८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

झापामा हात्ती नियन्त्रणका लागि १५ किलोमिटर विद्युतीय तारबार



फाईल फोटो
अ+ अ-

बनियानी । झापामा जङ्गली हात्ती नियन्त्रणका लागि दुई क्षेत्रमा विद्युतीय तारबार (सोलार फेन्सिङ) को काम भइरहेको छ । झापाको मेचीनगरस्थित चारआली वन क्षेत्रमा छ किलोमिटर र मागुरमाडी सामुदायिक वन क्षेत्रमा नौ किलोमिटर गरी १५ किलोमिटर विद्युतीय तारबारको काम भइरहेको राष्ट्रिय प्रकृति संरक्षण कोष, कोसी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले जानकारी दिनुभयो ।

त्यसमध्ये चारआली वन क्षेत्रको छ किलोमिटर विद्युतीय तारबारको काम सकिएको छ । दुवै वन क्षेत्रमा आगामी चैतसम्म काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता गरिएको छ । भ्याटबाहेक रू दुई करोड ३५ लाख १५ हजारको लागतमा दुई वनमा विद्युतीय तारबारको काम भइरहेको हो । नेपाल सरकारको लगानीमा प्रकृति संरक्षण कोषमार्फत काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । यहाँ जडान गरिएको ‘अफसेट’ सोलार प्यानलको विद्युतीय तारबार हूलमा आउने हात्ती नियणन्त्रका लागि प्रभावकारी हुने उहाँको भनाइ छ ।

“हात्तीको मनोविज्ञानलाई अध्ययन गरी यो प्रविधि निर्माण गरिएको छ, बाहुनडाँगीमा जडान गरिएको यही प्रविधि हो”, उहाँले भन्नुभयो, “त्यहाँ ६÷७ वर्ष राम्रो काम ग¥यो, हूलमा आउने हात्ती नियन्त्रणका लागि झापामा यो सफल मोडल मानिन्छ ।” अन्यको तुलनामा यो विद्युतीय तारबारभन्दा केही महँगो रहेको छ ।

हात्ती संरक्षणसँगै मानव बस्ती जोगाउने उद्देश्यले विद्युतीय तारबार निर्माण गरिएको हो । झापा, मोरङ र सुनसरीमा हात्ती नियन्त्रणका लागि काम भइरहेको प्रमुख गौतमले बताउनुभयो । टुक्रा–टुक्रामा सोलार फेन्सिङको काम हुँदा हात्ती नियन्त्रणको काम प्रभावकारी हुन सकेको छैन । जलथलदेखि चुरेसम्म एकै पटक सोलार फेन्सिङको काम हुन सके प्रभावकारी हुने प्रमुख गौतम बताउनुहुन्छ । “वनसँगै बीचबीचमा रहेको बस्ती चुनौतीका रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “त्यसले मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुन सकेको छैन ।”

झापा, मोरङ र सुनसरीमा बर्सेनि पाँच÷छवटा हात्ती करेन्ट लागेर मर्ने गरेका छन् । त्यसमा पनि झापामा हात्तीको मृत्यु सङ्ख्या धेरै छ । पछिल्लो समय झापामा तीन हात्तीको मृत्यु भएको छ । हात्तीलाई ठूलो क्षेत्रफल र धेरै आहार चाहिने तर यहाँका वनमा पर्याप्त हात्तीको आहारा नहुँदा बस्ती पस्ने गरेका छन् । त्यसका कारण जनधनको क्षति हुने गरेको छ ।

वन क्षेत्रमा हात्तीले मन पराउने बाँस, जङ्गली केरा, सिसौ, सिमललगायत वनस्पति लगाए हात्ती नियन्त्रणमा टेवा मिल्ने प्रमुख गौतमले बताउनुभयो । सामुदायिक वनसँगको सहकार्यमा जलथल र मागुरमाडी वनमा हात्तीले मन पराउने वनस्पति लगाउन थालिएको प्रमुख गौतमले बताउनुभयो ।