१७ बैशाख २०८२, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु



अ+ अ-

पर्वत । मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो ।

मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिनुभयो ।

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ ।

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताउनुभयो ।

सुरुआतमा रु दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । विसं २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गर्नुभएको थियो । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटकपटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिनुभयो । त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ ।

विसं २०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिराको पनि उस्तै सामना गर्नुपरेको थियो । पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो ।

पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ । आयोजनाको दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण सुरु गर्ने बेलामा १५ दशमलव एक मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ ।