१४ मंसिर २०८१, शुक्रबार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

न्यायाधीश बिनाको न्यायालय चलाउनुपर्ने अवस्थामा छौँ: प्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडाैं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरु न्यायाधीश बिनाको हुन पुग्ने अवस्था आएको बताउनुभएको छ ।

शुक्रवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरु रित्तिँदै गएको बताउनुभएको हो । जिम्मेवार निकायले समयमा नै निर्णय नगर्दा अदालतमा न्यायाधीशको कर्मीलै संकट व्यवस्थापन गरे जसरी न्यायालय चलाउनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी न्यायाधीश बिनाको अदालतबाट चलाउनुपर्ने हो की भन्ने अवस्थासम्म पुगिसकेका छौँ । कतिपय ठाउँमा हामी क्राइसिस म्यानेजमेण्टबाट चलाइरहेका छौँ । संकट व्यवस्थापन गर्नेगरी । कुनै अदालतमा चार जना न्यायाधीश हुनुपर्ने ठाउँमा दुईजना मात्रै राखेर चलाउनु भनेको संकट व्यवस्थापन हो नि । १० जनाको ठाउँमा ५ जना मात्र राखेर काम गर्नु संकट व्यवस्थापन हो नि । अहिले हामी यो तहमा लाँदैछौँ । यसमा जिम्मेवार निकाय जिम्मेवार नभइदिँदाको परिणाम हो ।

त्यसैले सबै निकाय जिम्मेवार हुनुपर्छ । सबैले जवाफदेहीता लिनुपर्छ । आफ्ना काम समयमै सम्पन्न गर्नुपर्छ । बहानाबाजी गर्नु हुँदैन । न्यायालयमा जब मुद्दाअनुसार कर्मचारी र न्यायाधीश हुन सक्दैन, वास्तवमा त्यसको लागि आवश्यक पर्ने श्रोत र साधनको व्यवस्थापन गर्न सक्दैनौँ । एउटा तामेलदारलाई तामेल गर्न कति वटा ठाउँको जिम्मा लिएको हुनुपर्छ, उुलाई कुनै सवारी साधन पनि दिएको छैन, केही पनि दिएको छैन । अनि एकदमै न्युनतम जुन वास्तवमा उसलाई त्यहाँ गएर दुई तीन वटा काम भन्दा सम्पन्न हुन नसक्ने खालको भत्ता दिएको छ । त्यसले उसले महिनाभर पुर्‍याउनुपर्ने हुन्छ । यस्तो खालको अवस्थामा हामी गुज्रिरहेका छाैँ। यी चिजहरु अहिले हामी यहाँ आएर अनुभव गर्दैछौँ । यहाँका कठिनाइहरु सम्बोधन गर्न सकेनौँ भने बाहिरका गुनासाहरु सम्बोधन गर्न सक्दैनौँ । त्यो ढंगले हामी लैजान सक्दैनौँ ।

हामीलाई फाइनान्सियल अटोनोमिको जरुरी छ । स्वतन्त्रताको जरुरी छ । फाइनान्सियल अटोनोमि नभए न्यायपालिकाको स्वतन्त्रतामा पनि असर पुग्नसक्छ । वित्तीय स्वतन्त्रता पनि ठूलो कुरा हो । स्वायत्तता पनि ठूलो कुरा हो । यसमा हामीले सामान्य कुरा पनि गराउन सकेका छैनौँ । न्यायाधीशलाई अतिरिक्त काम गरेको पारीश्रमीक चाहिएन तर कर्मचारीलाई त दिऔँ । किन नदिने ? दिनुपर्छ । भन्दा त्यो पारिश्रमीक लिन पनि हामीलाई पहाड फुटाउनु भन्दा गाह्रो भइसक्यो । अहिलेसम्म प्राप्त गराउन सकेनौँ । यसले गर्दा हामी बाध्य बनाएर तपाईहरु तीनदेखि ५ बजेसम्म बसेर काम गर्नुहोस् भन्न नसक्ने अवस्थामा पुग्यौँ । गर्न सकेनौँ । हाम्रो कामको प्रकृति नै यस्तो छ न त कर्मचारी न त न्यायाधीशहरुले यदी अफिस टाइममा मात्रै काम गर्ने हो भने अहिले जति काम गरेका छाैँ, त्यो कामको ५० प्रतिशत काम पनि हुँदैन ।’

