काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले नेकपा एमालेसँग औपचारिक रूपमा भोट मागेको छ। पार्टी सभापति शेरबहादुर देउवाको तर्फबाट पत्र लिएर कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।
देउवाको पत्र बुझेपछि ओलीले रामचन्द्र पौडेलप्रति आफू नकारात्मक नरहेको जवाफ दिएको मुख्यसचिव पौडेलले बताए। ‘हामीले पुरानो पुस्ताले राजनीतिलाई ट्र्याकमा ल्याएर छोड्न पाए हुन्थ्यो।’,ओलीको भनाइ उद्धृत गर्दै पौडेलले भने, ‘उहाँले नकारात्मक कुनै कुरा गर्नुभएन। उहाँले रामचन्द्रजी मसँगै जेल बसेको साथी हो। उहाँप्रति म नकारात्मक छैन भन्नुभयो।’
सचिव पौडेलले लोकतन्त्रको लागि त्याग गरेको मान्छेलाई राष्ट्रपतिमा भोट हाल्न र सर्वसम्मत गराउन आग्रह गरेको बताए।