काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले पाँच महीनापछि एकै पटक पाँच ओटा कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरेको छ । गत साउन १४ गते बुद्धभुमि नेपाल हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको आईपीओ स्वीकृतिको प्रक्रियाले अब निरन्तरता पाउने भएको हो ।
धितोपत्र बोर्डका अनुसार बलेफी हाइड्रोपावर कम्पनी, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्कासनको अनुमति दिने तयारी गरिएको छ ।
ती कम्पनीहरुको आईपीओ स्वीकृतिका लागि धितोपत्र सूचीकरण र आव्हानपत्र स्वीकृतिको काम बाँकी रहेको बोर्डका उप – कार्यकारी निर्देशक रुपेश केसीले जानकारी दिनुभयो ।
हाल धितोपत्र बोर्डमा यी पाँच ओटा कम्पनीहरुसहित ३१ ओटा कम्पनीहरु आईपीओ स्वीकृतिको पर्खाइमा रहेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पद रिक्त रहँदा आईपीओ स्वीकृति प्रक्रियामा पनि ढिलाई भएको हो ।