७ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो



अ+ अ-

गलेश्वर । यहाँका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुन:निर्माणमा चासो देखाउन थालेका छन् । संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुन:निर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन् ।

तत्कालिन पर्वत राज्यको मुकाम रहेको म्याग्दीको बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा पुन:निर्माण भइसकेका छन् भने कतिपय सम्पदा पुन:निर्माण तथा मर्मत भइरहेका छन् ।

संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका मल्लकालीन समयका ऐतिहासिक सम्पदा र पुरातात्विक तथा शिखरशैलीका देवल, मठ मन्दिर, कुवा, धारा, ओखलआदि सम्पदाप्रति स्थानीय तहका जनप्रतिनिधि र समुदायले चासो देखाउन थालेपछि प्रदेश र सङ्घीय सरकारले समेत आवश्यक बजेट बिनियोजन गर्न थालेको यहाँका जनप्रतिनिधिहरु बताउँछन् ।

कतिपय स्थानीय तहमा रहेका ऐतिहासिक, प्राकृतिक, धार्मिक र पुरातात्विक सम्पदा स्थानीय तहबाट नै बजेट विनियोजन गरी सुधार, मर्मत तथा पुन:निर्माण समेत गरिएको छ ।

बेनी नगरपालिका वडा नं ७ र वडा नं ६ मा रहेका ऐतिहासिक तथा प्राकृतिक महत्वका चौतारी, मठ, झोलुङेगे पुल, पोखरी, पाटी पौवाआदि नगरपालिकाको बजेटबाट नै पुननिर्माण भएका हुन् ।

त्यसैगरी धवलागिरि गाउँपालिका वडा नं ७ को ताकम कोतको पुन:निर्माणपछि जिल्लाकै आकर्षक पर्यटकीय स्थल बनेको स्थानीय गोपाल आचार्यले बताउनुभयो ।

त्यस्तै तत्कालिन पर्वत राज्य अन्तर्गतको प्रमुख सामरिक स्थल ज्यामरुकोटस्थित खड्गभवानी कोतलाई गण्डकी प्रदेश सरकार, बेनी नगरपालिका र समुदायले पर्यटकीय स्थल बनाउनका लागि लगानी गरिरहेका छन् । यहाँ पूर्वाधारहरु निर्माण हुन थालेपछि सामरिक र ऐतिहासिक स्थल ज्यामरुककोटको अवलोकनका लागि यहाँ आन्तरिक पर्यटकहरु आउन थालेका हुन् ।

विसं १२४६ देखि १५४५ सम्म थापाले राज्य गरेका ज्यामरुककोटमा उनीहरूले आफ्नो खाइपाइ आएको राज्य छोडेर मल्ल राजाहरूका मन्त्री र सेना बनेका र थापा राज्यको अन्त्य भएको पर्वत राज्यको इतिहासमा उल्लेख गरिएको छ ।

करिव छ सय वर्ष पुरानो इतिहास रहेको म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पर्ने तत्कालीन पर्वत राज्यको प्रमुख सामरिक केन्द्र खड्गभवानी कोतमा पछिल्लो समय समुदाय र गण्डकी प्रदेश सरकारको पहलमा धमाधम पूर्वाधारहरु निर्माण भए पछि यहाँ पर्यटकहरु आउन थालेका छन् । विकासको उज्यालोले यो ऐतिहासिक स्थल उज्यालिदै गएको स्थानीयले बताएका छन् ।

अहिले यो पुरानो सम्पदाको मौलिक स्वरुप नबिग्रने गरी पुन:निर्माण गरिने भएको छ । सामरिक स्थलको मौलिकस्वरुप नबिग्रने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

नगरपालिकाले ऐतिहासिक कोतको मौलिकस्वरुप यथावत रहनेगरी पुन:निर्माण गर्नका लागि डिपिआर तयार गरेको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

“पुन:निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको छ । पालिकाको बजेटले मात्र पुन:निर्माण सम्भव नहुने भएकाले प्रदेश र सङ्घीय सरकारसँग पनि अनुरोध गर्ने भएका छौँ”, वडाध्यक्ष कार्कीले भन्नुभयो, “ऐतिहासिक कोतको गर्भगृह र अन्य पुरातात्विक सम्पदा यथावत रहनेगरी पुन:निर्माण गर्नेछौँ ।”

