१६ फाल्गुन २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

ओली र नेपालबीचको टेलिफोन संवादपछि फेरि भाँडियो एकता



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद मिल्ने क्रममा रहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको टेलिफोन संवादपछि फेरि भाँडिएको छ। अध्यक्ष ओलीले नेता नेपाललाई शुक्रबार बिहान टेलिफोन गरी भेटघाट गरी सहमतिमा अघि बढ्न आग्रह गरेका थिए। ओलीको आग्रहलाई नेपालले अस्वीकार गरेपछि दोस्रो पुस्ताका नेताहरूले थालेको एकता पहल फेरि बिच्किएको छ।  

बिहीबार साँझ दुवै पक्षका नेताहरूले विवादको निकासका लागि ओली र नेपालबीच संवाद गराउने सहमति गरेका थिए। सोहीबमोजिम ओलीले नेपालसँग भेटघाटको प्रस्ताव राखेका थिए। तर नेपालले भेट्न नमानेको स्रोतको दाबी छ। नेता नेपालले कुनै पनि कुरा नमिलीकन भेटघाट गर्नुको अर्थ नभएको र त्यसका लागि अहिले उपयुक्त समय पनि नभएको बताएपछि ओलीले शुक्रबार केन्द्रीय कमिटीको बैठक राखेका हुन्।  

केन्द्रीय कमिटी बैठकबाट विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर सोमबार अपराह्न ५ बजेसम्म फिर्ता लिन नेपाल पक्षलाई समयसीमा तोकिएको छ। नेपाल पक्षले भने प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दालाई उठाउनै नहुने बताएको छ। ओलीले मुद्दालाई प्रभावित पार्न नेपाल पक्षलाई हस्ताक्षर फिर्ता लिन समयसीमा तोकेका हुन्। सर्वोच्च अदालतबाट आउने निर्णयकै आधारमा पार्टीको विवाद निरूपण हुने भएकाले त्यस विषयमा अदालतकै निर्णय कुर्नुपर्ने नेपालले बताएका छन्।  

‘ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन नेपाललाई निर्देशन दिएपछि संवाद पनि भाँडिएको छ, अब संवादको पहल पनि निरर्थक हुँदै जाने देखिन्छ’, नेपाल निकट एक नेताले भने।

केन्द्रीय कमिटीको बैठक बस्नुअघि भएको नेपाल–ओली संवाद फलदायी नभएपछि सुरेन्द्र पाण्डेलगायतका नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका थिए। तर उनीहरू पुग्नुअगावै नेपाल सुरक्षा गार्डसमेत छाडेर सभामुख अग्नि सापकोटाको सरकारी निवासमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न निस्किएको स्रोतको दाबी छ। उनीहरूले एक घण्टाभन्दा बढी समय नेपाललाई कुरे। तर नेपाल नआएपछि उनीहरू ओलीलाई केन्द्रीय कमिटी बैठक रोक्न भन्न बालुवाटार पुगेका थिए। बालुवाटारमा ओली, ईश्वर पोखरेल र सुवास नेम्वाङलाई भेटेरे उनीहरूले बैठक रोक्न माग गरेका थिए। ओलीले भने पाण्डेलगायतका नेताहरूलाई केन्द्रीय कमिटीको बैठकचाहिँं नरोकिने भन्दै सहमतिका लागि प्रयास जारी राख्न भनेर फर्काएका थिए। ओलीले उनीहरूसँग आफू बैठक रोक्न तयार भए पनि माधवजीले भेट्न र कुराकानी गर्न नमानेको बताएका थिए। पाण्डेलगायतका नेताहरू दिउँसो चार बजेतिर भीम रावललाई भेट्न टोखा पुगेका थिए। ओली पक्षसँग निरन्तर संवाद गरिरहेका उनीहरूले रावललाई भेटेर ‘पार्टी एकतामै जोड गर्नुस्, पार्टी फुटाएर कहीं पनि पुगिँदैन, नेता नेपाललाई भेटेर कुरा गर्नुस्’ भनेका थिए। रावल पनि एकताकै पक्षमा सकारात्मक रहेकाले उनीहरूले नेपालसँग कुरा गर्न आग्रह गरेका थिए। नेता नेपालले ओली पक्षसँग संवादमा रहेका पाण्डेलगायतका पाँच नेतासँग शुक्रबार भेट नगरेको स्रोतको दाबी छ।  

दुवै पक्षका वार्ताकारले बिहीबार राति एक प्रकारको सहमतिको खाका बनाएर ओली र नेपाललाई संवादमा बस्न आग्रह गरेका थिए। आग्रहअनुसार दुवै नेताहरूबीच भएको टेलिफोन संवाद सुखद नभएपछि एकता प्रयास अघि बढ्न नसकेको नेताहरूको बुझाइ छ।  

‘अदालतको फैसलाबाहेक पार्टी विवादलाई मिलाउने विषयमा एक प्रकारले सहमति भएको थियो। केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक राख्ने र एकदुई दिनमै केन्द्रीय कमिटी बैठक राख्ने विषयमा ओली पक्ष सहमत भएको थियो। त्यसका लागि पहिला ओली–नेपालबीच वार्ता होस् भन्ने हाम्रो चाहना थियो। चाहनाअनुसार संवाद पनि भयो तर उहाँहरूबीच कुरा मिलेन’, नेपाल पक्षका एक नेताले भने।  

ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।

केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षमा रहेका तीनजना नेता सहभागी भएका थिए। सिन्धुलीका कमलजंग राई, गणेश पहाडी र हरि पराजुली बैठकमा गएका थिए। तर नेपाल पक्षले बहिष्कार गरेको बैठकबाट ओलीले मिल्नेगरी भन्दा पनि पेल्नेगरी निर्णय गराएपछि पार्टी एक हुने सम्भावना क्षीण बन्न थालेको छ। ओलीले नेपाल पक्षका सांसदले देउवालाई प्रधानमन्त्री बनाउन र सर्वोच्च अदालतमा पेस गरेको हस्ताक्षरलाई मुद्दा बनाएर हस्ताक्षर फिर्ता लिन निर्देशन दिएपछि नेपाल बिच्किएको स्रोतको दाबी छ।  

राजनीतिक क्षेत्रमा यो निर्देशनबाट नेपाल पक्षलाई अब नयाँ गन्तव्य तय गर्न सजिलो भएको अनुमान गरिएको छ। केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतमले नेता नेपालबिनाको एमाले अपूरो हुने र सँगैका साथीहरूलाई बाहिर राखेर बस्न नसकिने बताएका थिए। उनले नेपाल समूहसँगको विवाद मिलाउनुपर्नेमा जोड दिँदै यसको जिम्मा आफूलाई दिन आग्रह गरेका थिए। ओलीले भने गौतमलाई आउने–जाने नगर्न आग्रह गरेका थिए। तर गौतमले आफू क्रिटिकल भएको बताउँदै सही विषयको मात्रै समर्थन गर्ने बताए। उनले ओलीलाई पार्टी एकता बनाइराख्न आग्रह गर्दै कसैलाई कारबाही गर्ने र कसैलाई पार्टीबाट निकाल्ने काम नगर्न भनेका थिए।, समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।