१८ फाल्गुन २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

देवीदेवता चोख्याएर माफी माग्दै द्यो स्वगं पूजा (सगुन जात्रा) सम्पन्न



अ+ अ-

भक्तपुर । बिस्केट जात्राको आठौँ दिन आज प्राचीन कालदेखि भक्तपुरमा चल्दै आएको द्यो स्वगं पूजा अर्थात सगुन जात्रा सम्पन्न भएको छ ।

बिस्केट जात्रा अवधिभर कुनै भूलचुक भएमा माफ गर भन्दै आज बिहानैदेखि भक्तपुरका बासिन्दाले धिमे बाजा, बाँसुरी बाजा बजाउँदै नगरका देवीदेवताका शक्तिपीठ पुगेर पूजा एवं दर्शन गरी सगुन चढाएर जात्रा मनाएका छन् ।

जात्राका क्रममा स्थानीय महिला तथा पुरुष परम्परागत नेवारी पोशाक हाकुपटासी र दौरा सुरुवालमा सजिएर सांस्कृतिक मार्गबाट लामबद्ध भएर टोलटोलबाट जात्रामा सहभागी भएका थिए । देवीदेवतालाई सगुन पूजा गर्न टोल टोलमा आआफ्ना द्यो छें (देवता घर) बाट देवतालाई निकाली चोक तथा डबलीमा राखिएको थियो । जात्राका क्रममा सहभागीले ती देवीदेवतालाई आआफ्ना गच्छेअनुसारका परिकार चढाउने परम्परा रहेको छ ।

बिस्केट जात्राका क्रममा विघ्न बाधा वा केही भूलचुक भए माफ पाऊँ भनी भक्तपुरभरि रहेका शक्तिशाली देवीदेवताको पूजा गर्ने प्रचलनलाई सगुन जात्राका रूपमा लिइने संस्कृतकर्मी सुमनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । बिस्काः जात्राका क्रममा देवीदेवतालाई रथ, खटमा राखेर जात्रा गर्दा देवीदेवता अशुद्ध हुने मान्यताअनुरूप आजको दिन सगुन पूजा गरेर चोख्याइएको उहाँले बताउनुभयो ।

अष्टमातृकाअन्तर्गतका ब्रह्मायणी, माहेश्वरी, कुमारी, विष्णुवी, बाराही, इन्द्रायणी, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी, भैरव, भद्रकाली, बेताल, गणेश, मनकामना, भीमसेनलगायत नगरभित्रका ४३ देवदेवीलाई स्वगं अर्थात सगुन चढाउने प्रचलन छ । तत्कालीन भक्तपुरका राजा भूपतिन्द्र मल्लले दुई दिन चल्ने प्राचीन बिस्का जात्रालाई आठ दिन नौ रातसम्म मनाउने प्रचलन बसालेपछि द्यः स्वगं बियगु अर्थात सगुन जात्रा गर्ने चलन चलाएका हुन् । रासस