
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदुत हेमन्दोयल डिल्लमबीच काठमाडौंमा भेटवार्ता भएको छ ।
मंगलवार इप्पानको कार्यालयमा अध्यक्ष कार्की र मौरिससका राजतदुत डिल्लमबीच नेपालको जलविद्युत उत्पादन र लगानीका विषयमा कुराकानी समेत भएको छ । भेटमा मौरिससका राजतदुत डिल्लमले नेपालसँग आफूहरुको सांस्कृतिक हिसावमा राम्रो सम्बन्ध रहेको बताउनु भयो । उहाँले नेपाल र भारतबीच आर्थिक,सामाजिक र सांस्कृतिक हिसावले गहिरो सम्बन्ध रहेको बताउनु भयो । उहाँले नेपालमा पर्यटकीय सम्भावना राम्रो रहेको भन्दै लुम्बीनी र पोखरामा धेरै पर्यटकीय सम्भावना रहेको बताउनु भयो । राजतदुत डिल्लमले नेपाल जलविद्युतमा राम्रो सम्भावना भएको देश भएकाले जलविद्युत उत्पादनमा जोड दिँदा अन्य सम्भावना बढ्दै जाने उल्लेख गर्नुभयो ।
उहाँले विद्युत उत्पादन गरी भारत लगायत अन्य देशमा बेच्नसक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले नेपालमा जलविद्युत नै सबैभन्दा ठूलो सम्भावना बोकेको क्षेत्र भएकाले जलविद्युत उत्पादनमा जोड दिन आवश्यक रहेको धारणा राख्नुभयो । उहाँले विश्वका अन्य देशबाट समेत जलविद्युतमा लगानी ल्याउन सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । मौरिससका राजतदुत डिल्लमले जलविद्युत नेपालमा मात्रै नभएर विश्वमा नै धेरै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले विकसित मुलुकमा समेत सबैभन्दा ठूलो लगानी जलविद्युतमा रहेको बताउनु भयो । उहाँले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) सँग नेपालको जलविद्युत उत्पादनमा लगानीका विषयमा सहकार्य अगाडि बढाइने बताउनु भयो ।
उहाँले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) नेपाललाई जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनाउन ठूलो योगदान गरिरहेको देखिएको बताउनु भयो । उहाँले जलविद्युत उत्पादनमा निजी,सरकारी र सार्वजनिक क्षेत्रको संयुक्त लगानी र कामले मात्रै पूर्णता पाउन सक्ने बताउनु भयो । उहाँले जलविद्युत उत्पादनको लागि निजी क्षेत्रलाई प्रोत्साहन र सहुलियतको आवश्यकता रहेको बताउनु भयो । उहाँले जलविद्युत उत्पादन र खपतको लागि जीटुजी सम्झौता वा निजी क्षेत्र निजी क्षेत्रबीचको साझेदारीमा काम गर्ने वातावरण नेपाल सरकारले वातावरण बनाउन आवश्यक रहेको बताउनु भयो ।
इप्पानका अध्यक्ष कार्कीले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको भन्दै उत्पादनको लागि अन्तर्राष्ट्रिय लगानी आवश्यक रहेको बताउनु भयो । उहाँले लगानीको लागि अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरिरहेको जानकारी दिनुभयो ।