१६ बैशाख २०८२, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा मनाङमा ५० प्रतिशत मात्रै पुस्तक आइपुग्यो



अ+ अ-

मनाङ । यस वर्षको शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भएको छ । तर सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न सकेको छैन ।

विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं् वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो ।

हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विकास तथा समन्वय एकाई मनाङका प्रमुख मतिलाल चपाईंले जानकारी दिनुभयो । “जिल्लामा आवश्यक पुस्तक समयमा आउनै मुस्किल छ, विगतमा जस्तो जिल्लाका माथिल्लो मनाङ र तल्लो मनाङमा फरक–फरक गरी शैक्षिक सत्र सुरु हुने भए पनि यसवर्ष एक साथ सञ्चालन गरिएको छ । पुस्तक अभावले भने पठनपाठनमा समस्या सिर्जना भएको छ,” चपार्इंले भन्नुभयो ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमा नै सबै पुस्तक छपाइ भ्याएर प्रत्येक जिल्लामा आउनुपर्ने भए पनि समयमा पूरा नगर्दा त्यसको असर प्रत्यक्ष रुपमा बालबालिकाको भविष्यमाथि परेको उहाँ बताउनुहुन्छ ।

“सबै विद्यार्थी एउटै श्रेणीका हुँदैनन् । केहीलाई पुस्तकबिना बुझाउनै मुस्किल छ । तर, पुस्तक अभावले बालबालिकाको शिक्षण सिकाइमा असर परेको छ,” उहाँले भन्नुभयो, “तेस्रो हप्ता बढी भैसक्दा बल्ल ५० प्रतिशत पुस्तक जिल्लामा आइपुगेको छ । पूरै आउन अझै समय लाग्ने अवस्था देखिएको छ ।”

सरकारले कक्षा १ देखि ३ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मा निजी क्षेत्रलाई दिएपछि जनक शिक्षाले कक्षा ४ देखि १० सम्मको पाठ्यपुस्तक छाप्दै आएको छ ।

जनक शिक्षाले अझै ३३ लाख थान पुस्तक छाप्नै बाँकी रहेको जनाएको छ । चालू शैक्षिक सत्रका लागि आवश्यक एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्नेमा अहिलेसम्म एक करोड ६५ लाख थान मात्रै पुस्तक छापिएको केन्द्रले जनाएको छ । जनक शिक्षाले विद्यालय तहको ८५ प्रतिशत पुस्तक छपाइ सम्पन्न गरेको र १५ प्रतिशत छपाइ भइरहेको जनाएको छ ।

यस वर्षको शैक्षिक सत्रलाई जनक शिक्षाले एक करोड ९८ लाख थान पुस्तक छाप्नुपर्ने हो । अहिलेसम्म एक करोड ६५ लाख थान पुस्तक छपाइ सम्पन्न भएर वितरण गरेको जनाउँदै आएको छ । बाँकी पुस्तक असार पहिलो हप्तासम्म छपाइ सक्ने र अबको एक महिनाभित्र नै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने जनक शिक्षाले जनाएको छ ।

केन्द्र बिक्रेतामार्फत ७७ वटै जिल्लामा पुस्तक वितरण सुरु गरिसकेको जनाएको छ । काठमाडाँै उपत्यकाभन्दा बाहिर हिमाली तथा पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक वितरण गरेको बताउँदै आएको छ । बाहिरी जिल्लामा अपुग भएको पुस्तक दैनिक एक/दुई ट्रक पठाइरहेको पनि जनाएको छ ।

सबै पुस्तक जिल्लामा आइनपुगेको र केही थान आएकाले पठनपाठनलाई विभिन्न माध्यमबाट विद्यार्थीलाई पठनपाठनमा सहज बनाउने प्रयासमा लागिरहेको लोकप्रिय माध्यमिक विद्यालय चामेका प्रधानाध्यापक कृष्णदास कोइरालाले बताउनुभयो । विद्यालय आए पनि पुस्तक सबै विषयका पुस्तक आइनपुग्दा पठनपाठनमा सकस भएको कोइरालाले बताउनुभयो ।

उहाँका अनुसार पुस्तकका पाठ डाउनलोड गरी सम्भव भएसम्म विद्यार्थीलाई ‘हेन्सआउट’ दिएर पठनपाठन हुँदै आएको छ । “टपिक्स डाउनलोड गर्ने र फोटोकपि गरेर पठनपाठनलाई अगाडि बढाएका छौँ, महाविपत्तिले त्रास नै त्रासमा पठनपाठन गराइरहेको अवस्थामा पाठ्पुस्तकको अभावले समस्या थपिएको छ,” कोइरालाले भन्नुभयो ।

लोकप्रिय माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा सरिता गुरुङ पाठ्यपुस्तक नपाउँदा पुस्तक हेरेर होमवर्क गर्न समस्या भएको बताउनुहुन्छ । शिक्षकले सिकाएका सबै दिमागमा लिन नसकेको अवस्थामा किताब हेर्न नपाएर सिके पनि सहज भने नभएको उहाँ बताउनुहुन्छ ।

“हाम्रो त किताब हेरेर पढ्ने बानी छ नि १ किताब हेर्ने बानीले किताबबिना त पढेको र बुझेको जस्तो नै लाग्दैन । केही किताब आएको छ । अब विस्तारै सजिलो बन्छ होला” उहाँले भन्नुभयो । उहाँका अनुसार शिक्षकले दिएका गृहकार्य गर्ने क्रममा पुस्तक हेर्न नपाउँदा समस्या हुन्छ । रासस