उहाँले सर्वोच्च अदालतमा विचौलिया हटेको दाबी गर्नुभयो । सर्वोच्च अदालतले मुद्दाको सुनुवाई गर्न गोलाप्रथाको चलन ल्याएपछि न्यायालय भित्रको विचौलियाको भागाभाग जस्तै भएको टिप्पणी गर्नुभयो । वर्षौंदेखि जरा गाडेर बसेको सेटिङ समेत गोलाप्रथा लागू भएपछि हटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले न्यायाधीशको नियुक्तिमा कर्मचारीहरुको बढुवामा हामी पारदर्शिता हुन सकेनौँ । हामीले वस्तुनिष्ठता अपनाउन सकेनौँ भन्ने आएको छ । त्यहाँ नातावाद, कृपावाद, संरक्षण, राजनीति हाबी भयो भन्ने कसैको कृपाबाट भयो, कसैको कार्यकर्ता भर्ती गर्ने ठाउँ भयो भन्ने लगायतका यी विभिन्न आरोपहरु सुनिने गर्दथे । यसलाई हामीले कसरी हेर्ने ? हुन त सक्छ, कुनै राजनीतिक दलप्रति पनि आस्था राख्नसक्ने मान्छे होला । त्यो नै उसको अयोग्यता हो र ? त्यो उसको अयोग्यता होइन । त्यसरी अयोग्यता बनाउने हो भने यो देशमा को मानिसलाई ल्याएर काम गराउने ? सबै मानिस एउटा न एउटा आस्थामा आधारित छन् ।

दलीय राजनीतिक व्यवस्थामा त्यो कुरा हुनुलाई अस्वभाविक मान्नु हुँदैन। हामीले कर्मचारीलाई त त्यो छुट दिएका छौँ । त्यसमा अब मेरिटलाई आधार बनाउनसके यो खालको अवस्था हुँदैन । हामीले शुरुवात गरिसकेका छौँ । एउटा न्यायपरिषद्बाट निर्देशिका जारी गरिसकेका छौँ न्यायाधीश नियुक्तिको सवालमा । हिजो गम्भीर यिनै आरोपहरु लाग्ने गरेको थियो । हामी हेरौँ न त । सरकारलाई ट्याक्स तिरेको लगायतका केही क्षेत्राधिकार राखेका छाँै । यो क्राइट एरिया राखेर नियुक्तिका लागि निवदेन माग्दा पनि पर्याप्त निवेदन परे । ति निवेदन २० वर्ष कटेका कानून व्यवसायीहरुको परेको छ । समावेशितालाई सम्बोधन गर्नसकिने गरी परे । मान्छेको खाँचो त रहेन छ नि । मैले जो नजिकका छन्, जसलाई चिनेको छ, त्यो न्यायाधीश नियुक्ति गर्ने गरिन्थ्यो पहिला अहिले त्यसैले समस्या आएका हुन् । तर हामीले अहिले निर्देशिका बनाएर एप्लीकेशन माग्दा पर्याप्त परे । २० वर्ष काम गरिसकेकाको परेको छ । उनीहरु सरहका मानिसहरु जिल्ला न्यायाधीश भइसकेका छन् । तर हामीले त्यो हिजो गरेनौँ । १० वर्ष पुग्न केही समय बाँकी रहेका मानिसलाई समेत कुरेर समेत लगियो भन्ने चर्चा चल्यो, त्यसैले त यो विवाद भयो, त्यसका अन्त्यका लागि हामीले यो गरेका छौँ । यस निर्देशिकालाई पूर्ण कार्यान्वयन गरेर जाने हो भने न्यायाधीश नियुक्तिमा आएका गुनासा समाधान गर्नसक्छौँ । त्यसो गर्दा न्यायाधीशहरुमा पनि योग्य, इमान्दार, सक्षम, आचारणमा बसेको न्यायाधीश ल्याउन मद्दत गर्छ । हामीले १५ दिनको नोटिस दिएर सार्वजनिक सुनुवाई गरेर बल्ल न्यायाधीशको नियुक्ति गर्ने प्रणाली निर्देशिकाले गरेको छ ।’

