
काठमाडौं । गरिब परिवारको उत्थान र कृषि क्षेत्रको उत्पादकत्व बढाउने उद्देश्यले सरकारले न्यूनतम घरायसी खपत निःशुल्क र सिँचाइ प्रयोजनमा प्रयोग हुने विद्युत् खपतमा निकै छुट दिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएकी हुन् । ऊर्जा क्षेत्र न्यूनतम मानवीय आवश्यकता पूर्ति र अर्थतन्त्रको उत्थानका आधारका रूपमा रहेको महसुस गर्दै आफू मन्त्रालय आएलगत्तै यस्तो कार्ययोजनामा लागेको मन्त्री भुसालले जानकारी दिइन् ।
उनका अनुसार गरिबीको रेखामुनि रहेका जनतालाई सम्बोधन गर्नेगरी उनीहरूले खपत गर्ने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गर्न लागिएको छ । मन्त्री भुसालका अनुसार यसमा सेवा शुल्क भने तिर्नुपर्ने हुन्छ । यो छुटबाट नेपाल विद्युत् प्राधिकरणलाई करिब ७५ करोड रुपियाँ वार्षिक आर्थिक नोक्सानी हुने तर सो नोक्सानीलाई प्राधिकरणले सामाजिक उत्तरदायित्वका रूपमा आफैँले वहन गर्ने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।