काठमाडौं । लसुनले हाम्रो खानालाई मीठो बनाउने मात्रै होइन, यसमा पाइने धेरै किसिमका पौष्टिक तत्वहरूले हाम्रो शरीरलाई स्वास्थ्य रहन धेरै मद्दत गर्दछ । लसुनको प्रयोग गर्न जाने धेरै रोगको ओखती हुन्छ ।
लसुन नियमित खानाले स्वास्थ्यमा सुधार आउने र केही खतरनाक शारीरिक समस्या र रोगहरूबाट पनि बच्न सकिन्छ तर लसुनले सबै मानिसलाई राम्रो गर्छ भन्ने छैन । लसुनको प्रयोग गर्दा आफ्नो स्वस्थ्य अवस्थाका विषयमा जानकार हुनु जरुर छ किनभने सबै किसिमका रोगहरुमा लसुनको प्रयोगले फाइदाँ गर्दैन ।
कुनै कुनै रोगहरु यस्ता हुन्छन् कि लसुनको प्रयोग गर्दा थप दुख पाइन्छ भने कतिमा त ज्यान जानेसम्मको अवस्था श्रृजना हुनसक्छ । केही रोगिहरुले लसुनको सेवन वर्जित गर्दा नै फाइदा हुन्छ । थप जानकारीका लागि भने तपाईले डाक्टरसँग सल्लाह लिनु सबै भन्दा बढि बुद्धिमानी हुन्छ ।
लसुनको सेवन गर्दा ध्यान दिनुपर्ने कुराहरु :
शल्यक्रिया गर्न लागेको व्यक्ति– कुनै पनि किसिमको सर्जरी गर्नुभन्दा २ हप्ता अगाडि देखि लसुन खान छोड्नुपर्दछ किनभने, लसुनले गर्दा सर्जरी पछि रगत नजम्ने हुन्छ र घाउ बिस्तारै पाकेर सङ्क्रमित हुने गर्दछ ।
जन्डिस– जन्डिस भएकाले लसुन खाएमा जन्डिस बिग्रिन सक्ने भएकाले त्यस्ता मानिसले लसुन खानु हुदैन । कलेजो सम्बन्धी समस्या भएकाका लागि लसुन उपयुक्त मानिदैन ।
कम रक्तचाप भएको व्यक्ति– लसुनको सेवनले शरीरमा नाइट्रिक अक्साइड र हाइड्रोजन सल्फाइड जस्ता रसायनहरूको निर्माणमा मद्दत पुर्याउँदछ । यी रसायनहरूले मुटुको धमनीहरूलाई आराम दिने गर्दछन् । उच्च रक्तचाप हुनेहरूको लागि लसुन फाइदाजनक हुन्छ तर कम रक्तचाप हुनेहरूको लागि भने लसुनको सेवन खतरनाक हुन जान्छ ।
सुत्केरी अवस्था– सुत्केरी अवस्थामा सामान्य मात्रामा लसुन खादा हुन्छ । तर बढीमात्रामा खायो भने सुत्केरी र स्तनपान गराउने महिलालाई राम्रो गर्दैन ।
झाडापखाला लागेको व्यक्ति– झाडापखालाले ग्रसित भएको व्यक्तिले लसुनको सेवन गरेमा, यसको पीरो स्वादले आन्द्रालाई नकारात्मक असर पुर्याउँदछ, जसको कारण आन्द्रामा घाउ हुन जान्छ र यस्तो अवस्थालाई ‘इन्टेस्टाइनल म्युकोसल हाइपरिमिया’ भनिन्छ । यस्तो अवस्था हुँदा, दिसा गर्दा कडा पेट दुख्ने, दिशामा रगत देखिने, रिङ्गटा लाग्ने र बान्ता हुने जस्ता लक्षणहरू देखा पर्दछन् । त्यसैले, झाडापखाला लाग्दा लसुनको सेवन नगर्नुहोस्।
आँखाको रोग भएको व्यक्ति– आँखाका रोगीहरूले लसुनको सेवन गर्नुहुँदैन । विशेष गरी आँखा पाकेको व्यक्तिलाई लसुनले हानी पुर्याउने गर्दछ, साथै आँखाबाट रगत पनि निकाल्न सक्दछ । यो रोगीले लसुनको सेवन गरेमा आँखामा बादल लागेजस्तो हुने, आँखा दुख्ने, टाउको दुख्ने, स्मरण शक्ति घट्दै जाने जस्ता लक्षणहरू देखा पर्दछन् ।
पेटको समस्या– आन्द्रामा ग्यास जम्मा भएकाले पेट दुखेर अथवा पेट पोलेर हैरान हुनसक्छ त्यसैले पेटको समस्या भएकाले लसुन खानु हुदैन ।
यसैले यस्ता बिरामी भएका मानिसहरुले लसुनको प्रयोग सकेसम्म नगरेकै राम्रो । एजेन्सीको सहयोगमा ।