
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा मालपोत कार्यालय भरतपुरका तत्कालीन नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय ११ रुपैयाँ बिगो दाबी गदै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । उनले मालपोतका विभिन्न फाँटबाट नगद रसिद काटेर संकलन भएको सो रकम लेखा शाखामा नबुझाई हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
त्यस्तै आयोगले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंकमा दाखिला गर्नुपर्ने राजस्व रकम ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ ७५ पैसा हिनामिना गरेको देखिएपछि सोहीबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्यस्तै आयोगले मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्वबापत उठेको ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको नक्कली भौचर बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
दर्जीले हिनामिना गरेको रकममध्ये २ करोड ५८ लाख ३ हजार २ सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ । आयोगले बाँकी ४ करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल गर्न माग गर्दै अभियोगपत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो ।
मालपोत कार्यालय भरतपुर चितवनको आव २०७३/७४ तथा २०७४/७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । छानबिनका क्रममा रकम हिनामिना गरेको पाइएपछि उनीहरूविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । राजधानी दैनिक