८ मंसिर २०८१, शनिबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

आमा को हुन् ? 



अ+ अ-

आवाजको पहिलो गुञ्जन, चेतनाको प्रथम सञ्चार, जन्मनको नर्सरी आमा हुन् । आमालाई देवी, जन्मदाता, सृष्टिकर्ता, संरक्षिका आदि श्रद्धेय रुपमा लिन्छौँ । धर्तीलाई माता मान्ने, पृथ्वीलाई देवी ठान्ने, जगत्लाई जननी भन्ने, प्रकृतिलाई प्राण संझने हाम्रो संस्कृतिले मुख्यत: आमाको संस्कार र संरक्षणमा जिउँछ ।

आमाले आत्मालाई शरीरमा, जीवलाई जीवनमा, प्राणलाई देहमा राखेर जन्माइदिनुहुन्छ । आमा नै आश्रय हुन्, आधार हुन्, अमृत हुन् यसकारण आमालाई देवीस्वरुपमा पूजा एवं पृथ्वीका रुपमा दर्शन गरिन्छ । वेदको अध्ययन, आर्यावर्तको साधना, अजवर्षको ऊर्जाले पुर्खाहरूलाई आमाको काखमा बसेर ऋषि बन्ने प्रेरणा मिल्यो । आमाप्रतिको अनुराग, प्रकृतिप्रतिको प्रेम, भूमिप्रतिको आत्मीयताले हाम्रा पुर्खामा ईश्वर चिन्तन, देव पूज्नतर्फ मन लाग्यो । नदी, प्रकृति, पृथ्वी र शास्त्रलाई आमा संझेर ढोग्न, पूज्न एवं स्मरण गर्न सिकाए । गौरवमा रमाउने प्रेरणा दिने भएकाले गाईलाई, आत्मा चिनाउने हुनाले अक्षरलाई, मुक्त गराउने हुनाले माटोलाई आमा मानियो । यसकारण आत्माको आकार एवं आमाको प्रेमको व्याख्या गर्न सकिन्न ।

ॐ, श्रीलगायतका अक्षरसहित अंकहरु आमाको रुप भएकाले मन्त्र, तन्त्र र यन्त्रमा अधिक प्रयोग गरियो । आमाजस्तै कल्याण गर्ने हुँदा अक्षरलाई पढ्न, मूर्तिलाई पूज्न, परमात्मालाई प्रार्थना गर्न लगाइयो । स्वर वर्णको पहिलो अक्षर अबाट आमा, आनन्द र आत्मा बन्छ । शास्त्र र ग्रन्थको ऊर्जामा आमाले जस्तै सन्मार्ग देखाउने शक्ति प्राप्त हुनेहुँदा पुस्तकलाई ढोग्छौँ, पुज्छौँ, दर्शन गर्छौँ । तपस्या, परिश्रम, अनुभवबाट प्राप्त उपलब्धीलाई संकलन गरी सन्ततिलाई दिन शास्त्रहरू तयार गरे । यसको अनुसरणले दानवहरू मानवमा, मानवहरू महामानवमा, महामानवहरू महेश्वरमा बदलिए । संसारलाई प्रकृति, आमा र शास्त्रले मात्र बदल्न सक्छन् । आमाले कुन सन्तानको कुभलो चिताउँछिन् ? कुन पुत्र र पुत्रीलाई बर्वादीको  दलदलमा फस्न दिन्छिन् ? त्यसैले शास्त्र र प्रकृतिसँग आमाको  अन्योन्याश्रित छन् । आमाले देखाएको बाटो हिँड्नेहरू र शास्त्रले बताएका कर्म गर्नेहरुले जीवन बुझिन्छ, माटो चिन्छन्, स्वाभिमानमा रमाउँछन् ।

