वैदिक चाडपर्वलाई भोजन, भजन र प्रदर्शनका रुपमा मात्र होइन विभिन्न दृष्टिले हेर्न जरुरी छ । तिथि, मितिका आधारमा नेपालमा अनेकौँ पर्वहरु मनाइन्छ । कतिपय शास्त्रका आधारमा, केही स्थानीय मान्यताका जगमा, कुनै सामाजिक विश्वासका आधारमा पर्व मनाउँदै आएको देखिन्छ ।
हिन्दूका शास्त्र, देवीदेवता, दर्शन, गुरुमात्र धेरै छैनन् अनेकौँ प्रयोजनका लागि चाडवाड पनि प्रशस्तै छन् । चाडपर्वको शुरुवात नियम संगत देखिन्छन् । गुरुपूर्णिमाका दिन गुरुपूजेर अक्षरको सम्मान, विद्यालाई नमन गरिन्छ । यसपछि हरिशयनी एकादशीबाट साधारणतय पर्वको श्रीगणेश हुन्छ । तुलसी रोपेर घरलाई शुद्धीकरण गरिन्छ । त्यसपछि जनैपूर्णिमाका दिन जनै फेरेर, रक्षाबन्धन लगाएर शारीरिक र मानसिक रुपमा सक्षम बनाइन्छ ।
भाद्रऔँसीका दिन कुशलाई स्वागत गरी धार्मिकअनुष्ठानलाई आवश्यक पर्ने वनस्पतिलाई घरमा राखिन्छ । धार्मिक अनुष्ठानमा प्रयोग गरिने हरेक पदार्थ जीवनोपयोगी छन् । आध्यात्मिक कर्म गर्दा बस्ने, लगाउने, खाने, हेर्ने सबै पदार्थ शक्तिमय हुन्छन् भन्ने तथ्य वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् । धर्मभित्रको अथाहा ज्ञान, पूजाभित्रको प्रविधि, उपासनाभित्रको शक्तिलाई युगानुकूल प्रयोग गर्नुपर्छ ।
पितापुर्खा र शास्त्रका ज्ञानलाई कर्मकाण्ड र वर्गविशेषमा सीमित बनाइयो । प्रविधिजस्तै शास्त्र सबैको साझा सम्पत्ति हो । शास्त्रले अध्यात्ममात्र सिकाउँदैन आनन्द पनि दिन्छ । आध्यात्मिक आनन्दलाई उपभोग गर्ने कला र विधि नहुँदा युवायुवतिहरू वाह्यमुखी बन्दै भौतिक वस्तु र विदेशीपनमा रमाउँदै गएका छन् ।
आफ्नो पन, पहिचान र प्रकृतिलाई भुल्दा कस्तुरीले विनाको सुगन्ध थाहा नपाएझैँ भएको छ । यहीकारण आँगनका कन्दमूल, बारीका फूल, करेसाका पात र नर्सरीका कोपिलाबाट हुने नि:शुल्क उपचारलाई छोड्दै महङ्गो उपचारमा पुगेका छौँ । विदेशी उपचारले जीवन गुमेको छ, स्वास्थ्य सकिएको छ, सम्पत्ति उडेको छ । पश्चिमाको औषधि र जीवनपद्धतिले नयाँ–नयाँ रोग र समस्याबाट अकालमै यमलोकको यात्री बन्नेको संख्या बढ्दैछ । सामान्य झारले निको हुने रोगहरू आधुनिक अस्पतालको घनचक्करमा परेर बिग्रदै, बढ्दै गएर डाक्टरको हात र औषधिको पहुँचभन्दा धेरै टाढा पुगिसकेका छन् ।
दबाईले रोगलाई एकछिन दबाएर निर्मूल भएझैँ बनाउँछ । मौका पाएपछि त्यो रोगले पुन: आक्रमण गरी ज्यान र धन लैजान्छ । टालटुले उपचारपद्दतिमा प्रयोग गरिने औषधिलाई दबाई भनिन्छ । आर्यावर्तका झारले मृत लक्ष्मणलाई बचाएका थिए, यमलोक निबासी भएका परीक्षितलाई जिवित तुल्याएका थिए । लेप दलेर, यन्त्र लगाएर, औषधि खाएर, जडीबुटीलाई पिएर, मन्त्र जपेर, होम हालेर वा अन्य विविध विधिहरूबाट उपचार गरिन्छ । नेपाल औषधिको भण्डार हो किन कि हाम्रा पहाडमा सोमलता फल्छन्, हिमालमा यार्चागुम्बा उम्रन्छन्, ढुङ्गाबाट शिलाजित बहन्छ, कन्दरामा सञ्जीवनी लहराउँछन् । ती झारहरुलाई पूजा गरेर, देवीदेवता ठानेर, प्रसाद संझेर संरक्षण गर्ने, खाने परम्परा थियो । त्योमध्ये एक थियो कुश । दर्भो य उग्र औषधिस्तं ते बध्नाम्यायुष्षे अर्थात्, “कुश तत्काल फल दिने औषधि हो, जसलाई आयु वृद्धि गर्न लगाइन्छ ।” मानवजीवन र कुशबीच अन्योन्याश्रित सम्बन्ध छ ।
