१५ फाल्गुन २०८१, बिहीबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

त्रिविका परीक्षा निर्धारित समयमै



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै परीक्षा नियमित गर्न अनुमति दिएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० सँगको स्वीकृतिमा भदौको परीक्षा कार्यतालिका नियमित रूपमा सञ्चालन हुने जानकारी दिए । भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ ।

यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । सीसीएमसीले आगामी दिनको परीक्षा सञ्चालन गर्न हुने नहुने सम्बन्धमा हाल सञ्चालित विभिन्न तहको परीक्षाको निरीक्षणसमेत गरेको थियो ।

निरीक्षणका क्रममा सीसीएमसीका अधिकारीहरूले स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण कार्यान्वयन गरी लिखित रूपमा नै विश्वविद्यालयलाई सुझाव दिएका छन् । सीसीएमसीका सुझाव कार्यान्वयन गरिने र परीक्षा केन्द्रमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न निर्देश गरिएको जानकारी परीक्षा नियन्त्रक जोशीले दिए ।

यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा दिएका हुन् ।

स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । हाल स्नातकोत्तर तहका विभिन्न सङ्कायका सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।

परीक्षा विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा सञ्चालन गरिएको र विद्यार्थी सङ्ख्या न्यून भएकाले परीक्षा सञ्चालनमा कुनै समस्या नभएको जानकारी नियन्त्रक जोशीले दिए ।

विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले विश्वविद्यालयको परीक्षा कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था रहेको जनाइएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।