आमा संझिएर देवीको नाम पछाडि ‘माँ’ शब्द जोडिन्छ । जस्तै काली माँ, गौरी माँ, चामुण्डा माँ, गुह्येश्वरी माँ आदि । जन्मनेबित्तिकैको बच्चाले रुदा वा उफ्रिदा पहिलो स्तुति आमाकै गर्दछन् । बच्चाको रुवाईमा होस् वा गाईका बाच्छा–बाच्छीले माऊलाई बोलाउँदा होस् ‘माँ’ शब्दको मिठास झल्कन्छ । आ समन्तात्: पुत्रै: मन्यन्ते या सा आमा अर्थात् सन्तानहरूले अन्तस्करणबाट पूज्ने देवीलाई नै आमा भनिन्छ । ‘माङ् माने’ धातुमा ‘आङ्’ उपसर्ग लगाएर आमा शब्द बन्दछ । यसकारण आमा पनि संस्कृतभाषाकै शब्द हो । हाम्रो इतिहासमा, शास्त्रमा, संस्कारमा, समाजमा, दिनचर्यामा आमाको भूमिका महत्वपूर्ण छ ।

आमा शब्द झिकिदिने हो भने हामीसँग न त सृष्टि बाँच्छ, न जन्म रहन्छ, न त अस्तित्व, न त जगत् जोगिन्छ, न त प्राणीको प्राण रहन्छ यसकारण आमाको स्थान पूजनीय, दर्शनीय, प्रात:स्मरणीय र श्रद्धेय छ । आमाको कोखमा जन्मले बास लिन्छ, गर्भले आश्रय लिन्छ, सृष्टिले श्वास फेर्छ । इतिहास आमाको गर्भमा हुर्कन्छ, काखमा खेल्छ, आशीर्वादले बढ्छ अनि सन्तानको सुरक्षाकवच भई युगनिर्माणको आश्रयस्थल बन्दछ ।

आमाले मृत्युसँग जुधेर जन्माउँछिन्, प्राणको बाजी लगाएर हुर्काउँछिन्, गाँस काटेर खुवाउँछिन् । यो गुण भूमिसँग मिल्ने हुँदा राष्ट्रलाई मातृभूमि भनिन्छ । जीवनरक्षामा सहयोग गर्ने हुँदा प्रकृतिलाई, परम्परासँग जोडिएकाले संस्कृतिलाई, आशीर्वादसँग गाँसिएकाले देवीसँग, आशीर्वादको गोदमा राख्ने हुँदा गाईलाई, बाटो देखाउने ज्ञानमयी भएकीले सरस्वतीसँग, जीवन जिउन सिकाउने भएकीले लक्ष्मीसँग आमाको तुलना गरिन्छ । त्यसैले नारी हुने सौभाग्य आमालाई मात्र छ । न विद्यते अरि: यस्या: सा नारी जसको अरि वा शत्रु छैन ती नारी हुन् । नारीले घर सम्हाल्छन्, समाजलाई बाटो देखाउँछन्, संस्कृति जोगाउँछिन्, विद्याको संरक्षण गर्छिन्, राष्ट्रलाई बचाउँछिन् । आमाशब्दको लम्बाई, चौडाई र उचाई नाप्न सक्ने यन्त्र विज्ञानले बनाउन सक्दैन ।

आमा जन्मभूमि हुन्, ज्ञान हुन्, प्रेम हुन्, प्राणदाता हुन् त्यसैले अजर र अमर हुन्छिन् । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको नामबाट प्रसिद्धि पाएका छन् । गणेशले पार्वतीनन्दनको पगरी गुथे, भीष्मपितामहले गंगापुत्र वा गांगेयमा आफूलाई सीमित राखे, कृष्ण देवकीनन्दनको सम्बोधन मन पराउँथे, अर्जुनलाई पार्थ र कौन्तेयका नामले पुकारियो, कर्णलाई राधेय भनियो, दुर्योधन गान्धारीनन्दन भएर जिए । शासकहरू पनि आमारूपी जन्मभूमि (मातृभूमि)का सुनामले चिनिन चाहन्थे– गान्धारनरेश शकुनि, अङ्गराज कर्ण, हस्तिनापुरनरेश धृतराष्ट्र, गोरखानरेश राम शाह, नेपाल नरेश महेन्द्र, हिमालीराज्यका शासक हिमाल (पार्वतीको बुबा) आदि । यसकारण जन्मभूमि वा राष्ट्र नै आमा हुन् ।