कुशको फरक नाम र भिन्न काम छन्– फूल नफूलेको कुशलाई दर्भ, फूल फूलेपछि कुश, जरासहितको भागलाई कुतप, अगाडिको भाग काटेमा तृण भनिन्छ । जो फेरि पलाउँदैन त्यसलाई दर्भ र पुन: पलाउन सक्नेलाई कुश भनिन्छ । विशिष्ट व्यक्तिलाई आसन गराउँदा कुशासन दिइन्थ्यो भन्ने तथ्यलाई ऋग्वेद (३.९.९)मा तीन हजार तीन सय उनन्चालीस देवताहरूले अग्निलाई कुशासन दिएबाट बुझिन्छ । कुशलाई भगवानको रौँबाट उत्पन्न भएको मानिन्छ–मम रोम समुद्भूता दर्भा: पुष्टिकरा मता: अर्थात् कुश मेरै राै बाट उत्पन्न भएको हो, यो पौष्टिक छ ।
देव कार्य, पितृ कार्य, रोग निराकरण, ग्रह शान्तिका लागि कुशको प्रयोग गरिन्छ । देवकार्य, पितृकार्य आदिमा दाहिने हातमा सुन, चाँदी वा कुशको औँठी हुन आवश्यक हुन्छ । विशेष प्रकारका धातु र वनस्पतिले वातावरणमा रहेका दैवी र सकरात्माक शक्तिलाई तानेर शरीरमा प्रवाह गराउँछन् । अचानक सूक्ष्मरूपले भाइरसबाट हुने शारीरिक र मानसिक आक्रमणलाई कुशले रोक्छन् । कुश लगाउँदा कम श्रम, शक्ति र समयमा अधिक कार्य गर्ने तागत प्राप्त हुन्छ ।
एकपटक पढेको, देखेको, उपदेश गरेको विषयलाई सम्झिरहने मानिसलाई कुशाग्र बुद्धि मानिन्छ । कुशको अग्रभाग तीखो हुन्छ अर्थात् कुशजस्तो पवित्र र तिख्खर दिमागलाई कुशाग्र बुद्धि भनिन्छ । कुशले शरीरलाई स्वस्थ, बुद्धिलाई तेज र विचारलाई पवित्र बनाउन सहयोग गर्दछ । दूधमा कुश राखेर तताए फाट्दैन । गरुडपुराण (९।१२–१३)का अनुसार “कुश मेरा रौँ हुन् । यसलाई दैनिक छुनाले पवित्र भई स्वर्ग प्राप्ति हुन्छ । कुशको जरामा व्रम्हा, काण्डमा विष्णु, टुप्पोमा महादेवसहित तीन देवता बस्दछौँ ।” कुशमा जगत्का उत्पत्तिकर्ता, पालनकर्ता र संहारकर्ताको निबास भएकाले यसलाई परम पवित्र र शक्तिमान् मानिएको हो । महाभारतअनुसार गरुडले सर्पहरूबाट बन्धक बनाइएकी आफ्नी आमाको मुक्तिका लागि अमृत ल्याएर सर्पहरूलाई दिए । अमृत खानुभन्दा पहिले सर्पहरू नुहाउन गए, आउँदा अमृत देखेनन् ।
कुशमा अमृत पोखिएको अनुमानले चाटे । कुशको धारले जिभ्रो काटेको हुनाले त्यतिबेलादेखि सर्पको जिभ्रो दुईवटा भयो । अमृतको स्पर्शले कुश पवित्रतम हुन गयो । कुश लगाउनाले शरीरमा शक्ति आउँछ, रोगको निराकरण हुन्छ र अमृतको दर्शन मिल्छ । कुशेऔँशीमा विधिपूर्वक घरमा कुश ल्याइन्छ । कुशको सम्बन्ध बुबा अर्थात् शरीरको हाडसँग रहन्छ । शरीरको मासु भागलाई आमा र हड्डी भागलाई बुबासँग सम्बन्ध रहेको बताउँछन् ।
कुश विद्युतको कुचालक भएकाले चट्याङ पर्न दिँदैन । यसकारण घरका छानामा कुश राख्ने चलन छ । कुशले रिसलाई नियन्त्रण गर्दछ, शत्रुको रिसबाट बचाउँछ । कुशघारी वा बाँसघारीबाट बगेको पानी राम्रोसँग छानिएर पिउनलायक हुन्छ । अथर्ववेद(१९।३२।२)अर्थात्, “जो नित्य कुश लगाउँछ, उसको कपाल झर्दैन, न त छाति दु:ख्दछ ।” अत्यन्तोपयोगी झार भएकाले कुशलाई औषधि, गहना, सुरक्षाकवच आदिका रूपमा उपयोग गर्दछन् । एकाग्रता, शुद्धता, संयमता आदि शक्ति कुश लगाउँदा प्राप्त हुन्छ । विभिन्न किटाणु र व्याक्टेरिया मार्ने हुँदा यज्ञस्थल आदिलाई पवित्र गराउन कुशपानी छर्कनुपर्छ । उपनयन संस्कारमा कुशको जनै लगाएर मात्र धागोको जनै लगाइन्छ । तीजको व्रतमा महिलाहरू कुशको जनै, कन्दनीका साथै टाउको बाँध्ने गर्दछन् ।
