काठमाडौँ । पछिल्लो समय विद्युतीय भुक्तानीको क्रम बढ्न थालेको छ । हातमा मोबाइल र इन्टरनेटको सहज पहुँचले गोजीमा नगद बोकिरहनु पर्ने अवस्था कम हुँदै जान थालेसँगै विभिन्न माध्यमबाट हुने विद्युतीय भुक्तानीको संख्या र रकम दुबै बढ्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत जेठ महिनाको विवरण अनुसार उक्त महिनामा मात्रै क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी विगतका महिनाको तुलनामा बढेको छ । जेठमा मात्रै ९५ लाख ९ हजार २४९ पटक कारोबार हुँदा रु २८ अर्ब ७ करोड ६० लाख क्यूआरकोडबाट भुक्तानी भएको छ । जुन यसअघिका कुनै पनि एक महिनाको तुलनामा बढी हो ।
यसअघि वैशाखमा रु २६ अर्ब ५ करोड १० लाख, चैतमा २२ अर्ब ८९ करोड २० लाख, फागुनमा रु २० अर्ब ७७ करोड ६० लाख, माघमा रु १७ अर्ब ७६ करोड ५० लाख, पुसमा रु १७ अर्ब ३ करोड २० लाख रकम भुक्तानी भएको थियो ।
इकमर्सको व्यापार पनि बढ्यो
राष्ट्र बैंकका अनुसार जेठमा इकमर्शमार्फत हुने कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । जेठमा रु ६० करोड ९० लाख बराबरको कारोबार भएको छ । यसअघि सबैभन्दा बढी गत कात्तिक महिनामा ६६ करोड ३० लाख बराबरको कारोबार भएको थियो । गत वैशाखमा रु ५२ करोड १० लाख, चैतमा रु ५० करोड २० लाख, फागुनमा रु ४७ करोड ४० लाख, माघमा रु ५१ करोड बराबरको कारोबार भएको थियो ।
वालेटबाट २० अर्बको कारोबार
जेठमा विभिन्न वालेटबाट रु २० अर्ब १४ करोड ६० लाख बराबरको कारोबार भएको छ । जबकी वैशाखमा रु १९ अर्ब २५ करोड ५० लाख, चैतमा रु १९ अर्ब ९२ करोड २० लाख, फागुनमा रु १८ अर्ब १५ करोड ५० लाख र माघमा रु १७ अर्ब ११ करोड ८० लाख रकम भुक्तानी भएको थियो ।
कनेक्ट आइपीएसबाट भने सो जेठमा हालसम्मकै सबैभन्दा बढी रु चार खर्ब १७ अर्ब २० करोड ६० लाख कारोबार भएको छ । कनेक्ट आइपीएसबाट गत वैशाखमा रु ३ खर्ब ५९ अर्ब ५२ करोड ८० लाखको कारोबार भएको थियो भने चैतमा रु ३ खर्ब ८० अर्ब ९३ करोड ६० लाखको भुक्तानी भएको थियो ।