प्रधानन्यायाधीश कार्कीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा आफ्नो कार्यकालमा राजनैतिक दबाब खेप्नु नपरेको बताउनु भयो । उहाँले आफू भन्दा अगाडिको नेतृत्वले नै राजनैतिक दबाब र हस्तक्षेपलाई निमन्त्रणा दिने काम गेरको हुनसक्ने बताउनु भयो । आफूले राजनैतिक आग्रहलाई कुनैपनि समय स्थान नदिएको बताउनु भयो । स्वतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर व्यवहार गर्नसके हस्तक्षेप नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सायद यो मैले त पहिला पनि भन्ने गरेको थिएँ । कतै न्यायपालिकाको नेतृत्वले नै हस्तक्षेपलाई निमन्त्रणा दिएको पो हो की ? भन्ने गरेको थिएँ । त्यो अवसर मैले दिइनँ । त्यो नदिएको कारणले गर्दा मलाई कसैले पनि कुनै मुद्दामा यसो गर्नुपर्‍यो, वा यस्तो मान्छेलाई नियुक्ति, सरुवा गर्नुपर्‍यो भन्नेकुरा सुन्नु परेन । आफूले न्यायपालिकाको सवतन्त्रतालाई अन्तस्करणबाट ग्रहण गरेर यदी व्यवहार गर्नसके अरुले आँट गर्दैनन् ।’

प्रधानन्यायाधीश कार्कीले अदालतको फैसलाबिरुछ सडकबाट समाधान खोज्न राम्रो नभएको बताउनु भयो । उहाँले न्यायालयको प्रक्रियाबाट हुने फैसलालाई सम्मान गर्नुपर्ने बताउनु भयो । नागरिकको मौीलक हक अधिकार र संविधानको रक्षा प्रक्रियामा सबैले विश्वास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो रुल होइन, यस्ता कुरा अपवादमा आएका छन् । तर अपवादमा पनि यस्ता कुराहरु आउनु हुँदैन । कसैले पनि अदालतको फैसलाको समाधान सडकबाट खोज्नु हुँदैन । यसका आफ्ना प्रक्रिया छन् । त्यो प्रक्रियाबाट नै खोज्नुपर्छ । जिल्ला अदालतको फैसला उच्चमा जानुपर्छ । त्यहाँबाट पनि चित्त बुझेन भने सर्वोच्च अदालतमा आउनुपर्छ । यहाँ पनि दुई जनाले गरेको चित्त बुझेन भने खास अवस्थामा बाहेक पुनरावलोकनमा ३ जना न्यायाधीश कहाँ जान सकिन्छ । यसका धेरै बाटाहरु छन् । ती बाटा प्रयोग गर्ने हो । त्यो संविधानअनुसार, कानूनअनुसार हुन्छ । लोकतान्त्रिक शासन व्यवस्थामा नागरिक अधिकारको संरक्षण गर्ने कुरामा अदालतको काम हुन्छ । अदालत नै प्रमुख संस्था हो जसले संविधान र नागरिक अधिकारको संरक्षण गर्छ । त्यो संस्थाले गरेको चिजलाई नै हामीले विवादास्पद बनाइदियौँ, सडकमा लग्यौँ भनेदेखि काम गर्न कठिनाइ हुन्छ । आफ्नो भुमिका निर्वाह गर्नसक्दैन । दबाबमा पर्नुपर्ने अवस्था आउनसक्छन् । चर्चामा रहेका मुद्दा फैसला गर्न डराउनुपर्ने अवस्था आउनसक्छ । त्यसले अन्तत: सेवाग्राहीलाई असर पर्छ । न्यायका आकंक्षीहरुलाई असर पर्छ । स्वतन्त्रतापूर्वक न्याय सम्पादन गर्न दिनुपर्छ । त्यसको लागि सबैको भुमिका अहं रहन्छ र त्यो भुमिका सबैले आफ्नो तर्फबाट निभाउनु पर्छ ।’

