काठमाडौँ । कम्पनी रजिष्ट्रार कार्यालयले नयाँ कम्पनी दर्ता र खारेजी निःशुल्क गर्ने प्रक्रिया अघि बढाएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत घोषणा गरिएको कार्यक्रम कार्यान्वनयका लागि प्रक्रिया अघि बढाएको हो ।
कार्यालयका रजिष्ट्रार महेश बरालले बजेटमा भएको घोषणा अनुसार अनलाइनबाट कम्पनी दर्ता र खारेजको कार्यान्वयनका लागि कम्पनीहरुले विवरण अद्यावधिक गर्न सूचना जारी गरिएको जानकारी दिनुभयो ।
आगामी साउन १ गतेदेखि नयाँ कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा शुल्क नलाग्ने हुँदा ग्राहकलाई सहुलियत हुने उहाँको भनाइ छ । कम्पनी दर्ता र पुँजीवृद्धि निःशुल्क गर्दा वार्षिक २२ करोड रुपैयाँ बराबरको राजस्व भने कमी हुने उहाँले बताउनुभयो ।
‘कम्पनी दर्ता खारेज गर्न नयाँ सफ्टपवेयर बनाएर केही फिचर थपिएको छ’, उहाँले भन्नुभयो, ‘डिजिटल हस्ताक्षर गर्ने वा हुलाकमाध्यमबाट जाने भन्ने विषयमा छलफल भइरहेको छ ।’
नयाँ दर्ता, पुँजी वृद्धि र खारेजीबाहेक अन्य कामका लागि भने शुल्क लाग्ने व्यवस्था छ । यसअघि ९० प्रतिशत काम अनलाइनबाट हुँदै आएकोमा साउनदेखि पूर्णरुपमा अनलाइनबाट काम हुने बरालले जानकारी दिनुभयो ।
‘सरकारले बजेटमार्फत घोषणा गरेको कार्यक्रम कार्यान्वयनका लागि प्रक्रिया सुरु गरेका छौँ’, उहाँले भन्नुभयो, ‘कम्पनीहरुको आफ्नो विवरण अद्यावधिक गरे हामी कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्ने कार्यको थालनी गर्न सक्छौँ ।’
कम्पनीहरुले आफ्नो विवरण पेश गरेपछि कम्पनी दर्ता, खारेजी सेयर लगतलगायतका कम्पनी विवरण आवश्यक कागजपत्र कम्पनीहरुको हुलाक ठेगानामै पठाइने र कम्पनी दर्ता तथा खारेजी प्रयोजनका लागि कार्यालयमा आइरहनुपर्ने बाध्यता हट्ने कार्यालयले जनाएको छ । कार्यालयले दर्ता भइसकेको कम्पनीको विवरण अनलाइन प्रक्रियाामार्फत अद्यावधिक गर्न सूचना जारी गरेको छ । कम्पनी सचिव, कम्पनीको ठेगाना, सेयर लगत, सेयर सदस्य र विवरण कम्पनीको इमेल, सम्पर्क नम्बरलगायत विवरण पेश गर्नुपर्ने कार्यालयले जनाएको छ ।