९ मंसिर २०८१, आईतवार
,
Latest
जनसहभागिताबिनाका योजना सफल हुन सक्दैन: मुख्यमन्त्री पाण्डे तस्बिरमा हेर्नुस् रास्वपा केन्द्रीय परिषद्को राष्ट्रिय भेला समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ: प्रधानमन्त्री बाहिरको प्रहार जति पनि खेप्छु, खेप्छौं, भित्रबाट प्रहार नगर्नुस् – रवि लामिछाने विद्युतीय जोखिम कम गर्न श्रमदानद्वारा झाडी हटाइँदै संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छ: सभामुख घिमिरे (अन्तरवार्ता) मुस्ताङको पाक्लिङमा २० करोडको लागतमा गुम्बा निर्माण सुनको मूल्यमा सामान्य गिरावट गगनलाई रविको जवाफ: ‘प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ देशमा देखिएको समस्याहरुको मुल कारण नै संविधान होः अध्यक्ष लिङदेन

कामपाले छात्रवृत्तिका लागि परीक्षा केन्द्र तोक्यो, प्रवेशपत्र अनलाइनबाटै लिन सकिने



अ+ अ-

काठमाडौँ । कक्षा ११ को छात्रवृत्तिका १५ वटा परीक्षा केन्द्र तोकिएका छन् । भानु मा. वि. पानीपोखरी, विश्व निकेतन मा. वि. त्रिपुरेश्वर, ज्ञानोदय मा. वि. बाफल, जनप्रभात मा. वि., कालीमाटी, जनकल्याण मा. वि. बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मा. वि. कुलेश्वरमा केन्द्र तोकिएको छ ।

यस्तै पद्मकन्या विद्याश्रम मा. वि., डिल्लीबजार, पद्मोदय मा. वि. रामशाहपथ, पशुपति मित्र मा. वि. चावहिल, रत्नराज्य मा. वि. बानेश्वर, सहिद शुक्र मा. वि. बागबजार, संस्कृति मा. वि. रानीपोखरी, शान्ति शिक्षा मन्दिर मा. वि. ठँहिटी, सिद्धेश्वर मा. वि. शान्तिनगर हुन् ।

परीक्षा दिने विद्यार्थीको संख्या ६ हजार १७ जना छ । यसमध्ये सबैभन्दा धेरै विज्ञान विषयका लागि ४ हजार १५५ जना छन् । त्यसपछि व्यवस्थापनमा १ हजार ४८४ जना र प्राविधिक विषयका लागि २४५ जना छन् ।

सबैभन्दा थोरै मानविकी विषयका लागि १८ जना छन् । शिक्षा विषयका लागि २६ जना र कानुन विषयका लागि ८९ जना विद्यार्थी छन् । यी ३ वटै विषयका विद्यार्थीहरुको परीक्षा केन्द्र कुलेश्वर मा. वि., कुलेश्वरमा राखिएको छ ।

साउन २० गते शनिवार बिहान ११ बजेदेखि सञ्चालन हुने परीक्षाका लागि आजदेखि विद्यार्थीहरुले प्रवेश पत्र लिन सक्नेछन् ।

प्रवेश पत्र कसरी लिने ?

entrance.kathmandu.gov.np गएपछि Check Your Status लेखिएको ठाउँ भेटिन्छ । यसमा थिचेपछि केही विवरण भर्ने फारामको पेज आउँछ । यसमा आवेदन फाराम उपलब्ध छ । यसबाट साउन १२ गते राती ११ बजेर ५९ मिनेटसम्म आवेदन दिन सकिनेछ । फाराम भर्दा चाहिने कागजपत्र स्क्यान गरेर वा फोटो सम्लग्न गर्नुपर्छ । यसरी पेश गर्नु पर्ने कागजातमा एसईईको प्रवेश पत्र, मार्कसिट र चारित्रिक प्रमाण पत्र पेश गर्नुपर्छ । हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नागरिकता वा जन्म दर्ताको प्रमाण पत्रसँगै अनुसूचीमा राखिएका शिफारिस पेश गर्नुपर्छ ।

तोकिएको आरक्षित समूहमा फाराम भर्नेले आरक्षणको प्रमाण पत्र पेश गर्नुपर्छ । पेश भएका विवरणहरु झुठो ठहरिए त्यस्ता उम्मेदवारहरूको आवेदन फाराम रद्द हुनेछ । भर्ना भइसकेपछि जानकारी भए भर्ना रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्काशन गरिनेछ ।

