
काठमाडौं । बिहीबारदेखि सक्रिय भएको नेपालको मनसुनी सक्रियता अझै केही दिन कायम रहने भएको छ ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि सुदूरपश्चिमसम्म नै मनसुनको सक्रियता एकनासको रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको केही दिन देशका धेरै स्थानमा भारी वर्षा हुनेछ ।
तीन दिनभन्दा बढी समय नै नेपालका अधिकांश भूभागमा भारी वर्षा हुने आकलन गरिएको छ । महाशाखाका अनुसार मुख्य गरी प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको समाचार गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।