामा ११, ३३ र १३२ केभी सबस्टेशन निर्माण सम्पन्न भइसकेको छ । करिब एक वर्षअघि नै उक्त सबस्टेशन तयार भए पनि करिडोरको काममा बिलम्ब हुँदा समस्या भएको हो ।
 
यस्तै तल्लो सोलुखोला जलविद्युत् आयोजना ८२ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको बेनी हाइड्रोपावर १९.५ मेगावाटको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताउनुभयो । यी आयोजनाको काम यसअघि नै निर्माण सम्पन्न हुने भए पनि विद्युत् लाइनको काम सम्पन्न नुहँदा ढिलाइ भएको सम्बन्धित आयोजनाको दाबी छ ।

विद्युत् निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत् आयोजनाका कविराज पौडेलले बताउनुभयो । यस्तै सोलुखोला दूधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भइरहेको छ । सोलुखोलामा मात्रै आधा दर्जन हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् । यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछन् ।
 
यदि आयोजना सम्पन्न हुने र प्रसारण लाइन तयार नहुने हो भने नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने विद्युत् खरिद बिक्री सम्झौतामा नै उल्लेख गरिएको छ । विभिन्न बहानामा करिडोरको काम सम्पन्न नहुने हो भने सरकारलाई ठूलै घाटा हुने निश्चित छ ।