अनलाइन फाराम भर्ने विधि

अनलाइन फाराम भर्दा एसईई प्रवेश पत्रको विवरण भरेपछि मात्र मुख्य फारम खुल्नेछ । विवरण गलत भए फारम खुल्दैन । मुख्य पेजमा आफूसँग सम्बन्धित विवरणहरू माग गरिएअनुसार भर्नु पर्नेछ । माग गरिएका सवै विवरणहरू भरे पश्चात स्वघोषणा स्वीकार (सेल्फ डिक्लियरेसन स्टेटमेन्ट एसेप्ट) गर्नु पर्छ । यसो नगर्दासम्म फाराम सुरक्षित (सेभ) हुँदैन ।

फाराम सुरक्षित (सेभ) गर्दा त्रुटी भएमा, विवरण भर्न छुटेमा वा मागअनुसारको विवरण नभएका ठाउँहरूमा रातो अक्षरले दर्शाएको हुन्छ । यी विवरणहरू सच्याएर फेरि माथिबाटै सबै विवरण रुजु गरेर फारम भर्नु पर्छ । एकपटक फारम भरेर सुरक्षित (सेभ) गरे पछि फारम पेश (समिट) नगर्दासम्म जति पटक पनि सच्याउन सकिन्छ ।

आफ्ना सबै विवरणहरू भरि सकेर सुरक्षित (सेभ) गरेपछि अर्को पेजमा आफूले भरेको एकमुष्ट विवरण देखिनेछ । यो पेजमा माथिबाट सबै विवरण पढेर सही भए नभएको जाँच गर्नुपर्छ । सही नभएमा पेजको माथि दिइएको संशोधन गर्ने बटन (इडिट बटन) मा क्लिक गरेर सच्याउन सकिन्छ । आफूले भरेको विवरण ठिक भएमा पेश गर्ने बटन (समिट बटन) मा क्लिक गर्नुपर्छ ।

यो बटनमा थिचेपछि सुनिश्चित गर्ने बक्स (कन्फरमेसन बक्स) आउँछ । आफूले भरेको विवरण सही भएमा ठिक बटन (ओके बटन) मा थिच्नुपर्छ । फारम अनलाइन पेस (फम समिट) भएपछि कुनै पनि विवरण सच्याउन सकिँदैन । आवेदन फारम अनलाइन पेस (फर्म समिट) भएपछि सुनिश्चित गर्ने (कम्फरमेसन) पृष्ठ देखिनेछ । यो पेजलाई प्रिन्ट गर्न र डाउनलोड गर्न सकिन्छ ।

आवेदन दिन योग्यता र छनोट प्रक्रिया

छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्नेछ । सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नु पर्छ । संस्थागत (निजी) विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन शिफारिस गर्नुपर्छ ।

छात्रवृत्ति वितरण गर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई ४०%, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई ५%, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि ९%, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि १ प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । बाँकी रहेको ४५ प्रतिशत सिटलाई शतप्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३%, आदिबासी र जनजातिलाई १५%, मधेसीलाई १२%, खसआर्यलाई १७% आरक्षण छात्रवृत्ति सिट उपलब्ध गराइने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार दलितलाई ९%, मुस्लिमलाई २%, थारुलाई ४%, अपाङ्गता भएको व्यक्तिलाई २%, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४%, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २% छात्रवृत्ति दिइनेछ । पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिनेछ ।
आरक्षण क्षेत्रमा तोकिएबमोजिमको संख्यामा विद्यार्थी उपलब्ध नभएमा काठमाडौँ महानगरवासीलाई प्राथमिकता दिइनेछ । बैकल्पिक तथा धार्मिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सामुदायिक विद्यालय सरह मानिनेछ ।

पेश गर्नुपर्ने सिफारिस

आरक्षित समूहमा उम्मेदवार हुन चाहने व्यक्तिले आफू सो समूहमा पर्ने व्यहोरा प्रमाणित हुने कागज पेश गर्नु पर्नेछ । सहिदका परिवार, बेपत्ता पारिएका व्यक्तिका परिवार, घाइते योद्धाको परिवार र द्वन्द्व पीडित समूहका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट शिफारिस प्राप्त गर्नुपर्छ । अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रका व्यक्तिले बसोबास भएको स्थानीय तहको वडा कार्यालयबाट शिफारिस लिनुपर्छ ।