प्रधानन्यायाधीश कार्कीले छोटो सयम प्रधानन्यायाधीश भएर काम गर्दा केही कठिनाइ भएपनि कामु भइसकेकाले कठिन भने नभएको बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा न्यायपालिकाको सुधारका लागि लागेको र केही पहल भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘छोटो समयमा काम गर्नुपरेको कारणले सोचेजस्तो काम गर्न कठिनाइ उत्पन्न हुन स्वभाविक हो । त्यो कठिनाइ मलाई पनि भयो । तर म कायममुकायमको हैसियतले काम गर्न पाएको हुनाले त्यो कामुको हैसियतले काम गर्दा पनि प्रधानन्यायाधीशकै हैसियतले काम गर्नसक्ने र सम्पूर्ण अधिकार त्यही रुपमा पाउनसक्ने भएकाले त्यही पिरियडमा न्यायपालिकाको सुधार अभियानलाई सञ्चालन गर्नेकुरामा भुमिका निर्वाह गर्न पाएँ । त्यसमा सबै श्रीमानहरुको, यहाँको प्रशासनको सहयोग पाएँ । त्यसबाट न्यायपालिकाका सुधारका केही पाइला चाल्न सक्यौँ ।सुधार शुरु गरेका छौँ । धेरै कुरा गर्न बाँकी छन् ।’

प्रधानन्यायाधीश कार्कीले बारसँगको सहकार्य बिना न्यायालय सञ्चालन गर्न कठिन हुने बताउनु भयो । उहाँले न्यायालय चुस्त बनाउनका लागि बारसँग सहकार्य गरेर नै अघि बढ्दा उचित हुने बताउनु भयो । उहाँले आफ्नो कार्यकालमा समेत आफूले बारको सहकार्य र समन्वयमा नै काम गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मेरो हिजो बारमा बस्दा र आज न्यायपालिकाको नेतृत्व गर्दाको अवस्थामा एउटै मान्यता छ, न्यायपालिका र बार एशोसिएशन एकअर्काका परिपूरक हुन् । एक अर्काको सहयोगमा मात्रै न्यायपालिकाले आफ्ना सम्पूर्ण योजनाहरु सफलतापूर्वक सम्पन्न गर्नसक्छ । मैले हिजो पनि भनेको थिएँ र आज पनि यही भनिरहेको छु र भोलिको नेतृत्वलाई पनि यही भन्छु की बार एशोसिएशनको सुझाव लिएर अघि बढ्ने हो भने हामी हाम्रा योजना सफलतापूर्वक लागू गर्न सक्छौँ । अहिले हरेक समितिमा बार एशोसिएशनको प्रतिनिधित्व हुने गर्छ । त्यसले योजना निर्माणदेखि लिएर त्यसका कार्यान्वनयका चरणसम्म पुग्न सक्छौँ । अहिले मैले नेतृत्व गरिरहँदा हिजो मैले कामु हुँदा वा अहिले नेतृत्व लिइरहँदा बार एशोसिएशनको पूर्ण सहयोगबाट नै न्यायपालिकाका काम अघि बढेका छन्, यसले धेरै सहयोग पनि भएको छ । बार एशोसिएशनलाई समेत बोलाएर मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर पुराना मुद्दा व्यवस्थापन र मुद्दाको वक्यौतालाई न्युनिकरण गर्ने सवालमा बार एशोसिएशनले महत्वपूर्ण भुमिका निभाएको छ ।’

प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले न्याय परिषद्को संरचनाका कारण पनि न्याय सम्पादनमा कतिप स्थानमा समस्या आइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘न्याय परिषद्को संरचनामा पुनरावलोकन गर्नुपर्छ भन्नेकुरा त मैले मेरो नेतृत्वको प्रतिवेदनले पनि देखाएको छ । त्यसकारण न्याय परिषद्को संरचनाका कारण पनि वास्तवमा बैठक गर्नलाई कठिनाइ उत्पन्न भएको कुरा सत्य हो । त्यसको पुनरावलोकन हुन जरुरी छ । मैले वास्तवमा लोकतान्त्रिक संस्कार एउटा, संविधानले नै कोरेको गोरेटो हो । दोस्रो न्यायपरिषद्मा रहने व्यक्तिहरुको जुन पदीय हैसियतको हुनुहुन्छ, त्यसको मर्यादाको हिसावले, शिष्टताको हिसावले सबैको समयानुकुलनबाट बैठक गर्नुपर्छ भन्ने मान्यताका कारणले बैठक हुन कठिन भयो ।’

प्रधानन्यायाधीश कार्की साउन २० गते (भोलिबाट) उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

फाेटाे- रासस