२० माघ २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार



अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको आधारभूत अस्पतालमा पूर्वाधार विस्तार भएको छ । मालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजन गरेको बजेटबाट तीनवटा भवन, भवन परिसरमा फेबरब्लक बिछ्याउने र घेराबार गरिएको हो । मालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन पूर्वाधार विस्तारमा प्राथमिकता दिएको बताउनुभयो ।

“रु २४ लाख बजेट विनियोजन भएको योजनाका लागि उपभोक्ता समितिले यस वर्ष रु १४ लाख बराबरको काम गरे”, उहाँले भन्नुभयो, “अस्पतालको पूर्वाधार निर्माण गर्न आगामी आर्थिक वर्षमा पनि बजेट विनियोजन भएको छ ।” आँखा, आयुर्वेद उपचार र फार्मेसी ९औषधि बिक्री० कक्षका लागि तीनकोठे भवन निर्माण भएको हो ।

खाली जग्गामा ‘पेवर ब्लक’ राखेर हिलो र धुलो नहुने बनाएपछि अस्पताल परिसर चिटिक्क परेको छ । पुरानो र नयाँ भवनमा रङरोगन भएको छ । यसअघि घेराबार नहुँदा अस्पताल परिसर अव्यवस्थित बनेको थियो । दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई मालिका गाउँपालिकाले गत भदौमा पाँच शय्या क्षमताको आधारभूत अस्पतालमा स्तरोन्नति गरेको थियो ।

प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताउनुभयो ।

एकजना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा निक साइमन इन्स्च्यिुटले थप एकजना चिकित्सक, एकजना रेडियोग्राफर र एकजना स्टाफ नर्स जनशक्ति सहयोग गरेको छ । प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, मुटुको इसिजी, पाठेघरको मुखको क्यान्सर पत्ता लगाउने स्क्रिनिङ, हातखुट्टा भाँचिएको प्लास्टर सेवा दिइरहेको केन्द्रले आफ्नै फार्मेसी सञ्चालन गरेको छ ।

गाउँपालिकाले अस्पताल सञ्चालन गर्न चालु आर्थिक वर्षमा रु ३२ लाख अनुदान दिएको छ । यसअघि प्राथमिक स्वास्थ्य केन्द्र हुँदा आकस्मिक र कार्यालय समयमा स्वास्थ्य परीक्षण सेवा दिँदै आएकामा अस्पतालमा रुपान्तरण भएपछि चौबीसै घण्टा बिरामीलाई भर्ना गरेर सेवा दिन थालिएको छ । रासस