
काठमाडौँ । किसानले गोलभेँडाको उचित मूल्य नपाउँदा आइतबार विहान कालीमाटी तरकारी बजारभित्रै तरकारी फालेर विरोध जनाएका छन् ।
तर सरकार भन्छ : कालीमाटीमा फालिएको गोलभेँडा किसानले होइन, बिचौलियाले फालेका हुन् ।
उपत्यका आसपासमा टनेलमा गोलभेँडा खेती गर्ने किसानले गोलभेँडाको लागत पनि उठाउन नसकेको गुनासो गर्दै गोलभेँडा फाल्न बाध्य भएको बताइएको छ । कालीमाटी बजार विकास समितिले आइतबारका लागि टनेलको सानो गोलभेँडाको थोक बिक्री मूल्य प्रतिकेजी आठ रुपैयाँमा खुद्रा बजारमा ३० देखि ३५ रुपैयाँमा प्रतिकेजी बिक्री भइरहेको छ ।
प्रतिकेजी ३० देखि ३५ रुपैयाँ उत्पादन लागत पर्ने गोलभेँडाको बजार मूल्य सातदेखि आठ रुपैयाँ पनि नपाएपछि किसानले बजारमा ल्याएर करिब ३० हजार केजी गोलभेँडा फालेका छन् ।
प्रतिकेजी गोलभेँडा उत्पादनका लागि न्यूनतम ३५ रुपैयाँ खर्च भएको छ । सात आठ रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था आयो । यसै नोक्सान उसै नोक्सान त्यसैले फ्याँके, बिहान कालीमाटी बजारमा गोलभेँडा फयाँकेका किसान नन्दलाल रोकायाले बताउनुभयो ।
‘छोराछोरी जस्तै गरी हुर्काएका विरुवाबाट फलेको गोलभेँडा बजारमा त्यत्तिकै फ्याँक्ने कसैलाई रहर हुँदैन भन्दै उहाँले उत्पादन गरेको तरकारी बिक्री गर्ने बजार पाइँदैन, नेपाली किसान कसरी बाँच्ने ?’, भनी प्रश्न गर्नुभयो ।
तरकारी बजार जहिलेपनि बिचौलियाको नियन्त्रणमा हुँदा यो देशमा किसानको लगानी र दुःखको मूल्यांकन कहिल्यै हुन नसकेको किसान रोकायाले गुनासो गर्नुभयो । कालीमाटी फलफूल तथा तरकारी बजारमा बिहान कायम गरिने मूल्य ८ बजेपछि परिवर्तन हुनालेपनि किसान मारमा परेको किसानको गुनासो छ ।
गोलभेँडाको उचित मूल्य निर्धारणका विषयमा राज्य जिम्मेवार नभए माइतीघर र सिंहदरबार अगाडि गोलभेँडा फाल्ने चेतावनी किसानले दिएका छन् ।
कालीमाटी थोक व्यवसायी संस्थाका अध्यक्ष गीताप्रसाद आचार्यले भने किसानलेल लगाएको आरोपमा कुनै सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले गोलभेँडा सबैतिरबाट आइरहेको छ । बढी उत्पादन भएकाले मूल्य सस्तो छ । त्यसैले बजारमा गोलभेँडाको मूल्य घटेको हो । प्रतिकेजी ११ रुपैयाँका दरले छाड्नुहोस बिक्री गर्छौ, हामीलाई नाफा दिनु पर्दैन भन्दाभन्दै उहाँहरुले सडकमा फयाँक्नुभयो ।’
उहाँका अनुसार अहिलो भारतबाट गोलभेँडा आएकै छैन । सबै हाम्रो उत्पादन हो तर किसानले यति धेरै गोलभेँडा लिएर बजारसम्म नआउने भएकाले गोलभेँडा किसानले नै फयाँकेको दाबी भने शंकास्पद छ ।
कालीमाटी तरकारी बजारकै केही व्यापारीले भने तरकारी फयाँक्ने कार्य बिचौलियाबाट मूल्य बढाउने उद्देश्यले गरिएको हुनसक्ने आंशका गरेका छन् । कालीमाटीकै तरकारी व्यवसायी बिनोद थापाले करिब पाँच हजार किसानको उत्पादन आइतबार नष्ट गरिएको दाबी गर्नुभयो । गोलभेँडाको मूल्य नपाएपछि केही दिनअिघ पाँचखाल, चितवन र आज काठमाडौँमा फ्याँक्नु परेको हो । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ ।