९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

सुनिन छाडे ‘यानीमाया’, ‘सुनीमाया’



अ+ अ-

ढोरपाटन । धौलागिरिलाई लोक गीत सङ्गीतको उर्वर क्षेत्रका रुपमा मानिँदै आएको छ । यानीमाया होस् या, सुनिमाया, झ्याउरे होस् या सालैजो । डेढदशक अगाडिसम्म बालकदेखि वृद्धसम्मको मुखमुखमा यी भाका गुनगुनाइन्थे । तर पछिल्लो समय मौलिक भाका यानीमाया र सुनिमाया गुञ्जिन छोडेका छन् ।

केही बुढापाका बाहेक धेरैले यस्ता भाका गाउन जान्दैनन् । हिजोआज कलाकारहरुलेसमेत यानीमाया र सुनिमाया भाका रेकर्ड गर्न छोडेका छन् । मेला, महोत्सव, चाडपर्व र मेलापातमा गाइने यी भाका लोप हुन थालेपछि बुढापाका चिन्तित बनेका छन् ।

हिजोआज चाडपर्व र मेला महोत्सवमा रेकर्डेड गीत बज्छन् । दोहोरीगीत आयोजना हुने कार्यक्रममा पनि यानीमाया, सुनिमाया भाका समावेश हुँदैन । सामूहिक रुपमा महिला र पुरुष भएर गाइने यी गीत नयाँ पुस्ताले गाउन जान्दैनन् । पाका पुस्ताबाट सिक्नसमेत रुचि राख्दैनन् । धौलागिरि क्षेत्रको बागलुङ, म्याग्दीलगायतका जिल्लामा यो भाका निकै लोकप्रिय मानिए पनि संरक्षण हुनसकेको छैन ।

यानीमाया र सुनिमाया गीत आदिवासी जनजाति समुदायमा बढी प्रचलित मानिन्छ । पछिल्लो समय बजारमा आएका आधुनिक, पप, (याप लगायतका गीतले यानीमाया, सुनिमाया ओझेलमा परेको धेरैको बुझाइ छ । यानीमाया गीत एक जनाले उठान गर्ने र समूहका अन्य कलाकारले गाउने गरिन्छ ।

दुईदशक अगाडि मेला महोत्सवमा सबैभन्दा बढी गाइने यानीमाया अहिले गुञ्जिन छोडेको ढोरपाटन नगरपालिका–९ का ७७ वर्षीय गुमानसिंह पुनले बताउनुभयो । पहिले ठाडोभाका, झ्याउरे र सालैजो भाका बढी प्रचलित रहेको सुनाउँदै अहिले ती भाका कहीँकतै सुन्न नपाइने उहाँको भनाइ छ । अहिलेका युवायुवतीले मौलिक गीत छोडेर हिन्दी र अङ्ग्रेजी सुन्न थालेपछि जनजाति समुदायको पहिचान बोकेको यानीमाया, सुनिमाया भाका लोप भएको उहाँको गुनासो छ ।

“अब म चार बीस ९८०० पुग्न लागे, अहिले पनि अलिअलि यानीमाया, सुनिमाया गीत गाउन मन लाग्छ, मेरो दाँैतरी धेरैले छाडेर गए, यानीमाया, सुनिमाया गीतले जीवन बोल्थे, माटो बोल्थे, प्राण भर्थे, माया प्रेमका भाव बोल्थे, तीन रात, तीन दिन गाएर पनि थाकिँदैनथ्यो, सकिँदैनथ्यो”, उहाँले भन्नुभयो, “अहिले त त्यस्ता गीत कसैले गाउँदैनन्, गाउने मान्छे पनि छैनन्, कहिलेकाहीँ मेरा छोरा नातिलाई सुनाउँदा यस्तो पनि गीत हुन्छ भनेर गिज्याउँछन् ।”

गाउँदा गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरीगीत भन्दा फरक हुन्छ । गीतको बीच–बीचमा ‘यानीमाया/सुनिमाया’ जोडेर गाइने हुँदा यसलाई ‘यानीमाया’ र ‘सुनिमाया’ गीत भनिएको निसीखोला गाउँपालिका–६ की ६६ वर्षीया बिमला बुढा मगरले बताउनुभयो । आफ्नो पालामा तरुनी तन्नेरी भेट हुँदा र रोधी बस्दा यानीमाया गीत गाउने गरेको स्मरण गर्दै अहिले रोधी बस्न छोडिएको र त्यस्ता गीत लोप हुँदै गएको उहाँको भनाइ छ । केही वर्षयता गाउँ–गाउँमा मोबाइल, रेडियो र टेलिभिजनको पहुँच पुगेपछि मौलिक गीत लोप भएको बुढा मगरको अनुभव छ ।

बुढा मगरले भन्नुभयो, “हाम्रो बाउ, बाजेले निकै गाउनुहुन्थ्यो, यानीमाया हामीले उहाँहरुबाटै सिकेका हौँ, तर हामीपछिका पुस्ताले चासो दिएनन्, यो गीत अरुभन्दा गाउन अलि गाह्रो हुन्छ, तर सिक्ने र गाउने हो भने निकै रसिलो र मार्मिक हुन्छ, पहिले–पहिले रोधी बस्दा यानीमाया गाउने चलन थियो, गाउँदा गाउँदै कतिको त विवाहसमेत हुन्थ्यो ।”