
पाल्पा । तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जन होम आइसोलेसनमा बसेको आइतबार १३ दिन भयो । १० दिनअघि पीसीआर जाँचका लागि उनको स्वाब पठाए पनि अझै रिपोर्ट आएको छैन । कार्यपालिकाको बैठकमा सहभागी तीन जनामा कोरोना भाइरस संक्रमण देखिएपछि महर्जनसहित नगर प्रमुख अशोककुमार शाही, उपप्रमुख लक्ष्मी पाठकलगायत जनप्रतिनिधि होम आइसोलेसनमा बसेका छन् । नगरपालिका भदौ २६ गतेदेखि बन्द छ ।
अत्यावश्यक सेवाबाहेक सबै काम बन्द गरेर प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम बेल्वासेसहितका कर्मचारी स्वाब पठाएर होम आइसोलेसनमा बसेका छन् । ‘नतिजा छिटो आउला र कार्यालय खोल्ने भनेको १० दिन भइसक्यो,’ बेल्वासेले भने, ‘हामी अत्यावश्यक कामबाहेक अन्य काम नगरीकन घरमै बसेका छौं ।’
तानसेन नगरपालिकाले भदौ २६ गते २ सय ९, २८ गते १ सय ४७ र ३० गते ८७ जनाको स्वाब संकलन गरेर पठाएको थियो । आइतबार १ सय ४२ जनाको रिपोर्ट आएको छ । रिपोर्ट आउन ढिलाइ हुँदा नगरपालिकाका अत्यावश्यकबाहेकका सबै सेवा प्रभावित भएको नगर प्रमुख शाहीले बताए ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब क्युमा रहेकाले तानसेनले पठाएका स्वाब शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा पठाएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । कान्तिपुर दैनिक