कुश कहिल्यै बासी हुँदैन, हरेक वर्ण, जाति र लिड्डका मानिसहरूले लगाउन हुन्छ । विनाकुशको धार्मिक अनुष्ठान्, जल स्पर्शविनाको दान, मालालाई प्रयोग नगरीकन गरिएको जप संख्या सबै निष्फल हुन्छन् । कुशपानीले छर्किएको यज्ञस्थल शुद्ध, आयोजक र उपस्थित महानुभाव शारीरिक र मानसिकरूपले ऊर्जाशील हुन्छन् ।
त्यसैले नुहाउँदा, होम, जप, दान, स्वाध्याय, पितृकार्य, सन्ध्या, अभिवादनलगायतका कार्य गर्दा दुबै हातमा कुशको पवित्र (औँठी) धारण गर्नुपर्छ । कुशलाई बाह्र घण्टा पानीमा भिजाएर पिउँदा पिसाब सम्बन्धी समस्या आउँदैन । कुशको पर्दा लगाउँदा हानिकारक किटाणु पस्न सक्दैन । यसैले प्राचीन कालदेखि घरनजिकै कुश रोपिन्थ्यो ।
कुशको पवित्र धारण गर्ने परम्पराकै नक्कल गर्दै अहिले अनेक धातुका औँठी, सिक्री लगाउने चलन बढ्दै गएको छ । कुशको औँठी साहिलीऔँला (अनामिका)मा लगाइन्छ । साहिलीऔँलाको फेदलाई सूर्य क्षेत्र भनिन्छ । हस्तरेखाविद्हरूले यस क्षेत्रमा शारीरिक र मानसिक शक्ति, जागिर एवं रोजगारको अवस्था, साहस र धैर्यलगायतका पक्ष हेर्दछन् ।
कुशाग्रैस्तर्पयेद्देवान् मनुष्यान् कुशमध्यत:
द्विगुणीकृत्य मूलाग्रै: पितृन् संतर्पयेद्द्विज: ।।
अर्थात्, “देवतालाई कुशको अग्रभाग (अगाडि)बाट, बीचको भागबाट ऋषिगणलाई र जराबाट पितृहरूलाई तर्पण दिनुपर्छ ।” एकाक्षरीकोशअनुसार ‘‘क’को अर्थ पृथ्वी, ‘श’ को अर्थ सुत्नुहुन्छ । जसमा पृथ्वी सुत्छ वा अटाउँछ त्यसलाई कुश भनिन्छ । पृथ्वीलाई सत्यले थामेको छ । कुशमा सत्यताको तागत, चेतना जगाउने शक्ति, पवित्र बनाउने ऊर्जा छ । कुशलाई आध्यात्मिक, व्यावहारिक, बौद्धिक, शारीरिक लाभका लागि अत्यन्त उपयोगी र पवित्रतम मानिएको हुनाले लगाउन र घरमा राख्न आवश्यक छ ।
युवापुस्तालाई प्रयोगात्मक तथ्यले मात्र आकर्षण गर्दछ । पितापुर्खाले लगाएका थिए तिमी पनि लगाउन भनेर अब पत्याइदिनेको संख्या न्यूनतम हुँदै गएको छ । कुशको औँठी लगाएर पढ्ने, दैनिक कार्य गर्ने, अफिस जाने क्रमलाई बढाएर केही समय हेरौँ त्यहीँबाट कुशको रहस्य थाहा हुनेछ । कुश लगाउँदासम्म परिवारमा झगडा, स्वास्थ्यमा समस्या, समाजमा विभाजन, आफन्तमा तिक्तता थिएन । कुशले शारीरिक र मानसिक रुपमा समक्षम बनाउने हुँदा नियमित लगाऊँ ।
आर्यावर्तमा मात्र कुश उम्रने भएकाले हामीले यसलाई सदुपयोग गर्नुपर्छ । कुशले बुबाको जस्तै गरी अप्रत्यक्ष रुपमा संरक्षण गर्ने भएकाले हरेकले घरमा भित्र्याएर लगाउनुपर्छ । आजको कुशेऔँसीमा बुबालाई श्रद्धा गर्ने, खुवाउने वा दिवङ्गत भए श्राद्ध गर्ने महत्वपूर्ण दिन भएकाले नेपालीको पर्व हो, संस्कृतिको आधार हो भन्ने भुल्नुहुँदैन ।