२४ चैत्र २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच शिष्टचार भेटवार्ता



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज भएको भेटमा आपसीहित, दुई देशबीचको सम्बन्ध, चीनले नेपालमा अगाडि बढाइरहेका परियोजनालगायतका विषयमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच एकअर्कालाई बधाई दिँदै सफल कार्यकालको कामना गर्नुभएको भेटमा सहभागी मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

नेपालका लागि चिनियाँ राजदूतका रुपमा नियुक्त भएर आउनुभएका चेनलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको जनस्तरको सम्बन्ध थप विस्तार हुने विश्वास प्रकट गर्नुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले लामो समयदेखि अगाडि बढ्न नसकेको चक्रपथको कलङ्की–चाबहिल सडकखण्ड विस्तारको कामलाई शीघ्र अगाडि बढाउनसमेत चिनियाँ पक्षलाई आग्रह गर्नुभयो । चिनियाँ पक्षले आयोजनास्थलमा केही अवरोध रहेकाले त्यसलाई तत्काल हटाइदिन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको थियो ।

यस्तै चीन सरकारको सहयोगबाट यस मन्त्रालयअन्तर्गत अगाडि बढिरहेका अन्य आयोजनाका बारेमा समेत सो अवसरमा सामान्य कुराकानी भएको सचिव शर्माले उल्लेख गर्नुभयो । सो अवसरमा चिनियाँ पक्षले सहयोगलाई अझै विस्तार गर्ने, भइरहेका परियोजना अगाडि बढाउने र सहयोग गर्ने तथा केही आयोजनाको अध्ययन अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

यस्तै अरनिको राजमार्गको मर्मत र विस्तारमा समेत थप सहयोग उपलब्ध गराउने विषयमा समेत कुराकानी भएको थियो । टोखा–छहरे सुरुङमार्ग, सङ्खुवासभा–किमाथाङ्का सडकखण्डका अलावा सीमानाका खुलाउने विषयमा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ राजदूतको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा मन्त्री श्रेष्ठले मुग्लिन–पोखरा र नारायणगढ–बुटवल सडक स्तरोन्नतीका विषयमा पनि चासो व्यक्त गर्नुभएको थियो । रासस