
लन्डन । बेलायत र रुसका वैज्ञानिकहरूले यसअघि कोभिड–१९ विरुद्ध विकास गरिएका दुई खोप मिसायर पुनः परीक्षण गर्ने भएका छन् । बेलायतमा विकसित अक्सफोर्ड–अस्ट्राजेनेका र रुसको गमालेया रिसर्च इन्स्टिच्युटले निर्माण गरेको स्पुतनिक–५ खोपको सम्मिश्रणले पहिलेभन्दा उत्कृष्ट नतिजा दिने विश्वास वैज्ञानिकहरूको छ । दुई समान खालका खोप मिसाउँदा यसले मानिसमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उनीहरूको विश्वास छ ।
बीबीसीका अनुसार, रसियामा हुने परीक्षणमा १८ वर्षमाथिका मानिसलाई सहभागी गराउने योजना छ तर परीक्षणमा कति सहभागी हुन्छन्, स्पष्ट भइसकेको छैन । रुसको गमालेया इन्स्टिच्युटलाई खोप विकास गर्न लगानी गरेको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले परीक्षण यही डिसेम्बर अन्त्यसम्ममा सुरु हुने बताएको छ । बेलायतस्थित बर्मिङ्घम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल दुवै खोपको सम्मिश्रण स्थापित मान्यता भएको र यसको परीक्षण सकिन ६ देखि ९ महिना लाग्न सक्ने बताउँछन् । उक्त प्रक्रियाले अहिलेको प्रभावकारितालाई झन् बढवा दिने बताउँदै पौड्यालले भने, ‘एकैखालको भन्दा दुई खालको जीवाणु प्रयोग गर्दा इम्युनिटीले राम्रो काम गर्ने सम्भावना हुन्छ ।’
यी दुवै खोपमा मान्छेमा लाग्ने रुघा र चिम्पान्जीमा लाग्ने रुघाको जीवाणु प्रयोग हुने डा। पौड्यालले जनाए । खोपको प्रभाव लामो समयसम्म रहोस् भन्ने सोचले यो प्रक्रिया अपनाइएको उनी बताउँछन् । अक्सफोर्डले अस्ट्राजेनेकासँगको सहकार्यमा तयार गरेको खोप सुरक्षित र प्रभावकारी भएको नतिजा द ल्यान्सेट जर्नलमा हालै सार्वजनिक भएको थियो । स्वतन्त्र वैज्ञानिकहरूले अध्ययन गरेको तथ्यांकले कोभिड संक्रमण कम हुनुका साथै बिरामी र मृत्यु हुने जोखिम पनि घटाएको देखाएको छ । अनुसन्धानमा ५५ वर्षमुनिका सहभागी थिए तर यस खोपले वृद्धवृद्धामा पनि काम गर्ने बताइएको छ ।
करिब दुई साताअघि अन्तरिम परीक्षणको नतिजा प्रकाशित गर्दा अनुसन्धानकर्ताहरूले उक्त खोप समग्रमा ७० प्रतिशत र न्यूनतम ६२ देखि अधिकतम ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताएका थिए । अनुसन्धानकर्मीहरू वृद्धवृद्धामा खोपको प्रभावकारिता कस्तो हुन्छ भन्ने तथ्यांक संकलन गरिरहेका बताइएको छ । यस खोपलाई बेलायतको नियामक निकाय ‘मेडिसिन्स एन्ड हेल्थ केयर प्रोडक्टस् रेगुलेटरी एजेन्सी’ (एमएचआरए) ले अनुमति दिन बाँकी छ ।
बेलायत सरकारले अमेरिकी कम्पनी फाइजर र यसको जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोपलाई मान्यता दिएर गत मंगलबारदेखि आममानिसमा खोप अभियान सुरु भएको छ । उक्त खोपलाई बेलायतसहित अमेरिका, क्यानाडा, साउदी अरब, बहराइनजस्ता देशले पनि प्रयोगको अनुमति दिएका छन् ।
रुसी अधिकारीहरूले स्पुतनिक भी खोप ९२ प्रतिशतभन्दा बढी प्रभावकारी भएको बताएका थिए । उक्त खोप स्वास्थ्यकर्मी, शिक्षकहरू र सामाजिक कार्यकर्तालाई दिन सुरु भइसकेको बताइएको छ । तर, केही पश्चिमा वैज्ञानिकहरूले रुसले उक्त खोप विकासमा किन हतार गर्यो र यसको प्रभावकारिता कस्तो छ भन्नेबारे प्रश्न उठाएका थिए । यद्यपि रुसले ती नकारात्मक आलोचनालाई अस्वीकार गर्दै आएको छ । कान्तिपुर दैनिक