वैदिककालमा नारीहरूको स्थान पूजनीय र स्तुत्य थियो  भन्ने विषयलाई तात्कालिक पुस्तक, प्राचीन अभिलेख र ग्रन्थहरुले प्रष्ट पारेका छन् । शास्त्रहरूले नारीलाई अबलाको उपाधि दिएका छन् । अबलाको अर्थ बल नभएकी निरीहा महिला होइन अशेषेण अपरिमितमात्रायां विद्यते बलं यस्या: सा अबला अर्थात्, जसमा कहिल्यै नसकिने, ननासिने, मापन गर्न नसकिने शक्ति छ तिनीलाई अबला भनिन्छ । शुम्भ, निशुम्भको बध गर्ने दुर्गादेवी, अहिरावणलाई यमद्वारमा पुर्‍याउने सीता, सन्तानलाई ब्रम्हसाक्षात्कार गराउने मदालसा, जनकका गुरु याज्ञवल्क्यसँग तर्क गर्न सक्ने गार्गी आदिलाई अबलाको उपाधि दिइयो । पुराण होस् वा महाकाव्य, युद्ध होस् वा इतिहासमा आमाको स्थान, महिलाको भूमिका, नारीको योगदान अब्बल र उदाहरणीय छ । यसकारण आमालाई सम्मान नगर्ने, माँलाई नबुझ्ने, मातालाई नपुज्ने सन्तानको इतिहास आफैँ पखालिन्छ, स्वयं मेटिन्छ ।

केही वर्षयता इतिहासलाई वङ्ग्याउने, तथ्यलाई लुकाउने, मर्मलाई मर्काउने, भावलाई भाँचिदिने कार्यले आमाको इतिहास अझेलमा परेको छ । पश्चिमाको व्याख्यान, राजनीतिक स्वार्थ, ग्रन्थका क्षेपकले शास्त्रहरूमा नारीको स्थानलाई गौण एवंं मौन पारिएका छन् । आमालाई हाम्रा शास्त्रले पुजे, संस्कारले सम्मान गरे, संस्कृतिले आदर गरे तर शासकले नारीहरूलाई एकपछि अर्को युगमा अपमानजनक व्यवहार गरे । नारीलाई बुझ्न विगतलाई खोतल्नुपर्छ, हिमाल हेर्नुपर्छ, मन्दिरहरु घुम्नुपर्छ, शास्त्र पढ्नुपर्छ, माटोलाई सोध्नुपर्छ, प्रकृतिलाई छाम्नुपर्छ । शास्त्र र समाजको मर्म नबुझ्दा अबलाहरू अलपत्र परेका छन्, नारीहरू नाङ्गिएका छन्, महिलाहरु महिमाविहीन भएका छन्, आमाहरू अपमानित बनेका छन् । नारीहरूले आफ्नो स्थान र गरिमालाई उठाउन सरस्वती, लक्ष्मी र पार्वतीलाई पढ्नुपर्छ । मातालाई चिन्न महासरस्वती, महालक्ष्मी, महाकालीको महिमालाई अध्ययन गर्नुपर्छ ।

