

पर्वत । आफैँले पढाउने चार बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका प्रधानाध्यापकलाई पर्वत जिल्ला अदालतले पाँच वर्ष कैद सजाय तोकेको छ ।
जिल्ला अदालत पर्वतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले फलेवास नगरपालिका–६ देवीस्थानमा सञ्चालित माझीगाउँ प्राथमिक विद्यालयका प्रधानाध्यापक खिलप्रसाद पौडेललाई सो सजाय तोकेको हो ।
विगत एक वर्षदेखि सात वर्षीया दुई बालिका, १० वर्षीया एक बालिका र १२ वर्षीया एक बालिका गरी चार बालिकालाई विद्यालयमा यौन हिंसा गरेको आरोपमा गत साउन ६ गते प्रधानाध्यापक ५० वर्षीय पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको थियो ।
छोरी टोलाउने, एकसुर हुने र बेलाबखत बिरामी हुने गरेपछि चिकित्सकले समेत फोबिया भएको बताएपछि छोरीलाई सोध्दा शिक्षकले हिंसा गर्दै आएको थाहा भएको भन्दै पीडित बालिकाका अभिभावकले प्रहरीमा गत साउन ६ गते नै उजूरी दिएका थिए ।
आरोपित कुँवरलाई गिरफ्तार गरी प्रहरीले यौनजन्य हिंसा अपराधअन्तर्गत जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाउपर अदालतले सात वर्षीया दुई बालिकालाई यौन अपराध गरेको हकमा पाँच वर्ष र सोभन्दा माथिल्लो उमेरका बालिकाको यौन अपराधमा चार वर्ष अधिकतम कैद सजाय हुने गरी फैसला गरेको हो ।
डेढ सय महिला तथा बालबालिका बेपत्ता
विगत १७ महीनाको अवधिमा जिल्लाबाट १५४ महिला तथा बालबालिका बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा ९८ महिला तथा बालबालिका हराएका थिए । चालू आर्थिक वर्षको पहिलो सात महिनामा ५६ महिला तथा बालबालिका हराएका छन् ।
जिल्लाको तथ्याङ्क हेर्दा महिला तथा बालबालिका हराउने क्रममा वृद्धि हुँदै गएको छ । गत आवमा हराएका ९८ महिला तथा बालबालिकामध्ये १० जना सम्पर्कमा आएका छैनन् भने अन्य परिवार तथा प्रहरीको सम्पर्कमा आइसकेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै चालू आवमा हालसम्म हराएका २८ महिलामध्ये १५ जना सम्पर्कमा आइसकेका छन् भने १३ जना अझै फेला परेका छैनन् । उक्त अवधिमा हराएका चार बालक र २४ बालिका गरी २८ बालबालिकामध्ये दुई बालक फेला परेका छन् भने दुई अझै सम्पर्कमा आएका छैनन् । २४ बालिकामध्ये २२ बालिका सम्पर्कमा आएका छन् भने दुई जना अझै सम्पर्कमा नआएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
हराउने बालिकामध्ये कोहीले भागेर आफैँ बिहे गर्ने गरेको पाइएको छ । वर्तमान कानूनले १८ वर्ष उमेर समूहलाई बालबालिकाको सूचीमा राखिएको छ भने १८ वर्ष उमेर नपुग्दै प्रेम विवाह तथा भागी विवाह गर्ने गरेकाले हराएको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालको दुरुपयोगले समेत बालिका प्रभावित बनेर परिवारलाई जानकारी नै नदिई घर छाडेर हिँड्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
हराएका महिलामध्ये पनि अधिकांश महिला श्रीमान् घरमा नभएको अवस्थामा दोस्रो विवाह गर्ने र सम्पर्कमा नआउने गरेका छन् । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश जाँदा घरमा रहेकी श्रीमती अर्कै पुरुषसँग सम्बन्ध बढाएर गएकोसमेत प्रहरीको तथ्याङ्क छ ।
प्रहरीले उजूरी प्राप्त हुनासाथ मातहतका सबै प्रहरी युनिटमा सर्कुलर गर्ने र हराएका तथा हराएर फेला परेका व्यक्ति अद्यावधिक गर्ने कार्य शुरु गरेको छ । विगतका वर्षमा प्रहरीमा हराएको मात्रै उजूरी पर्ने तर फेला परेपछि कुनै जानकारी प्राप्त नहुने भएपछि तथ्याङ्क अद्यावधिक हुन समस्या उत्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।
हराएपछि खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि फेला परेपछि धेरैले जानकारी नगराएकाले अहिले हराएर फेला परेका व्यक्तिको मुचुल्का नै तयार गरेर परिवारलाई जिम्मा लगाउने र तथ्याङ्क पुनरावलोकन गर्ने गरेको उहाँले बताउनुभयो ।