१२ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

मनसुन सुरु नहुँदै बाढी र पहिराबाट बागलुङमा करोडौँको क्षति



अ+ अ-

बलेवा । यस वर्षको मनसुन सुरु नहुँदै परेको वर्षाका कारण बागलुङमा करोडौँको क्षति भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुन फैलिने क्रममा छ । तर गत मङ्गबारदेखि बागलुङका विभिन्न ठाउँमा भइरहेको भीषण वर्षाका कारण दजनौँ घरपरिवार विस्थापित भएका छन् भने करोडौँ खर्चेर बनेका संरचना क्षत्विक्षत भएका छन् ।

जिल्लाको वर्षापछिको बाढी र पहिराका कारण जिल्लाको गलकोट नगरपालिकामा ३५ घरपरिवार पहिराको जोखिममा परेका छन् भने जैमिनी नगरपालिका–९ र १० मा १९ परिवार पहिराको जोखिममा परेका छन् । बुधबार साँझदेखि बिहीबार बिहानसम्म निरन्तर परेको वर्षाका कारण गलकोट र जैमिनी नगरका विभिन्न क्षेत्रमा रहेका खहरे खोला बढ्दा बाढीसँगै पहिरो चल्न थालेपछि बस्ती जोखिममा परेका हुन् ।

वर्षा सुरु भएसँगै जिल्लाभर त्रास बढेको छ । गत वर्षको ३१ जेठ र असारको पहिलो साता परेको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा सडक क्षत्विक्षत बनाउनुका साथै कैयौँ सडक अवरुद्ध भएका थिए । यस वर्ष पनि जेठको अन्तिम साता परेको वर्षाले गतसाल जस्तै क्षति गर्ने त्रास रहेको जैमिनी–१० का शिव श्रीस मगरले बताउनुभयो ।

“सडक बनाउँदा गाउँ जोखिममा परेको छ, बस्तीभन्दा तलमाथि दुवैतर्फ सडक छ”, उहाँले भन्नुभयो, “वर्षा हुँदा बाढी सबै गाउँमा पस्छ, बसिनसक्नुभएको छ गाउँ ।” जैमिनी–१० राङ्खानीको सिप्रिङ र तोरीबारी गाउँका १७ घर परिवार स्थानान्त्रण गर्नुपर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

“तत्कालका लागि तीन घर विस्थापित नै भए, अरु पनि बस्ती सार्नुपर्ने पहिलैदेखि आवाज उठेको हो”,उहाँले भन्नुभयोे, “बलवीर नेपाली, लालबहादुर नेपाली र मनबहादुर नेपालीको परिवार विस्थापित भएका छन् ।” वडा नं ९ पैँयुथन्थापमा पनि बाढी र पहिराका कारण दुई घर जोखिममा रहेका छन् ।

चालू आर्थिक वर्षमा करोडौँ खर्नेर स्तरोन्नति गरिएका गलकोट र जैमिनी नगरपालिकाका सडक पनि सवारी नै नचल्ने गरी बाढीले खोलेको छ । कालोपत्र भएका सडकमा समेत बाढीले ठूलो क्षति पु¥याएको नगरपालिकाको अनुमान छ । सडक निर्माणका क्रममा उचित भल व्यवस्थापन हुन नसक्दा बाढी र पहिराको क्षति व्यहोर्नुपरेको जैमिनी नगरपालिका–१ का टीकाराम शर्माले बताउनुभयो ।

गलकोट नगरपालिका–१, २, ३ र ४ मा वर्षाले बढी क्षति पुर्याएकोछ । वडा नं १ का अम्मरबहादुर खड्काको गोठ पहिरामा पुरिँदा तीन वटा भैँसी र एउटा माउ बाख्रा मरेको वडाध्यक्ष लालबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार भुङ्खानी, गहते, काफलठुटालगायतका बस्ती पहिराको जोखिममा छन् । स्थानीय विजयी खत्रीको घरमा पनि पहिराले क्षति पु¥याएको छ । साविक वडा नं ३ का अधिकांश घर जोखिममा रहेको, हरेक घरका पछिपट्टि सानादेखि ठूलासम्म पहिरो खसेको उहाँले बताउनुभयो ।

पहिराका कारण मध्यपहाडी पुष्पलाल लोकमार्ग बिहीबार दिनभरि अवरुद्ध रह्यो । निरन्तरको प्रयासपछि बिहीबार साँझदेखि सडक खुलेको गलकोट नगरका प्रवक्ता हेमन्त भण्डारीले जानकारी दिनुभयो ।

गलकोट–१ नरेठाँटी बजार र आसपासका ठाउँमा पनि बाढीपहिराका कारण घर जोखिममा छन् । नरेठाँटी बजारका ३५ घर उच्च जोखिममा रहेको जनाइएको छ ।

बाढीले स्थानीय महेन्द्र माविको खेल मैदानसमेत पुरिएको छ । वर्षा भइरहँदा स्थानीयले बाढी नतर्काएका भए अझ ठूलो क्षति निम्तने अवस्था रहेको वडा नं २ का वडाध्यक्षसमेत रहेका नगरका प्रवक्ता भण्डारीले बताउनुभयो ।

वडा नं ३ को हटियाबजार–४ को डाँडाखेतलगायतका ठाउँमा पनि भलबाढीले क्षति पुर्याएको छ ।