आमालाई सम्मान नगर्नु, आमाको अर्थ नबुझ्नु र आमालाई मातृवत् व्यवहार नगर्नुको परिणामले हाम्रो धर्म, इतिहास र पहिचान दुब्लाएको छ । आमा (मातृभूमि, मातृभाषा, मातृशिक्षा)को सन्देशअनुसार अगाडि बढ्ने राष्ट्रले मात्र कायापलट गर्छन् । धर्म छोड्दा, विदेशको राष्ट्रनीति र परदेशको शिक्षामा हाम्फाल्दा घर न घाटका भयौँ । मातृभूमि आमा, जन्म दिने आमा, संस्कारकी आमा, प्रकृतिस्वरूप आमालाई देखावटी माया र श्रद्धा गर्न थालेपछि सबै क्षेत्र खस्किएको छ, हरेक क्षेत्र खलबलिएको छ, इमान्दारिता गुमेको छ, पुर्खाको इज्जत गुमना भएको छ, मानवसमाजमा खतराको घण्टी बज्न थालेको छ ।

आमाको ऋणबाट उऋण हुन सकिँदैन भन्ने सम्बन्धमा रोचक कथा छ । एक पुत्रले तीर्थाटन गराएर आमाबुबाको ऋण तिर्ने प्रयास गरे । अहिलेको जस्तो यातायातको सुवधिा नभएकाले आमाबुबालाई डोकामा राखेर, चारै धामसहित र नेपालका प्रमुख तीर्थस्थलहरू घुमाए । बर्षौ लगाएर सेवासहित तीर्थाटन गराउँदा दूधको ऋणबाट मुक्त भएँ होला भनी योगबलबाट हेर्दा त एक थोपा दूधको आधा भागको मूल्यमात्र चुक्ता भएको देखे छन् । दूधको मूल्य, गर्भको पीडा, पालनपोषणको दु:खलाई जसो गरे पनि चुक्ता गर्न नहुने देखेपछि आमाको सेवा गरी आशीर्वाद लिने सोच बनाएर घरमा फर्किए छन् । संसारमा सबैको ऋण चुक्ता गर्न सकिएला तर आमाबुबाको ऋण कहिल्यै भुक्तान हुन सक्दैन । तिरेर तिर्न नसकिने ऋण नै मातृऋण हो । यसकारण मातृभूमि, कुलको परम्परा र माताप्रति हरेक प्राणी सधैँ ऋणी हुन्छन् ।

हरेक पर्वत, नदी किनार, भञ्ज्याङ आदिमा थानी, दुर्गा, काली, वनदेवीका नाममा फूल, पाती अर्पण गरेर आमाको स्वरुप र व्यापकलाई पूजा गरिन्छ । नेपालका देवीमन्दिरमा अष्टमी तिथि, दुर्गापक्ष, मंगलबार दर्शनार्थीको भीड लाग्छ । पाञ्चायनपूजा, चाडपर्वका अनुष्ठानमा देवी (आमा)कै उपासना गरिन्छ । शास्त्र र पुर्खाकोे आदेशअनुसार आमालाई नबुझ्दा गुठी गायव छन्, सुन्दरता खुम्चिएका छन्, शक्तिपीठहरुमा रगत बगेका छन् । जीभ्रेदेवी, दन्तेदेवी र स्वादेदेवीको फन्दामा परेर मन्दिरमा निहित मातृशक्तिलाई गुमनाम बनाएका छन् ।

अबोध पशुपंक्षीहरूलाई बलि दिएर आत्मचिन्तन छोडिएको छ । अर्थ संकलनको केन्द्र बनाएर दैवी शक्तिलाई नाश गरेका छौँ । वलिको अर्थ उपहार हो । उपहार फलफूल, गरगहना हुन्छ कि मासु ? पशुपंक्षीको हत्याले सुख र मुक्ति पाउने भए भगवान्  राम, कृष्ण, गौतम बुद्धहरूले तप र उपासनाको बाटो किन देखाउने थिए ? के उनीहरुले राँगा, बोका, कुखुरा, परेवा काटेर वा पूजा–आजा गरेको इतिहास छ र ? विनाशकाले विपरीतबुद्धि: भनेझैँ पापाचार बढेपछि प्राणीलाई बलि एवं मांसलाई प्रसाद मानियो । माम् स अर्थात् ‘माम्’को अर्थ मलाई, ‘स’को अर्थ त्यो अर्थात्, यस जन्ममा मलाई खानेलाई अर्को जन्ममा खान्छु । बलिले मन्दिरको सातो गएको छ, मूर्तिको मुटु हल्लिएको छ, नेपालआमाको अपमान भएको छ । धर्मको नाशले सर्वनाश निम्त्याउँछ । धर्म आमा हुन्, आमाकै रक्षा भएन भने शक्ति, शान्ति, सन्तान र संस्कार बाँच्दैन । धर्मो रक्षति रक्षित: धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्दछ ।