पिछडिएको क्षेत्रका व्यक्तिले सम्बन्धित स्थानीय तहको सिफारिस पेश गर्दा दरखास्त दिंदाका बखत निज सोही स्थानमा स्थायी बसोबास गरेको भनी प्रमाणित गरेको हुनु पर्नेछ । त्यस्तो व्यक्तिले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको नेपाली नागरिकता पेश गर्नुपर्छ । नागरिकता नभए जन्म दर्ताको प्रमाणपत्र पेश गर्नु पर्छ ।

घाइते वा अपाङ्गता भएका व्यक्तिले आवश्यक अन्य सिफारिसको अतिरिक्त दर्तावाल चिकित्सकबाट निज सो विषय अध्ययन गर्न सक्षम भएको व्यहोरा सहितको सिफारिस आवेदन साथ पेस गर्नु पर्छ ।

प्रवेश पत्र र परीक्षा

छात्रवृत्ति परीक्षा हुने मितिभन्दा २ दिन अघिदेखि प्रवेशपत्र प्रिन्ट गर्ने बटन (प्रिन्ट एडमिट कार्ड बटन) मा थिचेर त्यहाँ माग गरिएको विवरण भर्नुपर्छ । यसपछि विद्यार्थी आफैँले प्रवेश पत्र प्रिन्ट गर्न सक्नेछन् । परीक्षा केन्द्र सम्बन्धी व्यवस्था यसै कार्डमा उल्लेख हुनेछ ।
परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेश पत्र ल्याउनु पर्नेछ । प्रत्येक परीक्षार्थीको आवश्यक सुरक्षा जाँच गरिने हुँदा परीक्षा सुरु हुनुभन्दा कम्तीमा १ घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनु पर्नेछ । परीक्षार्थीले परीक्षा केन्द्रमा क्याल्कुलेटर, पेजर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट लगायत अन्य कुनै पनि विद्युतीय उपकरण तथा वालेट, पर्स तथा घडी लैजान पाउने छैनन् ।

परीक्षा सुरु भएको १५ मिनेट पछि आउने परीक्षार्थीलाई परीक्षा हलमा प्रवेश दिइने छैन । परीक्षाका लागि आवश्यक पर्ने कालो कलम (ब्लाक जेल पेन) विद्यार्थी आफैँले ल्याउनु पर्नेछ । आफूलाई सही लागेको उत्तर ओएमआर सिटभित्रको थोप्लो (बबल) मा पुरै पोत्नु पर्नेछ । लेखिसकेको उत्तर सच्याउन तथा टिपेक्स जस्ता करेक्टिङ मसीको प्रयोग गर्न पाइँदैन । सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएका उत्तरहरूको कुनै अङ्क प्राप्त हुने छैन ।

परीक्षार्थी निर्धारित समयको २ घण्टा सकिएपछि मात्र परीक्षा हलबाट बाहिर जान पाउनेछन । नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिएमा वा दिन प्रयास गरेमा त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी प्रचलित कानुनबमोजिम कारवाही गरिनेछ ।

नतिजा प्रकाशन

परीक्षाको नतिजा प्रकाशनसँगै अनलाइन म्याचिङ्को मिति निश्चित गरिनेछ । योग्यता क्रमअनुसार अनलाइन म्याचिङ्मार्फत परीक्षार्थी आफैँको रोजाइ र प्राथमिकताअनुसार उम्मेदवारको योग्यता क्रममा विद्यार्थी भर्ना नतिजा सूची प्रकाशन गरिनेछ ।

प्रवेश परीक्षाको पाठ्यक्रम र उत्तीर्णाङ्क

कक्षा १० को पाठ्यक्रममा आधारित अनिवार्य गणित, विज्ञान, अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० वटा प्रश्न सोधिनेछन् । उत्तीर्ण हुन न्युनतम ४० प्रतिशत अङ्क प्राप्त गर्नुपर्छ । गलत उत्तरका लागि नेगेटिभ मार्किङ (नेगेटिभ मार्किङ्) हुँदैन ।