२३ माघ २०८१, बुधबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड



अ+ अ-

दमौली । तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर करिब रु तीन करोड आम्दानी गरेका छन् । नगरपालिकाका चार वडाका कृषकले यस वर्ष सुन्तला बिक्री गरी रु दुई करोड ९० लाख आम्दानी गरेका हुन् ।

भिमाद–१, ५, ८ र ९ का किसानले दुई सय २२ टन सुन्तला बिक्री गरेका नगरपालिकाका कृषि सेवा शाखा प्रमुख कृष्ता महतोले जानकारी दिनुभयो । त्यसमध्ये वडा नं ८ अस्पादीबाट मात्रै रु एक करोड ५० लाखको सुन्तला बिक्री भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पादीका कृषकले एक सय ६६ टन सुन्तला बिक्री गर्नुभएको तथ्याङ्क छ । अन्य वडाको तुलनामा यो वडामा बढी सुन्तला उत्पादन हुने गर्दछ ।”

कृषि सेवा शाखा प्रमुख महतोका अनुसार चार वडालाई नगरपालिकाले पकेट क्षेत्रको रुपमा घोषणा गरेको छ । पकेट क्षेत्रका सुन्तला कृषकलाई नगरपालिकाले विभिन्न सामग्री सहयोग गर्दै आएको उहाँको भनाइ छ । पकेट क्षेत्रका वडाहरुमा एक सय ५० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

नगरपालिकाले चालु आव २०८०÷८१ मा वडा नं ५ लाई पनि सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । यो वडाको मिछुर्लुङ क्षेत्र सुन्तला पकेट कार्यक्रममा ३३ जना कृषक आबद्ध छन् । उक्त समूहलाई यसै वर्ष सुन्तला खेती प्रवर्द्धनका लागि रु छ लाख सहयोग गरिएको कृषि अधिकृत हरिप्रसाद गैह्रेले जानकारी दिनुभयो ।

तनहुँमा यो वर्ष रु ३० करोड बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष रु २९ करोड बराबरको सुन्तला उत्पादन भएको थियो । प्रत्येक वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको छ । सुन्तला खेतीबाट मनग्य आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित हुँदै गएका छन् ।

जिल्लाका आठ हजार पाँच सय ७० हेक्टर क्षेत्रफलमा सुन्तला खेती विस्तारको सम्भावना रहेको छ । कार्यालयले सुन्तला खेती कृषकलाई बगैँचा व्यवस्थापनमा सहयोग गर्दै आएको छ ।

कार्यालयका सूचना अधिकारी किरण परियारका अनुसार देवघाट–२ र ३, आँबुखैरेनी–५, म्याग्दे ४, व्यास–७, १३ र १४, भिमाद– ८ र ९, बन्दीपुर–३, ऋषिङ–३ र घिरिङमा सुन्तला खेती विस्तारको सम्भावना छ । तनहुँमा उत्पादित अधिकांश सुन्तला काठमाडौँका व्यापारीले लैजाने गरेका उहाँले बताउनुभयो ।

सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका छन् । काठमाडौँका साथै पोखरा, नारायणगढ लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको छ । यसका साथै जिल्लाकै दमौली, दुलेगौडा, खैरेनीटार, भिमाद लगायतका ठाउँमा यहाँको सुन्तला बिक्री हुने गरेको किसान बताउँछन् । रासस