दशैँमा नवदुर्गाको पूजा होस् वा वसन्तपञ्चमीको सरस्वतीपूजा, तिहारको लक्ष्मीपूजादेखि स्वस्थानीव्रत कथासम्म देवीको अनुष्ठान हुन्छ । बिहान उठ्नेबित्तिकै पृथ्वीलाई ढोग्छौँ, गाईको दर्शन गर्छौ, आमाको चरण स्पर्श गर्छौ, गायत्री जप्छौँ, यी सबै माताकै स्तुति हुन् । हरेक नारीको नामपछाडि देवी शब्द जोड्दा सहज र स्वाभाविक लाग्दछ । जस्तै सीतादेवी, कोइलीदेवी, रमादेवी आदि तर पुरुषको नामपछाडि देव शब्द जोडने अधिकार चार जनामा सिमित छ । पहिलो राजाहरूको नामपछाडि जस्तै श्री ५ महेन्द्रवीरविक्रम शाहदेव, गुरुमा ‘‘पूज्य गुरुदेव’ ब्रम्हाणमा ‘ब्रम्हाणदेव’, चौथो आफ्नै पतिमा ‘देव’ ।

नामकरण गर्दा देवीको नामपछाडि देवताको नाम राखिन्छ अर्थात् पहिले देवी अनि देवताको नाम राखिन्छ । जस्तै राधाकृष्ण, सीताराम, गोपीकृष्ण, लक्ष्मीनारायण, गौरीशंकर आदि । वैदिक धर्मले आमाको महत्व नदिएको भए यो इतिहास आजसम्म कसरी अभ्यासमा रहिरहन्थ्यो ? रामसीता, शंकरगौरी नाम कतै, कसैको छैन । हाम्रा शास्त्र र समाजले महिला तथा पुरुषलाई समान स्थान दिएका छन् । त्यसैले हिन्दूधर्म पितृप्रधान होइन मातृप्रधान हो । हाम्रो संस्कार पितृप्रधान होइन मातृप्रधान हो । दुर्भाग्यवश- आमाको गौरवमाथि अन्याय गरेर, पश्चिमाको भक्त भई केही शतकअगाडिदेखि नेपालीसमाज पितृप्रधान भएको दुष्प्रचार गरिएको छ । प्रार्थना गर्दा भनिने ‘मातृदेवो भव, पितृदेवो भव……’ मा आमालाई देवी होइन देवताको स्थान दिइएको छ ।

प्रार्थना र नाममा देवताभन्दा पहिले देवीको, पुरुषभन्दा पहिले स्त्रीको नाम आउँछ । देवताका तुलनामा देवीका मन्त्र, देवीको साधना छिट्टै फल दिने हुन्छन् । आमा हरेक जीवकी प्राण हुन्, सहनशक्तिकी केन्द्र हुन्, विवेकी खानी हुन्, ममताकी भण्डार हुन् । पाउने, प्रकट गराउने, जन्माउने, पालन गर्ने, आरक्षण दिने, प्रेम गर्ने सबै आमा हुन् । आमा जीवन हुन्, जगत् हुन्, ईश्वरी हुन्, मनका भाव बुझ्ने, आशीर्वाद दिइरहने, सर्वथा कल्याण चाहने परमात्मापछिको निकट र जीवनकी प्राण हुन् । यसैले आमालाई परिभाषा गर्न सकिँदैन परमात्माको स्वरुप संझेर दर्शन, आदर र पूज्नमात्र सकिन्छ ।