काठमाडौँ । राष्ट्रिय जनमोर्चा (राजमो) का अध्यक्ष चित्रबहादुर केसीले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा भएको आफ्नो हस्ताक्षरप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
उहाँले कार्यक्रममा आफ्नो डिजिटल हस्ताक्षर प्रयोग गरेको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको हो । उहाँले शुक्रबार विज्ञप्ति जारी गर्दै दश दलद्वारा जारी गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा संघीयता, संक्रमणकालीन न्याय तथा नागरिकताका लगायतका विषयमा पार्टीका कैयौँ गम्भीर प्रकारका मतभेदहरु रहेको उल्लेख गर्नुभएको छ ।
सोही मतभेदका कारण विगतको पाँच दलीय सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रममा हस्ताक्षर नगरेको र त्यो नीति अहिले पनि कायमै रहेको केसीले बताउनुभएको छ ।
वर्तमान सरकारको न्यूनतम साझा कार्यक्रममा पनि डिजिटल हस्ताक्षर राखिएको बारे आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
“तर त्यो हस्ताक्षर न्यूनतम साझा कार्यक्रमलाई स्वीकृत गर्न उपयोग गर्ने सवालमा भएको होइन”, उहाँले भन्नुभएको छ । भ्रमवश नै न्यूनतम साझा कार्यक्रममा आफ्नो हस्ताक्षर परेको उहाँले प्रष्ट्याउनुभएको छ ।