२६ फाल्गुन २०८१, सोमबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कोरोनाको संक्रमण दर र मृत्युदर बढ्दै



अ+ अ-

काठमाडौँ । कोभिड–१९ बाट देशभर हालसम्मकै धेरै संक्रमण दर २८.५४ प्रतिशत र सबैभन्दा बढी ३१ जनाको मृत्यु भएको छ । यो बुधबार साँझसम्मको विवरण हो । स्वास्थ्य मन्त्रालयले दिउँसोसम्म २६ जनाको मृत्यु भएको जनाएको थियो । एक सय जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा कोभिड देखिएको र एकै दिन हालसम्मकै धेरैको मृत्युको रेकर्ड कायम भएको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले बताए । मन्त्रालयका अनुसार बुधबार २० हजार ११८ नमुनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७४३ जनामा संक्रमण देखिएको छ । हाल देशभर ४४ हजार ४७६ अर्थात् ३०.७० प्रतिशत सक्रिय केस छ । यसमध्ये काठमाडौंमा १८ हजार ८३२, भक्तपुरमा १ हजार ३०८ र ललितपुरमा २ हजार ९८९ जना गरी उपत्यकामा मात्रै कुल संक्रिय संक्रमित २३ हजार १२९ जना छन् । देशभर देखिएका कुल सक्रिय संक्रमितमध्ये ५२ प्रतिशत उपत्यकामा छन् । बुधबार थपिएका नयाँ संक्रमितमध्ये ३ हजार १०७ अर्थात् ५४.१० प्रतिशत काठमाडौं उपत्यकामा छन् । हाल ३५६ जना सघन उपचारमा छन् । यसमध्ये २६९ जना आईसीयू र ८७ जना भेन्टिलेटरमा छन् । वाग्मती प्रदेशमा सबैभन्दा बढी १५२ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा छन् ।

हाल मुस्ताङ मात्र सक्रिय संक्रमित शून्य रहेको जिल्ला हो । ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १५ वटा जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली छन्  कोरोना संक्रमणबाट बुधबार हालसम्मकै धेरै ३१ जनाको मृत्यु पुष्टि भएको छ । उपत्यकाका मात्रै १३ जना छन् । सुनसरीको गढी–४ की उच्च रक्तचापकी ५५ वर्षीया महिलाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएकी उनको मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए । सुनसरीको बराहक्षेत्रका ६८ वर्षीय पुरुषको पनि मंगलबार राति मृत्यु भएको छ । मधुमेह र उच्च रक्तचापका रोगी उनको होम आइसोलेसनमा मृत्यु भएको हो । धरान–१६ का ९० वर्षीय वृद्धको पनि मृत्यु भएको छ । उनी उच्च रक्तचाप र मधुमेहका दीर्घरोगी थिए ।

धनगढीमा तीन जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा डोटी केआई सिंह–४ का ५० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपसिंह श्रेष्ठले बताए । रगतमा इन्फेक्सन भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । उनी डोटीबाट कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए । धनगढी–२ का ६५ वर्षका पुरुषको बाटामै मृत्यु भएको छ । होम आइसोलेसनमा रहेका उनको स्वास्थ्यमा समस्या भएपछि मंगलबार राति सेती अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको हो । मंगलबार राति नै भारतको लखनउमा धनगढीका ६० वर्षीय व्यापारीको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुटवल–११ का ४७ वर्षीय र बुटवल–१७ मोतीपुरका ८१ वर्षीय वृद्धको बुधबार मृत्यु भएको छ । ४७ वर्षका पुरुषमा असोज २४ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । मोतीपुरका वृद्ध असोज २७ गते पोजिटिभ नतिजा आएपछि अस्पताल ल्याइएका थिए । दुवै जना भेन्टिलेटरमा उपचाररत थिए । त्यसैगरी, रुपन्देहीको तिलोत्तमा–५ का ४७ वर्षीय पुरुषको बुधबार मृत्यु भएको छ । मणिग्रामस्थित क्रिमसन अस्पतालमा उनको मृत्यु भएको तिलोत्तमा आइसोलेसन प्रमुख केशव भट्टराईले बताए । रुपन्देहीकै ४१ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा बगनासकाली–७ का ७८ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनी दम र सुगरबाट ग्रस्त थिए । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा रत्ननगर–१३ का ४० वर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनी असोज २३ मा ज्वरो तथा निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएका थिए । उनी क्यान्सर रोगको पनि उपचार गराइरहेका थिए । नवलपरासीका ७५ वर्षीया महिला, महोत्तरीकी ६० वर्षीया महिला, धादिङकी ८६ वर्षीया महिला, म्याग्दीका ८५ वर्षीय पुरुष, नुवाकोटकी ७० वर्षीया महिला र कञ्चनपुरका २४ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । भक्तपुरमा ७४ र ७२ वर्षीय पुरुष र ४२ वर्षीया महिला तथा ललितपुरका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै, काठमाडौंमा ८१, ८६, ७४, ६२, ६७, ६३, र ५१ वर्षीय पुरुष तथा ७६ र ४९ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिक