८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

तीन नगरको साझेदारीमा फोहरबाट बायोग्यास उत्पादन



file photo
अ+ अ-

झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनी स्थापना गरेर ती पालिकाले बायोग्यास उत्पादन सुरु गरेका हुन् ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष मिनाल तिम्सिनाले यसै सातादेखि परीक्षण उत्पादन भइरहेको र चाँडै व्यावसायिकरुपमा बायोग्यास वितरण गरिने बताउनुभयो । यहाँ उत्पादित बायोग्यासको सिलिन्डर उद्योग र होटलमा बढी उपयोगी हुने उहाँको भनाइ थियो । उक्त कम्पनीमा रु २२ करोड लगानी हुने र ६० प्रतिशत लगानी तीन वटै पालिकाले व्यहोर्ने सहमति भएको छ । बायोग्यास उप्पादनका लागि विश्व बैंकले रु पाँच करोड ४६ लाख अनुदान दिएको बताइएको छ ।

ती तीनवटै नगरपालिकाको बजार, सडक र आवास क्षेत्रबाट निस्कने कुहिने फोहर प्रयोग गरेर उक्त कम्पनीले बायोग्यास उत्पादन गर्ने भएको हो । हाल परीक्षणका लागि स्थानीय जङ्गलमा पाइने झारपातलाई समेत प्रयोगमा ल्याइएको छ । त्यहाँ बायोग्याससँगै जैविक मलसमेत उत्पादन गरिने भएको छ । नकुहिने प्लास्टिकजन्य फोहरलाई पेलेर पेभर्स नामक निर्माण सामग्री उत्पादन गर्ने उक्त कम्पनीको योजना छ । एलपी ग्यासको तुलनामा बायोग्यास उपभोक्ताका लागि प्रतिसिलिन्डर रु एक सय ५० सस्तो पर्ने अध्यक्ष तिम्सिनाको जिकिर थियो ।

चार हजार टन क्षमताको प्लान्टबाट प्रतिघण्टा एक हजार दुई सय घनमिटर बायोग्यास उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । विर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंले यसप्लान्टबाट ग्यास उत्पादन सुरु भए पनि बजारीकरणका लागि छलफल भइरहेको बताउनुभयो ।

उहाँले तीनैवटै पालिकाको संयुक्त बैठक बसेर बजारीकरणको बारेमा निकास निकाल्ने योजना सुनाउनुभयो । “फोहरलाई मोहर बनाउने परियोजना हो यो,” नगरप्रमुख प्रसाईंले भन्नुभयो, “बिर्तामोड नगरपालिकाले कम्पनीमा पठाउने फोहरलाई स्रोतमै कुहिने र नकुहिने गरी वर्गीकरण गर्नेछ । त्यसकै लागि प्रत्येक वडामा सचेतनामूलक कार्यक्रम भइरहेको छ ।”

सो ऊर्जा प्लान्टमा स्थानीय समुदाय र अन्य पालिकाको समेत लगानी बढाउने बारेमा छलफल भइरहेको उहाँले बताउनुभयो ।
यसैगरी मेचीनगर, शिवसताक्षी र भद्रपुर नगरपालिकालाई पनि फोहरमैला व्यवस्थापनका लागि यस कम्पनीसँग सहकार्य गराउन छलफल भइरहेको नगरप्रमुख प्रसाईंले जानकारी दिनुभयो । हाल जैविक मलसमेत उत्पादन भइरहेकाले यसलाई प्रयोग गर्न उचित भए नभएको जाँच गर्नका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको समितिका अध्यक्ष तिम्सिनाले बताउनुभयो ।