जनकपुर क्षेत्रमा नेपाली भाषाका स्रष्टा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’ कृतिलाई अहिले पनि सबैभन्दा बढी मन पराउने गरिएको छ । सो कृतिपछि विश्वेश्वरप्रसाद कोइरालाको ‘नरेन्द्र दाइ’, पारिजातको ‘शिरीषको फूल’ र लीलबहादुर क्षत्रीको ‘बसाइँ’ उपन्यास बढी पढिने कृतिभित्र पर्दछ । साझा प्रकाशन क्षेत्रीय कार्यालय जनकपुरका प्रमुख राजकिशोर यादवका अनुसार नेपाली भाषाका स्रष्टाका कृतिमा पाठकको पहिलो माग मुनामदन नै हुने गरेको छ ।
सो पुस्तक गत वर्ष करिब एक हजारप्रति कार्यालयबाट बिक्री भएको समेत उहाँले जानकारी दिनुभयो । त्यस्तै माधव घिमिरेको ‘गौरी’, सिद्धिचरण श्रेष्ठको ‘आँसु’, लेखनाथ पौड्यालको ‘ऋतु विचार’ र भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कृति पनि खोजी खोजी पढ्ने गरेको पाइएको छ । बालकृष्ण समको ‘चिसो चुल्हो’, क्षेत्रप्रताप अधिकारीको ‘नफुलेको फूल’ कृतिको माग पनि सन्तोषजनक रहेको छ । विश्वेश्वरप्रसाद कोइरालाको कृतिमध्ये ‘दोषी चस्मा’, ‘श्वेत भैरवी’, ‘मोदिआइन’ । ‘तीनघुम्ती’ कृति पठन संस्कृतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । होमनाथ सुवेदीको ‘यमपुरीको महल’, शंकर कोइरालाको ‘खैरिनी घाट’, गौरा प्रसाईंको ‘मेरा जीवनका पानाहरू’ र स्वामी प्रपन्नाचार्यको ‘वेदमा के छ’ पुस्तक पनि पाठकको अधिक मागभित्र रहेको पाइएको छ ।