
काठमाडौं । सर्वोच्चले जसपाको आधिकारिकताको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले महन्थ ठाकुरपक्षले पहिलो विकल्पमा उपेन्द्र यादव पक्षसँगै मिलेर जाने या नयाँ पार्टी गठन गरेर जाने दुई विकल्प रहेको छ ।
निर्वाचन आयोगले जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्यको आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने निर्णय गरेसँगै महन्थ पक्षलाई नयाँ दल दर्ता गर्ने बाटो खुला गरिदिएको थियो ।
आयोगको निर्णय चित्त नबुझेपछि ठाकुरले १५ साउनमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश नदिएपछि महन्थ पक्षका कानुन व्यवसायी अब नयाँ पार्टी बनाउने या उपेन्द्र यादव पक्षसँग मिल्ने दुईवटा विकल्प रहेको बताउँछन् ।
महन्थ ठाकुर र राजेन्द्र महतोले तत्काल अर्को पार्टी गठन गरेमा सांसद पद पनि गुम्न सक्ने अवस्था छ । किनकि, महन्थ पक्षले ४० प्रतिशत पुर्याएर दल विभाजन गर्ने अवस्था पनि छैन ।
उनले अर्को दल दर्ता गर्न जसपा ‘परित्याग’ गर्नुपर्ने हुन्छ । जसपा (दल) त्याग गरेको अवस्थामा उनीसहित उनको पक्षमा जाने नेताहरूको सांसद पद गुम्ने समचार राजधानी दैनिकमा प्रकाशित छ ।