८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

के हो चन्द्र ढकालले अघि सारेको ‘केबलकार धार्मिक पर्यटन सर्किट’ ?



अ+ अ-

काठमाडौँ । गत बिहीबार लुम्बिनी केबलकारको उद्घाटनका लागि आयोजना गरिएको विशेष समारोहमा सो केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब नेपालमा ‘केबलकार धार्मिक पर्यटन सर्किट’ निर्माण गरिने घोषणा गर्नुभएको थियो ।

लुम्बिनी केवलकारको टप स्टेसन बुटबल बजारमाथिको पाल्पाको वसन्तुरमा आयोजित सो उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुनुहुन्थ्यो । समारोहमा संघीय मन्त्री तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु सहभागी थिए ।

त्यस सभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसेमत रहेका ढकालले नेपालमा पर्यटनका सम्भावनाहरुलाई थप उजागर गर्न तथा नेपालमा नेपाली, भारतीय तथा अन्य देशका पनि खासगरी हिन्दू, बौद्ध धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि यो सर्किटको निर्माण र प्रचार गर्न सकिने धारणा राख्नुभएको थियो ।

लुम्बिनी केवलकारकै उद्घाटनको अवसर पारेर र प्रधानमन्त्री प्रचण्ड, नेपाल सरकारका संघीय मन्त्रीहरु, लुम्बिनीका मुख्यमन्त्री तथा भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्रीको उपस्थितिमा उहाँले नेपाली पर्यटन क्षेत्रको एक नयाँ वैकल्पिक अवधारणका रुपमा सो सर्किटको घोषणा गर्नुभएको थियो । खासमा यो अवधारणा भारतीय पर्यटकलाई आकर्षित गर्नका लागि रहेको बुझिन्छ । किनभने नेपालमा धार्मिक पर्यटनको सम्भावनाको अधिकतम उजागर भारतीय पर्यटकहरुको आगमनबाट नै धेरै मात्रामा हुन सक्दछ ।

नेपालका धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थल, डाँडा र पहाडहरुमा अहिले केबलकार निर्माणको एक किसीमले लहर नै आएको छ । ती स्थलहरुमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पुर्याई यसका माध्यमबाट जोड्ने कार्य नै केबलकार धार्मिक पर्यटन सर्किटको उद्देश्य हो ।

यो सर्किटलाई भारतीय पर्यटहरुसमक्ष परिचित गराउने कामको सुरुआत लुम्बिनीबाट नै गर्न सकिन्छ । लुम्बिनी भारतीय पर्यटकहरुको पनि प्रमुख रोजाईको धार्मिक, सांस्कृतिक गन्तव्य हो । यहाँ आएका पर्यटकका लागि बसाई अवधि लम्बाउन त्यस्तै कुनै पर्यटकीय पूर्वाधार नभएकाले लुम्बिनी केबलकार र त्यसमाथिको कामाख्या भगवती धार्मिकस्थल एक उत्कृष्ट गन्तव्य हुन सक्छ । त्यस्तै त्यहाँ बन्ने पाँचतारे होटल र अरु संरचना पनि पर्यटकका आकर्षण बन्ने देखिन्छ ।

लुम्बिनीको भ्रमणसँगै लुम्बिनी केबलकार चढेर माथि वसन्तपुर डाँडामा पुग्ने र त्यहाँ कामाख्या भगवतीको दर्शन गरेपछि यो सर्किट यात्रा सुरु हुन्छ । यस्तो सर्किट नेपालका अरु धेरै धार्मिक, सांस्कृतिक स्थलहरुको भ्रमणसम्म पुग्नेछ र यसबाट एकीकृत रुपमा नेपालका देवस्थल, तीर्थस्लको भ्रमण सम्भव हुनेछ । हाल बनिसकेका र बन्दै गरेका समेत गरेर केबलकारबाट ती धार्मिक तथा सांस्कृति क्षेत्रहरुको भ्रमण गर्न सकिन्छ । यो एउटा कम्प्लिट प्याकेज बनाएर नेपाल र भारतका विशेषगरी धार्मिक पर्यटकहरुसमक्ष प्रचारमा ल्याउन सकिन्छ ।

भारतबाट आउने पर्यटकका लागि कामाख्या भगवतीको दर्शनपछि यहाँबाट एक सय किलोमीटरको दुरीमा रहेको नवलपुरको गैंडाकोटमा रहेको केबलकार चढेर मौलाकालीको दर्शन गर्न सकिन्छ । यसक्रममा मौलाकाली नजिकैको देवघाटधाम पुग्न सकिन्छ । देवघाटधाम वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुको उच्च आस्थाको तीर्थस्थल पनि हो । यसरी देवघाटको दर्शनपछि गोरखा पुगी मनकामना केबलकारबाट मनकामना माइको दर्शन गर्न सकिन्छ । मनकामना नेपाल र भारतीय धार्मिक पर्यटकको अर्काे आस्था हो ।

