हजुरआमा शब्द नै प्यारो । बुबाको कुटाई खाएपछि शरण पर्ने काख हजुरआमाको नै हुन्थ्यो । हजुरीको सारी समातेर उहाँको पछाडी पट्टी लुक्न पाउदा बुबाबाट पाईने सजायबाट बचिन्थ्यो उ बेला । कुरा धेरै पहिलेको त हुदै होईन तर आज भोली कति छिट्टै साईनो सम्बन्धहरु परिवर्तन भए हेर्दा हेर्दै आफैलाई छक्क लाग्छ ।
पुँजीवादले छपक्क छोपेको आधुनिकताको मध्य युग, परिवर्तनको जो दोसाधमा छ । सानो परिवार सुखी परिवारको एक उपज जसले आज हजुआमा,हजुरबुबा, फुपु,आमा,मामा,माईजु, काका काकी, सबै साईनोलाई बिर्साउदैछ । आजभोली आमाको नि बाबा, छोरीको नि बाबा नाति नातिनाको पनि बाबा एउटै मान्छे हुन पाउने युगमा छौ हामी तीन पुस्तेहरु ।
जब जब परिवार टुक्रयाउने प्रचलन पश्चिमबाट पूर्व तर्फ भित्रियो तब तब परिवारबाट मान्छेहरु अनि मान्छे बाट मनहरु टुक्रा टुक्रा हुन थाले । सुखि परिवार खोज्न शहर पस्ने शहरको रहर पछि बाध्यताले विदेशिने यो क्रम यसरि बढेको छ जसको अन्त्य कहिले हुने होला कुनै अनुमान लेखा जोखा नै छैन । मान्छेका आधारभुत आवश्यकताहरु कति हो कति ? यहाँ आवश्यकता नै पुर्ति गर्न हम्मे हम्मे परेको बेला सपना र महत्वकांक्षाका त के बयान गरु म जाबो एक मनुवाले ? मानव विकासको क्रमबाट नै आज हामी यहाँ आई पुग्दा जरुर एक बुद्धिमानी प्राणी भनेर कहलाएका छौ तर हामी हाम्रै कारणबाट कष्टकर जीवनको सामना गर्नु पर्छ भनेर कसैलाई सोच्ने सम्झने फुर्सद नै छैन ।
एउटा केराको कोसा, एक डल्लो मिश्रीको टुक्रा, एक टुक्रा नरिवल, खै के के को गुलीयो धुलो, सेता, राता मिठाईहरु, पातला सेता लामा लामा चिउराहरु हजुरआमाले लुकाई लुकाई दिएको खाने धेरै नातिहरु मध्ये म पनि एक नाति हुँ । आज हुजरआमाले ९४ वर्षको उमेरमा हामीलाई छाडेर जानु भएको तेश्रो दिन मैले विगतलाई स्मरण गरे अनि बर्तमानसंंग तुलना गर्दैछु । सेतो धरतीमा भए जस्ता धेरै पात्रहरु समाजमा हुनुहुन्छ अझै । करिब ६८ वर्षको एकल जीवन ( बिधुवा ) बिताउनु भएको हजुराआमाको कथा पछि लेख्ने नै छुु । आजलाई मात्र सम्झना गरेको हुँ । आमा र हजुरामा सासु र बुहारी पल्लो कोठामा कहिले ३ बजे त कहिले ४ बजे उठेर बत्ति बालेर कुराकानी गरेको याद आउछ । पहाड घर तेह्थुम निम्लेखु गाउँका सबै घर लौरी मान्छेका कथाहरु सबै कण्ठस्थ सुनाउने हुन्थ्यो जब कि आज एक छिमेकीले अर्को छिमेकीको घरमा मान्छेको हत्या हुदाँ झ्याल ढोका थुनेर सुत्छन । सुख दुःखका कुरा हुन्थ्यो, भोलीको योजना बन्थ्थो के के हो भलाकुसारी हामी बिहान उठदा त सबै घरायसी , काम धन्दा कामको बाडफाँड भई सकेको हून्थ्यो ।
मलाई लाग्छ आमा हजुरामाहरु,बुबा हजुर बुबाहरु एक सफल योजनाकार नै हो । प्रायः उहाँहरुको योजना विफल भएको मैले अनुभव गरेको छैन । विद्यालयबाट फर्कदा होस, घासँ,दाउरा, मेला बाट र्फकदा घर पुग्ने वित्तिकै सुटुक्क लुकाएर खानेकुरा दिने मेरी हजुरामा अब हुनुहुन्न तर उहाँले दिएको खानेकुराको स्वाद अझै छ ।
खै किन हो आज सुनिन्छ विदेशीहरुले आफुले काम लिनु पर्ने मान्छेलाई एक्लै पारेर यसरी नै मिठा मिठा बचन,आश्वासन र हौसला दिन्छन र आफ्नो काम लिन्छन रे सोहि परि धेरै हजुरामाहरुले आफ्ना नाति नातिनीहरुलाई हौसला दिनु हुन्थ्यो र अझै दिने गर्नु हुन्छ नै किन भने हाम्रो समाज सबै जुरुक्कै उठेर शहर पसि सकेको पनि त छैन नि बरु शरहको चाल चलन भने गाउँ पसेर पो सखाप पार्ने भो । ठेकि भरि मोही पारेर जुगाँमा ताउँ लगाउदै दहि महि खाने हजुरबुबा आज पसलको सिशाको चिसो गुलियोमा भुल्दा पो यो ज्यानलाई पिर परेको हो हजुर । काठमाडौंको असन बजारमा गाउँका काफ, ऐसेलु, आल्चा,सिद्रा माछा,तामा, अम्बा देखेर पो लाग्यो शहरको चाउचाउ र सेता कुखुरा गाउँ पसेछन् अनि गाउँका आर्गनिक वस्तुहरु शहर । पैसा भए जहाँ जे पनि पाईदो रहेछ नपाईने त हुजुरआमा पो रहेछ ।
