
पाकिस्तानी ब्याट्सम्यान अब्दुल्लाह शफिकले पाँचौं दिन व्यक्तिगत १६० रनको धैर्यपूर्वक ब्याटिङ गरेसँगै पाकिस्तानले श्रीलंकालाई पहिलो टेस्टमा चार विकेटले पराजित गरेको छ ।
शफिकले पाकिस्तानलाई जित दिलाउन ४०८ बलको सामना गरी अविजित १६० रन बनाएका थिए । उनले ७ चौका र एक छक्का प्रहार गरेका थिए ।
श्रीलंकाको गालेमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तान १–० ले अघि भएको छ ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले पनि महत्वपूर्ण पालि खेलेका थिए । उनले पहिलो इनिङमा ११९ रन तथा दोस्रो इनिङमा ५५ रन बनाएका थिए । दोस्रो इनिङमा मोहम्मद रिजवानले ४०, इमाम उल हकले ३५ रन बनाएका थिए ।
यसअघि श्रीलंकाले पाकिस्तानलाई जितका लागि ३४२ रनको लक्ष्य दिएको थियो ।
टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले अलआउट हुँदै पहिलो इनिङमा २२२ तथा दोस्रो इनिङमा ३३७ रन बनाएको थियो ।
पाकिस्तानले भने पहिलो इनिङमा २१८ रन बनाएको थियो । ३४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४४ रन बनाउन सफल भएको थियो ।
श्रीलंका भ्रमणमा रहेको पाकिस्तानले दोस्रो टेस्ट गालेमा नै खेल्नेछ ।