७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

९३ वर्षको उमेरमा चनमतिलाई बल्ल नागरिकता



अ+ अ-

पाँचथर । हरेक नेपालीले १६ वर्ष उमेर पूरा भएपछि प्रमाण र सनाखतका आधारमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुपर्ने हो । नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने विषय नैसर्गिक अधिकार भए पनि पाँचथरको हिलिहाङकी चनमति माझीलाई भने सोही प्रमाणपत्र प्राप्त गर्न ९३ वर्ष पुग्नुपर्यो । आवश्यक जानकारी र साथ दिने कोही नहुँदा माझी ९३ वर्षको उमेरसम्म बिनानागरिकता बस्नुभयो ।

हिलिहाङ गाउँपालिका–२ पिनासीकी माझीलाई बिहीबार उहाँकै घर पुग्नुभएका प्रमुख जिल्ला अधिकारी गणेश गैरे, हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारी, हिलिहाङ–२ का वडाध्यक्ष भीमप्रसाद हेम्ब्यासहितको टोलीले नागरिकता प्रमाणपत्र उपलब्ध गराएको हो । विभिन्न सञ्चारमाध्यममा ९३ वर्षको उमेरमा समेत माझीले नागरिकता प्राप्त गर्न नसकेको तथा नागरिकता प्रमाणपत्र अभावमा राज्यबाट पाउने सबै सेवा सुविधाबाट बञ्चित भएको समाचार प्रकाशन/प्रसारण भएपछि प्रशासन र गाउँपालिकाले चासो दिएको थियो । उहाँको अवस्था बुझ्न गत साता जिल्ला प्रशासन कार्यालयको टोली माझीको घर पुगेको थियो ।

नागरिकता प्राप्त गर्न योग्य व्यक्ति भए पनि माझीले सो प्रमाणपत्र नपाएको बुझेपछि प्रशासनले उहाँको घरमै पुगेर उपलब्ध गराएको प्रजिअ गैरेले जानकारी दिनुभयो । नागरिकताको प्रमाणपत्र के हो ? भन्नेसम्म नबुझेकी माझीका श्रीमान्को दुई वर्षअघि निधन भएको थियो । उहाँका सन्तान नभएको र अरुका घरमा गएर बस्न नरुचाउने भएका कारण गरिबी र छिमेकीको सहायतामै माझीले जीवन गुजार्दै आउनुभएको छ । नागरिकताको प्रमाणपत्रकै अभावका कारण उहाँले सामाजिक सुरक्षा भत्तासहित अन्य सरकारी सेवासमेत लिन नपाएको माझीका छिमेकी बताउँछन् ।

बाख्रा र कुखुरा पालेर बस्नुभएकी उहाँलाई नागरिकताको प्रमाणपत्रबारे उत्ति चासो भने थिएन । तर अब सामाजिक सुरक्षा भत्ता आउने थाहा पाउँदा भने माझी खुसी हुनुहुन्छ । विगतमा श्रीमान्को सामाजिक सुरक्षा भत्ताको सहायताबाट गुजारा चलाउन उहाँलाई सहज थियो । तर श्रीमान्को निधनपछि माझीको जीवन अभावमा गुज्रिरहेको छ ।

माझीको रेखदेखको जिम्मा लिने हिलिहाङ गाउँपालिकाले प्रतिबद्धता जनाएको छ । “उहाँको सहज जीवनयापनका लागि आवश्यक काम थाल्ने छौँ”, गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले भन्नुभयो, “घर निर्माण गर्ने र रेखदेखको व्यवस्था गर्छौँ ।” भत्केको सानो घरमा कष्टकर जीवन बिताउन बाध्य माझी अरुका घरमा गएर बस्न सहमत हुनुहुन्न । गाउँपालिकाले घर निर्माण गरी रेखदेखको प्रबन्ध गर्ने योजना बनाएको छ ।