हुनत हामी जस्ता अर्ध शहरियाको तत्व ज्ञानले के देखेको छ भने अबको गाउँ पहिलेको गाउँ छैन र रहेन पनि रहुनु हुदैन पनि । खेत बाझो राखेर आफु शहर पस्ने अनि आमालाई सिन्की र तामाको माग गर्ने अmझै टुसा र भट्टमास खोज्नेले सुपर मार्केट जानु नै अति उत्तम छ हजुर । चिनीको रोगी घर घरमा उत्पादन हुदैछन अनि गाउँको सिस्नोको धुलो बोकेर साँझ घर फर्कदैछन् । बिहान पुरा निन्द्रा सुत्न पाउनु छैन मर्निङ्ग वाक जो छ, साँझ निन्द्रा लाग्दैन औषधी जो छ । न घासँ न दाउरा न खलो खेत, न उकाली ओराली, न खेलकुद न नदि नाला अनि ८ घण्टा उघेर बस्नु छ, दिन भरि अनि एका बिहानै मर्निङ्ग वाक रे कठै बरा हामी ।
भर्खरै एक साथीसंगको लामो भलाकुसारीमा यिनै विषयमा कुुरा भए उ भन्दै थियो पुँजीवादको एक हतियार आज यहि भएको छ, परिवार फुटाउ सामान बेच । हो पनि मलाई बिचार सहि लाग्यो सामान्य ठाक ठुक चित्त नबुझ्नु मानविय स्वभाव नै हो तर आज मजाले चिनजान न हुदै बोल चाल नहुदै मन मनैबाट धेरै मनहरु अलग्गीएका छन, छुटदैछन, जादैछन । अनि फेरी धन्दा शुरु हुन्छ,ब्यपार शुरु हुन्छ ईन्टरनेटको ,फोनको, भिडियोको, टिकटकको के के हो चित्र बिचित्र । हिजो संगै पधेरा जादाँ आखाँ तर्नेहरु भिडियोमा बोल्ने रे कस्तो खाईस ? कस्तो लाईस ? हेर्ने रे । अनि शुरु भयो बजारीकरण, देखे पछि चेतना उत्पन्न हुन्छ चेतना पछि इच्छा चाहाना जागृत हुन्छन अनि बजार गयो बिलासीताका सामान किन्यो, खायो भोली पल्ट उस्तै ।
हो प्रविधिको युगमा प्रविधिको उचित प्रयोग गर्नु पर्छ नै मैले लेखेको यो आलेख एक निमेषमै सम्पादकको आखाँमा पुग्छ चिठि भएको भए त के हुँदो हो आफै सम्झनोस । तर प्रविधिमुखि हुदाँ हुदै आफ्नो परम्परा र संस्कृति अझ भनौ आधारभुत व्यवहारिक ज्ञान नै त भुल्नु भएन नि ।
भुगोल सापेक्ष परिवर्तन आवश्यक छ अहिलेको समयमा तर सामान्य ज्ञान त राख्नु पर्छ नि चाहे त्यो खाने होस वा लाउने वा भनौ सामाजिक कृयाकलापहरु किन नहुन ? तर आज हामी कहाँ छौ भने कृष्ण जन्म अष्टमी मनाउदा आफ्ना स –सना छोरा छोरीलाई ताँज पहिराउन पो थाल्यौ, जन्म दिन मनाउनु ठिक हो तर कुहिएको पाउरोटी, बिस्कुटले बनेका केकको पछि लाग्नु कति सान्र्दभिक हो त ? के सिकाउदै छौ हामी ? अहिलेको आधुनिकता भनेको भुुटेको भातलाई फ्राई राईस भन्नु सिवाय अरु केही होईन जस्तो लाग्छ ।
यसो भन्दा म पुरातनवादी हुन्छु कसरी कसरी पुष्टी गर्ने ? अझ बिकारल समस्या भनेको छोरा छोरी युरोप अमेरिका अनि बा आमा गाउँमा अनि नानि नातिनाको आचि सफा गर्ने बेलामा चाजो पाजो मिलायो भिसा लगायो, त्यहाँ गएर नि त्यै कोठे काम अनि फर्केर आउदा हरे राम, समाजको अगाडि जय जय राम । तर यो सबै परिवार तथा व्यक्तिमा दुरुस्त लागु हुने भने छैन ।
आजको हाम्रो समाजमा खानेकुरा प्रशस्त छन् तर खाने ज्ञान नभएरै धेरै रोगीहरु बढ्दै छन् । शिक्षा संचोतना त के काव्य माहाकाव्य,गीत संगित,साहित्य, प्रविधि,विज्ञान सबै छ हात हातमा तर आपत पर्दा चाहिने न छिमेकी छन ? न आकस्मिक नम्बर नै । आकासको जुन घाम हेरेरै समयको अनुमान गर्ने, मेरो अनुहार हदेखेर भोक तिर्खा ठम्याउने, अल्छि मान्छे मन नपराउने मेरी हजुरामा मलाई जहिल्यै काम गर्नु पर्छ हात खाली नभए मुख खाली हुदैन भन्नु हुन्थ्यो । हजुरको अर्शिवाद लागोस म मेरो हात कहिल्यै खाली राख्ने छैन । हार्दिक श्रद्धासुमन मेरी हजुरी ।