त्यसपछि काठमाडौँको चन्द्रागिरिमा भालेश्वर महादेव, दोलखामा कालिञ्चोक भगवती र त्यसपछि ताप्लेजुङमा बन्दै गरेको पाथिभरामा पुगेर दर्शन गर्न सकिन्छ । ताप्लेजुङमा पनि आइएमइ ग्रुपले निर्माणको प्रक्रिया सुरु गरिसकेकाले केही समयमै केबलकार निर्माण भइसक्ने बताइएको छ । उता मुक्तिनाथसम्म पुग्ने बडो महत्वाकांक्षी आयोजना केबलकारको प्रारुप पनि तयार भइरहेको समाचार आएकाले हिन्दू तथा बौद्धमार्गीहरुको प्रसिद्ध साझा तीर्थस्थलको दर्शनका लागि यो केबलकारमार्फत् जान सकिन्छ ।

मुक्तिनाथपछि पोखराको अन्नपूर्ण केबलकार हुँदै यता बन्दीपुरमा पनि यहाँको सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको पनि दर्शन गर्न सकिन्छ । यसरी केबलकारका माध्यमबाट नेपालका धार्मिक तथा सांस्कृति स्थलहरुको दर्शन गर्न सकिने भएकाले हाल तयार भईरहेका र भोलि निर्माणको तयारी रहेका सबै केबलकारलाई धार्मिक, सांस्कृतिक सर्किटसँग जोडेर दर्शन गर्न सकिन्छ ।

आइएमई समूहले पछिल्लो समय हिल स्टेसनमा लगानी गरिरहेकाले हाल नेपालका धेरैजसो तीर्थस्थल र देवस्थलमा केबलकार सर्किट जोड्न सकिन्छ । सातै प्रदेशमा केबलकार सञ्चालन गर्ने घोषणा गरेको समूहले तीन ठाउँमा व्यावसायिक सञ्चालनमै ल्याइएको छ भने तीन ठाउँमा निर्माणको तयारी गरिरहेको छ ।

यो समूहको पहिलो चन्द्रागिरि केबलकार विसं २०७३ मा सञ्चालनमा आएको हो र चन्द्रागिरि परियोजना केबलकार, भालेश्वर मन्दिर, रिसोर्ट, रेस्टुरेन्ट, फनपार्क, चिल्ड्रेनपार्क, जिपलाइनलगायतको एकीकृत पर्यटकीय प्याकेज हो ।

यही ग्रुपले बुटवलदेखि पाल्पाको वसन्तपुर र नवलपुरमा गैँडाकोटदेखि मौलाकालिका मन्दिरसम्म थप दुई केबलकार सञ्चालनमा ल्याइसकेको छ । करिब महिना दिनयता मात्र सो समूहले दुई स्थानमा केबलकार निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । बुटवल–वसन्तपुर जोड्ने लुम्बिनी केबलकार बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको हो भने मौलाकाली केबलकार वैशाख १८ गते औपचारिक उद्घाटन गरिएको हो ।

चन्द्रागिरिमा रिसोर्टसहितका संरचनाहरु सञ्चालनमा छन् भने पाँच मिनेटमा यात्रा गर्न सकिने गैँडाकोट–मौलाकालिका केबलकारको टप स्टेसनमा हेलिप्याडसहित ५० कोठे होटेल निर्माण अन्तिम चरणमा छ । दसैँसम्म सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटेलको छतमै रेस्टुरेन्ट, स्विमिङ पुल बनाइएको छ, जहाँबाट देवघाटदेखि पूर्वी चितवनसम्मको दृश्यावलोकन गर्न सकिन्छ ।

आइएमई ग्रुपले नै ताप्लेजुङको पाथीभरा, कैलालीको लम्किचुहा र कास्कीको सिकलेसमा पनि केबुलकार बनाउँदै छ । ती आयोजनाको काम पनि अघि बढीसकेको सो आइएमइ ग्रुपले जनाएको छ ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध सर्किट नाम दिएर यस क्षेत्रमा अन्तरदेशीय रुपमा एक प्रकारको सर्किटको घोषणा गर्नुभएको थियो । त्यो सर्किट पनि लुम्बिनीसम्म जोडिने र यता लुम्बिनी केवलकारबाट नै भारतीय धार्मिक पर्यटक अर्थात् तीर्थयात्रीलाई लक्ष गरेर यो केबलकार सर्किटको पनि घोषण भएकाले यसलाई नेपालभारतबीचको एक धार्मिक पर्यटकीय नेटवर्कका रुपमा लिन सकिन्छ । यसबाट नेपालमा धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि सहयोग पुग्दछ भने उता भारतीय नागरिकहरुका लागि पनि नेपालमा तीर्थाटनका लागि यस प्रकारको एकीकृत पर्यटकीय सञ्जालले उनीहरुलाई सजिलो हुनेछ ।

तस्बिरः प्रदीपराज वन्त- रासस