२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दोस्रो पटक पनि रद्द भयो विद्युतीय राहदानी छपाइको टेन्डर



अ+ अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान दोस्रो पटक रद्द गरेको छ । विभागले सोमबार राहदानी छपाइको टेन्डर रद्द गर्ने निर्णय गरेको हो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सोही मापदण्डअनुसार ई–पासपोर्ट छपाइका लागि नेपालले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको भएपनि पटक पटक रद्द हुँदै आएको छ । पहिलो पटक सरकार आफैँले निर्णय गरेर बोलपत्र आह्वान रद्द गरेको थियो । दोस्रो पटक भने मागपत्रअनुसार आवदेन नपरेको कारण देखाउँदै टेन्डर रद्द गरिएको हो । यसअघि पहिलोपटक १० भदौ २०७६ मा पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरिएको थियो । त्यतिबेला १९ वटा कम्पनीले पासपोर्ट छपाइका लागि प्रस्ताव पेस गरेका थिए । सरकारको निर्देशनमा राहदानी विभागले प्रस्ताव पेस गर्ने म्याद एक दिन बाँकी रहदै २० कात्तिक २०७६ मा टेन्डर रद्द गरेको थियो ।

दोस्रो पटक १९ फागुन २०७६ मा पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेपछि चार वटा कम्पनीले विद्युतीय राहदानी छपाइका लागि प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरेका चार वटा कम्पनीले मागपत्रअनुुसार आवेदन नपरेपछि रद्द गरेको राहदानी विभागले जनाएको छ । विभागले दोस्रो पटक २० लाख प्रति पासपोर्ट छपाइका लागि बोलपत्र आह्वान गरेको थियो । जसअनुसार जर्मनीको मुएलबाउअर आईडी सर्भिसेज जीएमबीएच, अमेरिकाको एचआईडी ग्लोबल र चीनको एसिनो कर्पोरेसनको आवेदन परेको थियो । यी चार वटै कम्पनीले हालेको बोलपत्रमा कागजात नपुगेपछि परराष्ट्र मन्त्रालयको मूल्यांकन समितिले दुई साताअघि टेन्डर रद्द गर्ने निर्णय गरेको थियो । सो निर्णय राहदानी विभागलाई पठाएपछि सोमबार अन्तर्राष्ट्रिय बोलपत्र रद्द भएको हो ।

दोस्रो पटक पनि राहदानी छापाइको बोलपत्र रद्द भएसँगै अब बोलपत्र कहिले खुल्छ भन्ने अन्योल छ । राहदानी विभागले २१ दिनको सूचना निकालेर पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्ने हुन्छ । लामो समयदेखि राहदानी छपाइमा ढिलाइ हुँदा संकट उत्पन्न हुने देखिएको छ । नेपाल अन्तर्राष्ट्रिय मापदण्डअनुसार ई—पासपोर्ट प्रक्रियामा जानुपर्ने हुन्छ । विद्युतीय राहदानी प्रणालीमा विश्वका धेरै मुलुक गइसकेका छन् । सुरक्षा र संवेदनशीलताको कारण देखाउँदै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सो मापदण्ड पूरा गर्नका लागि तत्काल कदम चाल्नुपर्नेमा नेपालमा त्यसो हुन नसकेको हो ।

कोरोना महामारीका कारण अहिले राहदानीको काम ठप्प छ । तर, विदेश यात्रा खुलेको अवस्थामा विभागसँग अब चार महिनाका लागि पुग्ने पासपोर्ट मात्रै रहेको बताइएको छ । आर्थिक वर्ष २०७१/७२ मा १३ लाख ३६ हजार राहदानी बाँडिएका थिए । त्यसयता यो दर बर्सेनि ५ देखि साढे ५ लाखसम्म छ । गत आर्थिक वर्षमा मात्र ५ लाख १५ हजार राहदानी बाँडिएको थियो । यसअघि विभागले ५० लाख राहदानी छाप्नका लागि १० भदौ २०७६ मा बोलपत्र आह्वान गरेको थियो । तर, सरकारले बोलपत्रको प्रस्ताव पेस गर्ने अन्तिम दिन २० कात्तिकमा विभागले अन्तर्राष्ट्रिय बोलपत्र रद्द गरेको थियो । विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०६७/६८ देखि २०७५/७६ सम्म ९ वर्षमा कुल ५९ लाख ७३ हजार ३ सय ११ एमआरपी जारी भएको देखिन्छ । यो तथ्यांकलाई आधार मान्दा औसतमा प्रतिवर्ष ६ लाख ६३ हजार ७ सय १ एमआरपी जारी भएका छन् । प्रतिमहिना ५५ हजार ३ सय ८ भन्दा बढी एमआरपी जारी हुँदै आएको देखिन्छ ।

२०७५ साउनमा मन्त्रिपरिषद् बैठकले एमआरपीलाई स्तरोन्नति गर्दै ई–पासपोर्टमा जान विभागलाई सैद्धान्तिक सहमति दिएको थियो । जसको एक महिनाअघि असारमा ई–पासपोर्टमा जाने प्रस्ताव परराष्ट्र मन्त्रालयले मन्त्रिपरिषद् लगेको थियो । त्यसपछि थप छलफल गर्नुपर्ने भन्दै प्रस्तावलाई मन्त्रिपरिषद्ले सामाजिक समितिमा पठाएको थियो । समितिको सुझावका आधारमा मन्त्रिपरिषद्ले गत वर्ष साउनमा ई–पासपोर्टमा जान स्वीकृत दिएको थियो । राजधानी दैनिक