काठमाडौं । केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यलाई सरुवा गर्न तयारी गरिएको छ ।
सुन तस्करी जाँचबुझ आयोगले एआईजी बज्राचार्यलाई दोषी ठहर गरेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उनलाई सरुवाको तयारी गरेका गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । बज्राचार्यलाई सरुवा गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लैजान छलफल भइरहेको उनले बताए ।
आयोगले सुन प्रकरणमा त्रुटिपूर्ण अनुसन्धान गरेको र सुनमा संलग्नहरूसँग ‘नेक्सस’ देखिएको भन्दै एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही गर्न सिफारिस गरेको छ ।
आयोगले ६० किलो सुन अनुसन्धानमा एआईजी बज्राचार्य, अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।
सुन तस्करीमा संलग्न आरोपी जीवन चलाउनेलाई सीआईबीले प्रतिवादी कायम गरे पनि कागज मात्र गरेर छाडेको छानबिनबाट देखिएको छ ।