२७ फाल्गुन २०८१, मंगलवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर तीव्र रूपमा फैलिने क्रम बढेको छ । बिहीबार एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै १ हजार १ सय ११ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । अहिले देशका अधिकांश जिल्लामा निषेधाज्ञा लागु गरिएको छ भने केही जिल्लामा आवतजावत बन्द गरिएको छ । संक्रमणको दृष्टिकोणले काठमाडौं उपत्यका थप जोखिममा छ । निषेधाज्ञाको बेला काठमाडौं उपत्यकामा दैनिक झन्डै २ सय जना संक्रमित थपिने गरेका छन् । गत ४ भदौदेखि लागु हुने गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा गरिएको छ । त्यसपछि एक साता थपिएको छ । निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकामा बिहान बेलुकाको समयमा तरकारी किनमेलमा भीडभाड बढ्ने गरेको छ ।

यस्तै, बिहान बेलुका बजार खुल्दा जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना हुन सकेको छैन । सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुनले आजभोलि थपिएका संक्रमितहरू निषेधाज्ञाअघि नै संक्रमण भएको व्यक्ति हुन सक्ने बताए । उनले भने, ‘लकडाउन खोल्नेबित्तिकै मानिसहरू एकै पटक बाहिर आए । त्यसरी आउँदा जनस्वास्थ्यको मापदण्ड पालना भएन । निषेधाज्ञा प्रभावकारी भए नभएको अबको केही दिनपछि थाहा हुन्छ ।’ उनले आमनागरिकले जनस्वास्थ्यका न्यूनतम मापदण्डहरू पालना गर्नुपर्ने बताए । जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले संक्रमण फैलिन नदिन स्वयं व्यक्ति सचेत र सजग हुन जरुरी रहेको बताए । पछिल्लो एक सातालाई आधार मान्दै काठमाडौं उपत्यकाभित्र प्रत्येक एक घण्टामा १० जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक साताभित्र उपत्यकामा मात्रै १ हजार ७ सय १८ जना संक्रमित थपिएका छन् । गत शुक्रबार १ सय ८२, शनिबार २ सय १६, आइतबार १ सय ८६ र सोमबार २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत मंगलबार २ सय ३२, बुधबार ३ सय १ र बिहीवार ३ सय ७७ जनालाई संक्रमण पुष्टि भएको छ । बिहीबार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार एक सातालाई आधार मान्दा प्रत्येक दिन ११ हजार ५ सय ८१ जनाको दरले नेपाल भर कोरोना परीक्षण हुँदै आएको छ । पछिल्लो एक साताको अवधिमा आरटी–पिसिआर प्रविधिबाट ८१ हजार ७३ जनाको कोरोना परीक्षण भएको छ । गत शुक्रबार १३ हजार १ सय ९६, शनिबार १२ हजार ५ सय १९, आइतबार ८ हजार २६, सोमबार १० हजार २५, मंगलबार ११ हजार ३ सय २७, बुधबार १३ हजार ३ सय ५१ र बिहीबार १२ हजार ६ सय २९ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ सय ६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार ७३ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १ सय ८० जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर रहेका संक्रमितमध्ये १ सय ४७ जना आइसियूमा र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । संक्रमितहरू लक्षणसहित देखिन थालेपछि सरकारलाई सकस हुँदै आएको छ । यस्तै, देशभर ९ हजार ४ सय ८८ जना क्वारेन्टिनमा बसेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भई भर्ना भएका लक्षण नभएका संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राखे शोधभर्ना नगर्ने जनाएको छ । मन्त्रालयले सबै कोभिड अस्पताललाई पत्राचार गर्दै संक्रमितलाई १० दिनमा पिसिआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।

मन्त्रालयको हेल्थ इमरजेन्सी अपरेसन सेन्टरले लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितको १० दिनमा रियल टाइम पिसिआर गर्दा पोजिटिभ आएमा १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको हो । राजधानी दैनिक