खड्गभवानी कोत पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यस्थल बन्दै गएको छ । ज्यामरुककोटको छिमिकी बागलुङको पञ्चकोटमा धार्मिक पर्यटक वृद्धि भएसँगै ऐतिहासिक ज्यामरुककोटमा समेत सकारात्मक प्रभाव परेको वडाध्यक्ष कार्कीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय खड्गभवानी कोत परिसरमा विभिन्न पूर्वाधार निर्माण भएका छन् ।

समुद्री सतहदेखि एक हजार छ सय ४८ मिटर उचाइमा रहेको इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको पर्यटकीय महत्व उजागर गर्न वडा कार्यालयले पूर्वाधार निर्माण गरेपछि यहाँका सम्पदा पर्यटक र विकाससँग जोडिएको कार्कीको भनाइ छ ।

म्याग्दीका विभिन्न ठाउँहरुमा ढुङ्गैढुङ्गाले बनेका शिखर शैलीका थुम्का, देवल र मठहरु छन् । त्यसैगरी पर्वते मल्लराजा डिम्बबम मल्लले निर्माण गर्न लगाएका ओखल र कुवाहरु पनि यहाँ रहेका र ती सम्पदाहरुको संरक्षणमा पनि स्थानीय तहहरुले चासो दिनुपर्ने स्थानीय वासिन्दाहरुको भनाइरहेको छ ।

विसं १८४२ मा गोरखा र पाल्पाको संयुक्त फौजले पर्वते सेनालाई पराजित गर्नुअघि पर्वत राज्यको राजधानी ढोलठाना र सहराजधानी बेनीमा रहेको म्याग्दीका इतिहासकार तथा २०७७ सालको मदनपुरस्कार विजेता चन्द्रप्रकाश बानियाँले उल्लेख गर्नुभएको छ ।

चौधौंँ शताब्दीताका तत्कालीन पर्वत राज्यका एकीकरणकर्ता एवं चर्चित राजा डिम्बबम मल्लद्वारा स्थापित जगन्नाथ मन्दिर धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले समेत नेपालभर प्रसिद्ध छ । यो मन्दिर ढोठानदेखि केही माथि र डढेकोट दरवारदेखि केही तल केभहिलको नजिक छ ।

ढोलठान क्षेत्रको शिरमा रहेको केबहिलबाट मनोरम हिमशृङ्खलाको दृश्य नजिकैबाट नियाल्न पाइनु यस क्षेत्रको अर्को आकर्षण हो । यहाँबाट धौलागिरि, निलगिरि, अन्नपूर्णलगायत १४ हिमाल, पर्वत, बाग्लुङ, स्याङ्जा र कास्कीका ३० भन्दा बढी ग्रामीण क्षेत्रका साथै म्याग्दीका साबिकका ३६ गाविस प्रत्यक्ष देख्न सकिन्छ ।

बेनी बजारदेखि करिब डेढ/दुई घण्टाको पैदल यात्रापछि पुग्न सकिने ढोलठान प्राकृतिक सुन्दरता र ऐतिहासिक महत्वले युक्त त छ नै धार्मिक दृष्टिकोणले समेत प्रमुख आकर्षणको केन्द्र बन्न सक्ने जगन्नाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामवहादुर बानियाँले जानकारी दिनुभयो ।

बानियाँले भन्नुभयो “ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व र प्रशस्तै सम्भावनाहरुले युक्त, सदरमुकाम बेनीदेखि नजिकै रहेको भए पनि बल्ल यस ठाउँको स्वरुप फेरिन थालेको छ । ढोलठान क्षेत्र म्याग्दीको मात्र होइन गण्डकी प्रदेशकै उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छ ।” ढोलठानबाट पूर्वोत्तरतर्फ माछापुच्छ्र«े, अन्नपूर्ण, नीलगिरि र धौलागिरि हिमाल देख्न सकिन्छ ।रासस