१३ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सगरमाथा चढ्न नयाँ बाटो



सगरमाथा हिम शिखर
अ+ अ-

काठमाडौँ — फ्रान्सेली आरोही मार्क बटार्डले सगरमाथा आरोहण गर्न कम जोखिमयुक्त नयाँ रुट (गोरक्सेप हुँदै पहिलो शिविरको बाटो) पत्ता लगाएका छन् । बर्सेनि हिमपहिरो र हिमखाडलमा परेर आरोहीले ज्यान गुमाउनुपर्ने घटनाका कारण विश्वभर सगरमाथाको खुम्बु आइसफल ‘ज्यानमारा’ क्षेत्रका रूपमा चिनिन्छ ।

आरोहणसम्बन्धी अनलाइनहरूका अनुसार हालसम्म खुम्बु आइसफलमा कम्तीमा ४५ जना आरोहीले ज्यान गुमाइसकेका छन् । यही ज्यानमारा खुम्बु आइसफललाई छल्ने नयाँ रुट मार्कले पत्ता लगाएका हुन् ।

लामो समयको स्थलगत तथा स्वअध्ययनबाट उनले ५ हजार १ सय ६४ मिटर उचाइमा रहेको गोरक्सेपबाट नुब्चे हिमालको फेदीसम्म करिब १ किलोमिटर वैकल्पिक बाटो पत्ता लगाएका हुन् । उनका अनुसार नयाँ रुटमा हिमपहिरो र हिमखाडलको जोखिम अत्यन्तै कम छ । ‘हामीले पत्ता लगाएको रुटमा ढुंगाको पहाड छ । त्यहाँ डोरी झुन्ड्याउने पिटन र टेक्न फलामको एंकर खोपेर हाल्नुपर्छ,’ बिहीबार स्वदेश फर्किनुअघि मार्कले भने, ‘यो प्रविधि फ्रान्सका अल्पाइन आरोहण र हिमालमा सफल भइसकेको छ ।

नेपालले त्यहाँको प्रविधि अपनाए खुम्बु आइसफलमा हुने मृत्युका घटना टार्न सकिन्छ ।’ उनीसँगै गएका आरोही तथा गाइड पासाङ नोरु शेर्पाका अनुसार अल्पाइन शैली पनि भनिने यस प्रविधिमा ढुंगामै स्थायी किला राख्नुपर्छ । डोरी भने हरेक सिजनमा बदल्नुपर्ने हुन्छ ।

कात्तिक २२ मा नेपाली गाइड पासाङसहित ७ फ्रेन्च आरोही तथा गाइडको टोली १४ दिनको अध्ययन सकेर मंसिर ५ मा काठमाडौं फर्किएको थियो । यसअघि फागुनमा नेपाल आएका मार्कसहित तीन जनाको टोलीले हेलिकोप्टरबाट उक्त रुटको रेकी र फोटोग्राफी गरेको थियो । तीनपटक आफू त्यहाँ पुगेको मार्कले बताए । उनका अनुसार खुम्बु आइसफल छल्दै गोरक्सेपबाट नुब्चे हिमालको फेदी हुँदै ६ हजार ६५ मिटरको उचाइमा रहने पहिलो शिविर पुग्न कम्तीमा २२ घण्टा लाग्नेछ । खुम्बु आइसफलबाट पहिलो शिविरसम्म पुग्न लाग्ने समयको दाँजोमा यो रुटमा लाग्ने समय भने बढी हो ।

आफ्नो योजना सफल भए खुम्बु आइसफलमा मृत्यु भएका नेपाली आरोही बाबुछिरी शेर्पाको नाममा नेपाल सरकारले यस रुटको नामकरण गर्नुपर्ने उनको भनाइ छ । उनले आफूले पत्ता लगाएको रुटलाई ‘प्राविधिक रूपमा गाह्रो भए पनि सुरक्षित’ रहेको दाबी गरेका छन् । यो रुट पत्ता लगाउन ३६ लाख रुपैयाँ खर्च भइसकेको उनको भनाइ छ ।

यसपटक उनले रुट पहिल्याउन साथमा ४२ वर्षीय कान्छो छोरा एलन र ७४ वर्षका गाइड गेराडसहितको टोली दुई साताका लागि नेपाल ल्याएका थिए । उनी ५ हजार ८ सय मिटर उचाइसम्मका लागि पदयात्रा अनुमति लिई गोरक्सेप पुगेका थिए । त्यसमाथि आरोहण अनुमति लिनुपर्ने भएकाले उनी पहिलो शिविर नपुगी फर्किएका थिए । मार्क यसपटक आफू ७० वर्ष पुगेको खुसियालीमा बिना बोतल अक्सिजन यही बाटो सगरमाथा आरोहण गर्दै छन्, जसमा छोरालाई पनि साथै लैजाने उनको योजना छ ।

फ्रान्समा ‘सगरमाथाका धावक’ उपनामले कहलिएका मार्कले २०४५ सालमा बिनाअक्सिजन २२ घण्टा २९ मिनेटमा सगरमाथा आरोहण गरेका थिए । बोतलको अक्सिजनबिना विश्वकै सर्वोच्च हिमचुचुरो आरोहणको उक्त रेकर्ड १६ वर्षपछि नेपाली शेर्पाले तोडेका थिए । उनले सगरमाथाबाहेक धौलागिरि, मकालु र पाकिस्तानमा रहेको विश्वकै दोस्रो अग्लो केटु हिमालसहित ६ हिमाल बिनाबोतल अक्सिजन आरोहण गरिसकेका छन् ।

फ्रान्समा चर्चित माउन्टेन गाइड र लेखकको पहिचान बनाएका मार्क पेन्टर पनि हुन् । उनले सन् १९७७ मा पहिलोपटक नेपाल भ्रमण गरेका थिए । त्यसबेला अन्नपूर्ण फन्को लगाउँदै पिसाङ हिमाल पनि आरोहण गरेको उनले सुनाए ।

(कान्तिपुर दैनिकमा सुरज कुँवरको रिपोर्ट)