
एजेन्सी । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ ।
अल इन्डिया फुटबल फेडेरेसन (एआइएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले भारतमाथि अनिश्चित प्रतिबन्ध लगाएको हो ।
फिफाले यसअघि नै पटक पटक चेतावनी दिएपनि विधान विपरित कार्य हुँदै आएको थियो । भारतको सर्वोच्च अदालतले एआइएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेपछि फिफाले त्यसबारे कडा चेतावनी दिएको थियो । तर, फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।
फिफाको यो निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्न पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । यतिमात्र नभई भारतमा अक्टोबरमा हुन गइरहेको यू–१७ महिला विश्वकप पनि अब अन्य देशमा सर्ने भएको छ ।